२०७६ असोज २ गते

शिक्षा क्षेत्रमा धेरै भ्रष्टाचार

अन्तैबाट

काठमाडौं । नेपालमा सबैभन्दा धेरै शिक्षा क्षेत्र भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तयार पारेको २८ औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा सो क्षेत्रमा १८ दशमलब ३२ प्रतिशत उजुरी परको उल्लेख छ।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको उक्त प्रतिवेदनअनुसार भूमिमा ६ दशमलब ४८, वनमा ४ दशमलब ४८, स्वास्थ्यमा ४ दशमलब ३७, गृहमा ४ दशमलब १३, भौतिक पूर्वाधारमा दुई दशमलब ८२ र अर्थमा २ दशमलब ५९ प्रतिशत उजुरी परेको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो।

बढी उजुरी पर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेको छ। गत आवमा शिक्षामा ५ हजार ५०, संघीय मामिला तथा सामान्य प्रशासनमा ३ हजार ३ सय, भूमि सुधारमा १ हजार ७ सय १८, स्वास्थ्यमा १ हजार ६२ र गृहमा ९ सय ३२ उजुरी परेको छ।

गत आवमा आयोगमा १९ हजार ४ सय ८८ उजुरी प्राप्त भएको थियो। आयोगको २ सय ४७ पृष्ठ लामो प्रतिवेदनमा वर्ष दिनभित्र सम्पादन गरेका कामकारबाही समावेश गरिएको छ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७४ र ७५ मा आयोगमा कुल १९ हजार ४ सय ८८ वटा उजुरी परेको उल्लेख छ। प्रवक्ता दंगालले ती उजुरीमध्ये १२ हजार ४ सय उजुरी फस्र्यौट गरिएको जानकारी दिनुभयो।

६ हजार ४ सय ५८ उजुरी प्रारम्भिक छानविनपछि तामेलीमा राखिएको र २ सय ६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको अख्तियारले जनाएको छ। तीमध्ये ५ सय ४६ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ५ हजार १ सय ३४ वटा उजुरीउपर कारबाही गरिएको छ।

आयोगले गत आबमा १६ करोड १३ लाख रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। यस्तै भ्रष्टाचार मुद्दामार्फत तराईमा ४ सय १० बिघा १३ कठ्ठा र पहाडमा ५३ रोपनी ६ आना जग्गा सरकारको नाममा ल्याउन सफल भएको प्रतिवेदनमा उल्लेख छ।

मालपोत प्रमुखदेखि कार्यालय सहयोगीसमेत भ्रष्टाचारमा
मालपोत कार्यालय चाबहिलका प्रमुखसहित १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नक्कली जग्गाधनीको नामबाट जग्गा बिक्री गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बूढानीलकण्ठ नगरपालिकामा रहेको २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनीको नामबाट गैरकानुनी तरिकाले खरिद गर्ने प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १३ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

मुद्दा लगाइएका अन्यमा मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, टाइपिस्ट जमुनाकुमारी श्रेष्ठ रहेका छन्।


यसै गरी कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्थ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालसिंह तामाङ, धु्रवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतम रहेका छन्।

उनीहरूसहित अर्थ कवच बचत तथा ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल, प्रबन्धनिर्देशक सुरेशकुमार थापा र सानिमा विकास बैंक ललितपुर एकान्तकुना शाखाका ट्रेलर सनिश सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरी ६ करोड रुपियाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार उक्त मालपोतका कार्यालय सहयोगी चन्दनकृष्णले अन्य कर्मचारीलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई आफ्नो फोटो टाँसेर नक्कली प्रमाण पुर्जा, नागरिकताको प्रमाणपत्र खडा गरी नक्कली जग्गाधनीको नाममा जग्गा बिक्री र खरिद गरेको देखिएको छ।

नेपाल समाचारपत्रमा खबर छ ।

Comments: