२०७६ कार्त्तिक २९ गते

दैलेख साक्षर जिल्ला घोषणा

दैलेख । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनता लेखपढ गर्न जान्ने भएको भन्दै दैलेख जिल्लालाई  साक्षर जिल्ला घोषणा गरिएको छ । दैलेख २४औं साक्षर जिल्लाका रूपमा घोषणा भएको छ । जिल्लालाई साक्षर तथा आधारभूत शिक्षा प्रदायक जिल्ला विद्यालय शान्ति क्षेत्र प्रतिबद्धता कार्यान्वयनको घोषणा गरिएको छ ।

जिल्लाको शैक्षिक गुणस्तर खस्किएको जनगुनासो बढ्दै गएका बेला  जिल्ला भने साक्षर घोषणा भएको छ । प्रवेशिकालगायत परीक्षा मर्यादित नहुँदा र विद्यालयमा शैक्षिक वातावरण कायम हुन नसक्दा शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको नागरिक समाजका अगुवाले बताएका छन् ।

गत तीन वर्षदेखि जिल्लाभरका १५–६० वर्ष उमेरका निरक्षरलाई साक्षर गर्ने अभियान चलाएको थियो । अभियानअन्तर्गत महिला ९७ दशमलव ३ प्रतिशत र पुरुष ९७ दशमलव ६६ प्रतिशत साक्षर भएको दैलेखका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले  बताए ।

राष्ट्र भाषा र मातृ भाषामा पढ्नलेख्न सक्ने, मोबाइल र क्यालकुलेटरका अंक तथा अक्षर चिन्न सक्ने, घडी हेरी समय बताउन सक्ने, भित्तेपात्रो हेरी तिथिमिति जनाउन सक्ने, अधिकारबारे जानकारी लिनेलगायत मापदण्ड पूरा गरे साक्षर भएको मानिने भएकाले दैलेखलाई साक्षर जिल्ला घोषणा गरिएको अधिकारीले बताए । प्रत्येक साक्षर व्यक्तिले एक निरक्षरलाई साक्षर बनाउने विधिको माध्यमबाट साक्षर जिल्ला घोषणा गर्न सक्षम भएको जिल्ला शिक्षा कार्यालय दैलेखका विद्यालय निरीक्षक धीरेन्द्रप्रसाद शर्माले बताए । राजधानी दैनिकमा खबर छ ।

Comments: