२०७६ मंसिर ६ गते

शिक्षक महासंघले दिउँसै बत्ती बालेर सरकार खोज्यो

ईपाटी संवाददाता


काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुका मागका सन्दर्भमा सरकार हराएको भन्दै दिउँसै बत्ती बालेर सरकार खोजेको छ । शान्तिवाटिकामा उपस्थित भएका उपत्यकाका हजारौं शिक्षकहरुले दिउँसै लालटीन र मैनबत्ती बालेर सरकार खोजेका हुन् ।


शिक्षक महासंघको आयोजनामा बसन्तपुर दरवार क्षेत्र देखि नाराजुलुस गर्दै शान्ति वाटिकामा आएर कोणसभा गरेका शिक्षकहरुले सरकार कहाँ छ भनेर दिउँसै बत्ती बालेर खोजेका हुन् ।


पहिलो चरणको आन्दोलन अन्तर्गत उपत्यका तीन जिल्लाका शिक्षक महासंघले संयुक्तरुपमा आयोजना गरेको विरोध जुलुसलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष बाबुराम थापाले तत्काल अस्थायी, निजी, इसिडि, राहत शिक्षक एवं विद्यालय कर्मचारीको समस्या समाधान गर्न सरकारसँग माग गरे ।


शिक्षामा भएको निजीकरण र व्यापारीकरण तत्काल अन्त्य नगरे आफुहरुले दोस्रो चरणको असहयोगात्मक र अवरोधात्मक कडा आन्दोलन शुरु गर्ने भन्दै थापाले त्यो आन्दोलन पठनपाठन अवरुद्ध गर्ने सम्मको हुनसक्ने चेतावनी दिए ।


थापाले संविधानको धारा ३१ को व्यवस्था अनुसार तत्काल इसिडि देखि ८ सम्म अनिवार्य र निशुल्क तथा ९ देखि १२ कक्षासम्मको शिक्षाको व्यवस्था  निशुल्क गर्नसमेत माग गरे ।


शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारलाई शिक्षकसँग नजिस्कन चेतावनी दिए । शिक्षकलाई राम्रोसँग चिन्न आग्रह गर्दै सुवेदीले शिक्षकका मागहरु अनदेखा गर्ने भूल नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।


नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष रविन महर्जनले शिक्षकहरुको माग प्रति सरकार गम्भिर नभएको भन्दै अब सरकार गम्भिर हुनेगरी आन्दोलन गर्ने चेतावनी दिए । आन्दोलन बाहेकको आवाज सरकारले नसुन्ने भए आन्दोलनबाटै सरकारलाई आफ्नामागहरु समाधान गर्न बाध्य पार्ने उनको भनाइ थियो ।


एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंका अध्यक्ष  कमालदिन मिँयाले तत्कालीन उमावि शिक्षक, राहत, अस्थायी, इसिडि, निजी विदालयमा कार्यरत शिक्षक एवं विद्यालय कर्मचारीका मागहरु सम्बोधन नभएसम्म शिक्षक आन्दोलन जारी रहने उद्घोष गरे । संघीय शिक्षा ऐनको प्रस्तावित मस्यौदा सच्याउन माग गर्दै मिँयाले शिक्षकका मागलाई कम आँके सरकार पछुताउनुपर्ने चेतावनी दिए ।

 


नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष गंगाधर हाडाले सरकारले तत्काल शिक्षककर्मचारीका माग पुरा नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक संघका उपमहासचिव सुन्दर पन्त लगायतको सहभागिता रहेको थियो ।


शिक्षक महासंघ गएको चैत्र १६ गते सरकार समक्ष २६ सुत्रीय माग राखेर आन्दोलनरत थियो । यो विरोध सँगै पहिलो चरणको आन्दोलन सकिएको र छिट्टै दोस्रो चरणको निर्णायक आन्दोलन घोषणा गरिने महासंघले जनाएको छ ।

Comments: