२०७६ मंसिर ४ गते

चिकित्सा शिक्षाको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन चर्किंदै

अन्तैबाट

काठमाडौँ ।  चिकित्सा शिक्षाको अतिरिक्त शुल्कविरुद्ध पोखराको गण्डकी मेडिकल कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन चितवन मेडिकल कलेज हुँदै वीरगन्जको नेसनल मेडिकल कलेजसम्म फैलिएको छ । १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुल्ने नेसनलमा बिहीबारदेखि विद्यार्थीले प्रदर्शन थालेका हुन् ।

त्रिवि र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले मनोमानी शुल्क उठाउन थालेपछि विद्यार्थीहरू राष्ट्रिय चिकित्सा शिक्षा संघर्ष समिति गठन गरेर देशभर आन्दोलन चर्काउने तयारीमा छन् । गत फागुनमा गण्डकीबाट अतिरिक्त शुल्क रकम फिर्ताको मागसहित आन्दोलन सुरु भएको थियो ।

गण्डकीले सहमतिअनुसार अतिरिक्त रकम फिर्ता नगर्दै भरतपुरस्थित चितवन मेडिकलमा विद्यार्थीले आन्दोलन थाले । चितवनले अवैध रूपमा उठाएको रकम कात्तिक १८ भित्र फिर्ता गरिसक्ने प्रतिबद्धता जनाएको छ । संघर्ष समितिको अगुवाइमा मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारी सञ्चालक रहेको नेसनलमा शुल्क फिर्ताको आन्दोलन सुरु भएको हो ।

कलेजले बिल नै छपाएर विभिन्न १३ शीर्षकमा मनपरी शुल्क लिँदै आएको विद्यार्थीको आरोप छ । कलेजले एमबीबीएस तहका विद्यार्थीबाट १२ लाखसम्म बढी रकम उठाएको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । अहिले पनि बढी शुल्क लिन नछाडेको विद्यार्थीको गुनासो छ ।

‘हामीसँग सरकारले तोकेभन्दा बढी रकम मागिन्छ,’ एक विद्यार्थीले भने, ‘कलेजको तोकेको समयमा शुल्क नबुझाए दिनदिनै ब्याज जोडिँदै जान्छ ।’ ब्याजसहितको रकम नतिरे परीक्षामा सहभागी हुन नदिने र पास भइसकेको भए शैक्षिक प्रमाणपत्र नदिने गरेको विद्यार्थीको भनाइ छ । कतिपय विद्यार्थीले ब्याज मात्रै एक लाख रुपैयाँसम्म बुझाएका छन् ।

शुल्क फिर्ता माग्दा कुटे : संघर्ष समिति
संघर्ष समितिका विद्यार्थी प्रतिनिधि बिहीबार नेसनलका विद्यार्थीसँग आन्दोलनका विषयमा छलफल गर्न वीरगन्ज पुगेका थिए । चर्को शुल्कविरुद्ध आफूहरूले शान्तिपूर्ण विरोध र्‍याली गर्न खोज्दा कलेज सञ्चालकले कुटपिट गरेको समितिकी सदस्य मान्यता थापाले बताइन् । थापा चितवन मेडिकल कलेजकी विद्यार्थी हुन् । शुल्क फिर्तालगायत मेडिकल शिक्षाका विकृति विसंगतिविरुद्ध जुट्न विद्यार्थीले केन्द्रीय संघर्ष समिति गठन गरेका छन् । समितिमा विभिन्न मेडिकल कलेजका विद्यार्थी प्रतिनिधि आबद्ध छन् ।

नेसनलका कलेजका प्रबन्ध निर्देशक अन्सारीको उपस्थितिमा विद्यार्थीमाथि दमन गरिएको थापाको गुनासो छ । ‘विद्यार्थीले कार्यक्रम गर्न तयारी गरेको माइक तोडफोड गरियो, ब्यानर पनि च्यातियो,’ संघर्ष समितिले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘वीरगन्जवासी पनि अन्सारीसँगत्रस्त रहेछन् ।’

कलेजका विद्यार्थीलाई समेत शुक्रबार राति अन्सारीले ‘गुन्डा’ लगाएर कुटपिट गरेको थापाको दाबी छ । ‘नेसनलका विद्यार्थीले बोलाएर हामी बढी शुल्क लिइएको विषयमा छलफल गर्न गएका थियौं,’ उनले भनिन्, ‘पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत मेडिकल सञ्चालकसँग मिलेर हामीलाई एस्कर्टिङ गरेर फर्काइयो ।’ सरकारको संरक्षणमा अन्सारीले विद्यार्थीमाथि ‘दादागिरी’ गरेर चर्को शुल्क असुल्दै आएको विद्यार्थीहरूको आरोप छ ।

अन्सारीको व्यवहारप्रति संघर्ष समितिका प्रवक्ता नरेश भट्टले खेद प्रकट गरे । समितिले मन्त्रिपरिषद्ले तोकेभन्दा बढी लिएको शुल्क मेडिकल कलेजहरूले फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ । ‘शुल्क फिर्ताको माग लिएर देशभरका मेडिकल कलेजमा आन्दोलन गर्छौं,’ समिति संयोजक प्रकाश चन्दले भने, ‘राज्यले तोकेभन्दा बढी शुल्क तिर्दैनौं ।’

अध्यक्ष अन्सारी भने मेडिकल कलेजहरूको ठगी प्रकरण मिलाउन उच्च राजनीतिक तह र प्रधानमन्त्रीसम्मको ‘लबिइङ’ मा लागिपरेको विद्यार्थीहरू बताउँछन् । प्रधानमन्त्रीलाई भेटेर उनले मेडिकल कलेजहरूले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै आएका छन् । उनले संसदीय समिति र सरकारका मन्त्रीहरूलाई कलेजहरू घाटामा रहेको ‘बिफ्रिङ’ गर्दै आएको विद्यार्थी बताउँछन् । ‘नेकपाका नेताहरूसँग उहाँ (अन्सारी) को राम्रो संगत छ,’ उक्त स्रोतले भन्यो, ‘नेकपामा उच्च तहका नेता, सेना र प्रहरीका उच्च तहका कर्मचारी वीरगन्ज आउँदा पनि मेडिकल कलेजकै गेस्टहाउसमा बस्दै आएका छन् ।

मेडिकल कलेजहरूको ठगी प्रकरण सार्वजनिक हुन थालेपछि सरकारनिकटका अन्सारीलाई गत फागुनमा एसोसिएसनको अध्यक्षको जिम्मेवारी दिइएको हो । यसअघि कांग्रेसनिकटका सुरेश कनौडिया अध्यक्ष थिए । एक विद्यार्थीबाट नेसनल मेडिकल कलेजले १५ लाख रुपैयाँसम्म बढी शुल्क उठाएको पाइएको छ । यसको बिल भर्पाई कान्तिपुरसँग सुरक्षित छ । ‘शुल्कका विषयमा बोले आक्रमण गर्ने धम्की दिइएको छ,’ उनले भनिन् । अन्सारीले भने अन्य कलेजका विद्यार्थी आएर आफ्नो कलेजका विद्यार्थीलाई उचाल्न लागेपछि आफूले मिलाएको प्रतिक्रिया दिएका छन् ।

मेडिकल कलेजहरूको आन्दोलनका कारण महिनौंसम्म विद्यार्थीको पठनपाठन प्रभावित छ । शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने समितिको अडान छ । बढी रकम फिर्ता नभए परीक्षासमेत बहिष्कार गर्ने संयोजक चन्दले चेतावनी दिए । ‘चिकित्सा शिक्षाका सबै विषयको पहिलो र दोस्रो वर्षको परीक्षा रोक्न डिन कार्यालयलाई अनुरोध गरेका छौं,’ उनले भने । आन्दोलनका कारण पढाइ प्रभावित भएकाले परीक्षासमेत पर सार्नुपर्ने विद्यार्थीहरूको माग छ ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: