२०७६ भदौ ६ गते

‘डिग्री किसान’ को पीएचडी गर्ने धोको

अन्तैबाट

 

झापा । भीम किसान आफ्नो समुदायका एक्ला ‘डिग्री होल्डर’ हुन् । यो समुदायमा शिक्षाको पहुँच ज्यादै कम छ । एसईई पास गर्ने पाउन मुस्किल छ । भीमले अभावै अभावबीच पनि उच्च शिक्षा हासिल गरे ।


तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयवबाट भाषा विज्ञानमा स्नातकोत्तर गरेका भीमको अब त्यही विषयमा विद्यावारिधि (पीएचडी) गर्ने ठूलो सपना छ । ‘पीएचडी गरेर जीवनभर समुदायको हितमा काम गर्ने इच्छा छ,’ उनले भने ।

यसका लागि उनको आर्थिक अवस्था पुग्दो छैन । पीएचडीका कम्तीमा २० लाख लाग्छ । लोपोन्मुख समुदायका लागि सरकारले शिक्षामा लगानी गरेको छ भन्ने कुरा यिनले सुनेका छन् । त्यहाँसम्म पुग्ने बाटो समात्नै सकेका छैनन् । ‘सरकारले छात्रवृत्ति दियो भने पीएचडी गर्ने थिएँ,’ भीमले भने ।

भूकम्पपछि काठमाडौं छाडेर गाउँतिरै बस्न थालेका भीम स्थानीय धुलबारी माविमा अंग्रेजी साहित्य पढाउँछन् । विद्यार्थी पढाएर आउने रकमले परिवार धानेका छन् ।
उनी यो समुदायमा एसएलसी पास गर्ने दोस्रो व्यक्ति हुन् । पहिलो छट्टु किसानको मृत्यु भइसक्यो । रेनुका किसान एसएसली पास गर्ने पहिलो महिला हुन् ।

रेनुकाले पनि आर्थिक अवस्थाका कारण बीएदेखि माथि पढ्न सकिनन् । भीमले भने धुलाबारी माविबाट २०५७ सालमा एसएलसी पास गरेका थिए । ११ र १२ धुलबारी क्याम्पसमा पढे । बीए पहिलो र दोस्रो वर्ष धुलाबारी नै धाए । तेस्रो वर्ष दमकको युनिक कलेजसम्म पुगेर पास भए ।

डिग्री पढ्न काठमाडौं हानिए । यिनको रुचि अंग्रेजी साहित्यमा थियो । तर, भाषा विज्ञान पढ्नुपर्ने बाध्यता बन्यो । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले छात्रवृत्ति बापत मासिक ३ हजार दिने तर, भाषा विज्ञान पढ्नेका लागि मात्रै । त्यसैले भीमले अंग्रेजी साहित्य छाडेर भाषा विज्ञान रोज्नु परेको उनले बताए ।

यिनले करिव आठ वर्ष काठमाडौंमा विताए । न आफन्त थिए, न त इष्टमित्र नै । कोठा भाडा तिर्न पनि हम्मे भयो । विश्वविद्यालय धाउने गाडी भाडा जुटाउन पनि गाह्रो । यही मेसोमा यिनले गोर्खापत्रको आदिवासी, जनजाति पृष्ठ संयोजनको जिम्मेवारी पाए । केही अनुसन्धानहरू पनि गरे । ‘यसैले आठ वर्ष पाल्यो’, भीमले भने, ‘केही काम नभएको भए न काठमाडौंमा बस्न सक्थें न त डिग्री नै गर्ने थिएँ ।’

किसान समुदायमा विगतमा भन्दा साक्षरता दर बढेको अनुमान भीमको छ । पहिलाजस्तो ल्याप्चे लगाउनेहरूको संख्या निकै कम रहेको उनले बताए । सरकारले दिएको मासिक भत्ताले पनि यो समुदायको शैक्षिक र सामाजिक जीवनस्तर उकास्न मद्दत मिलेको छ । सरकारले मासिक २ हजार भत्ता दिँदै आएको छ ।

‘छोरा छोरी पढाउन भत्ता खर्च गर्नु त राम्रो हो तर दुरुपयोग पनि गरिएको छ’, भीम भन्छन्, ‘भत्ता मात्रै सदुपयोग गर्ने हो भने हाम्रो समुदायको कम्तीमा शैक्षिक स्तर माथि उकासिने थियो ।’ २०६८ सालको जनगणनाअनुसार किसान समुदायको कुल जनसंख्या १ हजार ७ सय ३९ हो । झापामा मात्रै १ हजार ३७ जना छन् । मोरङमा पनि किसानको बसोबास छ ।

कान्तिपुरमा खबर छ ।

Comments: