२०७६ माघ ९ गते

विवाद बढेपछि दरबार हाइस्कुलको पुनर्निर्माणबाट हात झिक्दै चीन

काठमाडौं । भूकम्पले भत्काएको नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि)को पुनर्निर्माणमा चीनले हात झिक्ने परिस्थिति उत्पन्न भएको छ । पुरातत्व विभागले दरबार हाइस्कुल पुनर्निर्माणमा पुरानै सामग्री र पुरानै शैलीमा बनाउनुपर्ने पत्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएपछि अन्योल थपिएको हो ।

चीनका डिजाइनरहरूले विद्यालयमा रड र सिमेन्ट प्रयोग गरी चारतले भवन बनाउने गरी डिजाइन तयार पारेका थिए । पहिलेका छलफलमा पुरातत्व विभागका पदाधिकारीले १९९० यता बनेको र विद्यालयजस्तो संवेदनशील भवनमा रड र सिमेन्ट प्रयोग गरेर बलियो बनाउनुपर्नेमा सहमति जनाएका थिए । हालै पुरानै आकार, प्रकारमा गर्नुपर्ने पत्र पुगेपछि चीन पछि हट्ने अवस्था रहेको अधिकारीहरूको भनाइ छ ।

पुरानो भवनमा मास, चाकुलगायतका सामग्री प्रयोग गरेर बनाइएको र अहिले पनि त्यस्तै सामग्री प्रयोग गरेर त्यति ठूलो भवन बनाउन सम्भव नभएको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुख इमनारायण श्रेष्ठले बताए । उनका अनुसार औपचारिक रूपमा चीनले दरबार हाइस्कुल नबनाउने निर्णय गरिसकेको छैन, तर अर्को डिजाइन बनाएर मास र चाकु प्रयोग गरेर बनाउन नसक्ने अनौपचारिक रूपमा बताउँदै आएको छ ।

पुरातत्व विभागले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ‘दरबार हाइस्कुल (भानु मावि) पुनर्निर्माण कार्य सुरु गर्नुपूर्व त्यसको मौलिक स्वरूप (पुरानै शैली) आकार, प्रकार र उचाइमा फरक नपर्ने गरी ड्रइङ डिजाइन तयार गरी पुरातत्व विभागबाट चेकजाँच गराई प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न–गराउन सहमति प्रदान गर्न सकिने भनी विभागीय निर्णय भएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’

चीनले जिम्मेवारी लिएको सो विद्यालयको पुनर्निर्माणका लागि छिटो निर्णय गर्न दबाब दिए पनि नेपाली पक्षका कारण ढिलाइ हुँदै गएको हो । पुरातत्व विभागले एनआरएलाई पुरानै शैलीमा भवन बनाउन पत्र पठाए पनि एनआरएले चीनलाई सोबारे जानकारी गराएको छैन । शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख श्रेष्ठले काठमाडौं महानगरपालिकाले चीनले तयार पारेको डिजाइनमा भवन निर्माण गर्ने अनुमति दिएमा अझै पनि बन्न सक्ने सम्भावना रहेको बताए ।

यस्तो छ प्रस्तावित डिजाइन

केन्द्रीय आयोजनाले अहिले रहेको रानीपोखरीछेउको भवन भत्काएर सोही ठाउँमै चारतले भवन बनाउने प्रस्ताव गरेको थियो । बाहिरबाट हेर्दा पुरानै शैली देखिने, तर भित्र बलियोका लागि सिमेन्ट र छडसमेत प्रयोग गर्ने प्रस्ताव छ । दिनभर विद्यार्थी बसेर पढ्ने भवनमा पुरानै शैलीका नाममा कमजोर भवन बनाउन नहुने भन्दै रड र सिमेन्ट प्रयोग गर्ने प्रस्ताव गरेको थियो । सो विद्यालय भवन १९९० सालको भूकम्पले समेत भत्काएको थियो । अहिले भत्किएको भवनमा प्रयोग भएका इँटामा १९९३ लेखिएको छ ।

एउटा विद्यालय बनाउन ७० करोडभन्दा बढी

दरबार हाइस्कुल पुनर्निर्माणमा ७० करोडभन्दा बढीको लगानी लाग्ने अनुमान छ । चीनले अनुदानमा १८ वटा विद्यालय बनाउने सम्झौता गरेको छ । सम्झौताअनुसार विद्यालय निर्माणको काम सुरु गरेको छ । सिन्धुपाल्चोक र लमजुङका एक/एक विद्यालयमा निर्माणको काम सुरु भइसकेको चिनियाँ पक्षले जनाएको छ । आफूले बनाउने सम्झौता गरेका धेरै विद्यालयको सम्भाव्यता अध्ययन गरिसकेको चीनले जनाएको छ ।

किन भयो विवाद ?

चीनका डिजाइनरले डिजाइन गरेको नक्सा काठमाडौं महानगरपालिकामा पेस भएको थियो । महानगरपालिकाले भत्केको दरबार हाइस्कुलको बाँकी भाग भत्काउन पुनर्निर्माण प्राधिकरणसँग सहमति मागेको थियो । प्राधिकरणले ऐतिहासिक सम्पदा भएका कारण पुनः पुरातत्व विभागसँग सहमति माग गर्‍यो ।

तर, पुरातत्व विभागको पुरानै आकार, प्रकार, शैलीमा बनाउनुपर्ने पत्रले भवन बन्नेमा अन्योल थपिएको हो । विद्यालय कस्तो बनाउने भन्ने विवाद भइरहँदा विद्यार्थीहरू भने कष्टकर रूपमा टहरोमा बसेर पढ्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले विद्यार्थीले कठिन अवस्थामा अध्ययन गरिरहेको बताए । अहिलेको विवादले अन्योल थपिएको उनको भनाइ छ ।


नयाँपत्रिकामा भवानीश्वर गौतमले खबर लेखेका छन् ।

Comments: