२०७६ माघ १२ गते

ढल्यो तेस्रो आयामको खम्बा

काँकडभिट्टा । मूर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलबार अपराह्न दार्जिलिङस्थित निवासमा निधन भएको छ । तेस्रो आयाम र लीला लेखनजस्ता साहित्यिक अभियानका अगुवा राई दुई वर्षदेखि थलिएका थिए । कथा, निबन्ध, उपन्यास, नाटक र समालोचनालगायत विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए ।

गत २७ अगस्टमा श्रीमती मायादेवीको निधनपछि उनी बढी खस्किँदै गएका थिए । ‘पत्नीको निधनअघिसम्म फाट्टफुट्ट लेखपढ पनि गर्नुहुन्थ्यो,’ सिलिगुडीकाकवि राजा पुनियानीले भने, ‘तर जीवनसंगिनी गुमाएपछि हारेका सिपाहीजस्तै हुनुभएको थियो ।’

१९८४ साल माघ १७ गतेदार्जिलिङमा जन्मिएका राईको पहिलो कृति सन् १९६१ मा ‘विपना कतिपय’ प्रकाशित भएको थियो । सन् १९५८ मै लेखिएको उपन्यास ‘आज रमिता छ’ १९६४ मा प्रकाशित भएको थियो । यो उपन्यास हालै अंग्रेजीमा पनि अनुवाद भएको छ । ‘कथास्था’, ‘कठपुतलीको मन’ लगायतका कथासंग्रह र त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा पढाइने समालोचनाका कृतिसमेत प्रकाशित छन् । ‘सम्पूरक’ उनको पछिल्लो कृति हो ।

राई खासमा हिउँदे चिसो छल्नबर्सेनी श्रीमतीसहित सिलिगुडीनजिकको सुकुना झर्थे । तर, श्रीमतीको निधनपछि उनी सिलिगुडी झर्न सकेनन् । ‘चिसोभरि सिलिगुडी बसेर गर्मी चढ्न थालेपछि दार्जिलिङ उक्लनुहुन्थ्यो,’ सिलिगुडीका लेखक ज्ञानेन्द्र खतिवडाले भने, ‘तर अब कहिल्यै मधेस–पहाड आउजाउ नगर्ने हुनुभयो ।’

राईले बैरागी काइँला र ईश्वरबल्लभसँग मिलेर थालेको तेस्रो आयामले विक्रम संवत् २०२० को दशकमा नेपाली साहित्यमा ठूलो आन्दोलनको रूप लिएको थियो । तेस्रो आयामको उद्देश्य लेखाइमा लम्बाइ, चौडाइ, मोटाइ र गहनता हुनुपर्छ भन्ने थियो । ‘तेस्रो आयाम’ पत्रिकासमेत प्रकाशन भएको थियो ।

तेस्रो आयाम चर्चामा छँदै काइँला र बल्लभ काठमाडौं आएपछि राई पनि लीला लेखनतर्फ लागे । लीला लेखनलाई कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराललगायतले अघि बढाइरहेका छन् ।

अंग्रेजी साहित्यमा स्नातकोत्तरगरेपछि प्राध्यापनमा लागेका राईलेसन् १९७५ मा ‘नेपाली उपन्यासका आधारहरू’ कृतिका लागि भारतको साहित्य एकाडेमी पुरस्कार पाएका थिए । दुई वर्षअघि उनलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।
सन् ८० को दशकमा दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनका एक अभियन्तासमेत रहेका राईका एक दर्जनभन्दा बढी कृति प्रकाशितछन् । नेपालबाट उनी जगदम्बा पुरस्कारबाट सम्मानित छन् । ‘उहाँ नेपाली जातिका निम्ति सधैं चिन्तित हुनुहुन्थ्यो,’ कवि मनप्रसाद सुब्बाले भने, ‘नेपाली भाषीहरूको अलग राज्य गोर्खाल्यान्ड बनेको हेर्ने ठूलो धोको थियो तर पूरा भएन ।’

राईको जातीय संस्कारअनुसारबिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनायो ।

पर्वत पोर्तेलले कान्तिपुरमा लेखेका छन् ।

Comments: