• छात्रा सिकाउँछन् महिनावारी सरसफाइ
    (अन्तैबाट)

  • बझाङ । ‘छाउ (महिनावारी) हुनुभन्दा ४/५ दिन अगाडिदेखि नै चिन्ता सुरु हुन्थ्यो । ४ दिनसम्म रगत बगेको बग्यै भएर अरूका अगाडि जान पनि लाज लाग्थ्यो,’ बझाङ मष्टा गाउँपालिका २, तुतिकी ४२ वर्षीया अग्गु आग्री वर्ष दिनअघिसम्म हरेक महिना यही समस्याका कारण पीडित हुन्थिन् ।

    यही झन्झटका कारण उनले छाउसुकाउन (महिनावारी रोक्न) वैद्यको जडीबुटी पनि खाइन् । तर महिनावारी रोकिएन । न त रगत बग्ने समस्या नै बन्द भयो ।

    एक वर्षपहिले छोरीले दिएको सानो सल्लाहका कारण उनले जीवनभर भोगको उक्त समस्याबाट मुक्ति पाइन् । स्थानीय मष्टा आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने छोरी रेखाले उनलाई महिनावारीका बेला सानो कट्टुसँगै प्याड लगाउन सल्लाह मात्रै दिइनन् । आफैं प्याडसमेत बनाएर दिइन् ।

    अग्गुलाई सुरुमा छोरीले सिकाएको उपाय अपनाउन असजिलो लागे पनि अहिले भने आफैं अरूलाई यो तरिका सिकाउन थालेकी छिन् । ‘सुरुमा लगाउन मान्नुभएन,’ रेखाले भनिन्, ‘मैले नै जिद्दी गरेर लगाउन भनें, अचेल त गाउँका अरूलाई पनि सिकाउँदै हिंड्नुहुन्छ । प्याड पनि आफैं बनाउनुहुन्छ ।’ उनले आफूले प्याड बनाउन र महिनावारी भएका बेलागर्ने सरसफाइबारे विद्यालयमासिकेको बताइन् ।

    अग्गुलाई आफूले महिनावारीका बेला हुने समस्याबाट मुक्ति पाएकामा जति खुसी छ । त्यति नै स्कुल पढ्न नपाएकोमा आत्मग्लानि पनि छ । ‘यति सानो कुरा पनि थाहा नपाएर यत्रो वर्ष दुख पाएँ । पढ्नु र नपढ्नुमा यही फरक हुँदो रहेछ,’ उनले भनिन् । अग्गुमात्र होइन । मष्टा गाउँपालिकाका महिनावारी हुने उमेरका धेरै महिला अहिले सुरक्षित व्यवहार र सरसफाइबारे जान्ने भएका छन् ।

    उनीहरू सबैलाई स्कुले छात्राहरूले सरसफाइका तरिका सिकाएका हुन् । ‘हामीलाई त केही थाहा थिएन । छोरीहरूका कारण मेरो टोलका सबै महिलाले घरमै प्याड बनाउन सिकेका छन्,’ मष्टा गाउँपालिका १, रनाडाकी जमुना थापाले भनिन्, ‘पहिला उनीहरूले स्कुलमा सिके, अनि घरमा आएर हामीलाई सिकाए ।’

    महिनावारी सरसफाइको तरिका सिकेपछि ग्रामीण महिलाहरूको छाउपडीप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुन थालेको छ । कक्षा ७ मा अध्ययनरत उनकी छोरी ललिताले भनिन्, ‘फोहोर हुने भएका कारण उहिलेका मान्छेले घरभित्र बस्न नदिने चलन चलाएका हुन् । सरसरफाइ गर्‍यो भने जहाँ बस्दा पनि हुन्छ भनेर सम्झाइरहेका छौं । धेरै जसोले पहिला जस्तो भेदभाव पनि गर्न छाडेका छन् ।’

    विद्यालयका छात्राहरूमार्फत समुदायमा चलाइएको यो अभियान प्रभावकारी हुँदै गएको यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरूको अनुभव छ । ‘हामीहरूले समुदायमा गएर सम्झाउँदा खासै चासो नदिने अभिभावकहरूले पनि स्कुले छोराछोरीको सल्लाह पालना गर्ने गरेको पाइयो,’ विद्यालयस्तरमा महिनावारी सरसफाइ सिकाउँदैआएको एकीकृत विकास समाजका संयोजक रमानन्द जोशीले भने, ‘विद्यार्थीहरूमार्फत समुदायमा चेतना फैलाउने यो तरिका निकै प्रभावकारी देखिएको छ ।’

    अबको ४ वर्षभित्र जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यमा महिनावारी सरसफाइ मुख्य चुनौतिका रूपमा रहेको भए पनि विद्यालयस्तरमा व्यापक मात्रामा चेतना फैलाउन सके समाज परिवर्तन गर्न गाह्रो नहुने उनी बताउँछन् । पहिला–पहिला महिनावारी भएका बेला शौचालयसमेत प्रयोग गर्न नदिने आफ्नो गाउँका स्थानीयहरू अहिले निकै परिवर्तन भएको छात्राहरूको पनि अनुभव छ । ‘सरसफाइ गर्‍यो भने महिनावारी भएको कसैले थाहै पाउँदैनन् । भेदभाव त उसै कम भइहाल्छ,’ सुर्मा आधारभूत विद्यालय खालिगडाकी राजेश्वरी खातीले भनिन् ।

    विद्यालयका छात्राहरूका कारण समुदायमा निकै ठूलो परिवर्तन आउन थालेको शिक्षकहरू बताउँछन् । मष्टा आधारभूत विद्यालय तुतीका प्रधानाध्यापक वीरेन्द्र अधिकारी भन्छन्, ‘यसअघि लाखौं खर्च गरेर चलाएका अभियानभन्दा विद्यालयले सित्तैमा विद्यार्थीमार्फत चलाएको अभियानले परिवर्तनको संकेत देखिएको छ ।’ उनले विद्यार्थीहरूमार्फत मदिरा सेवन गर्ने, जुवातास खेल्ने कुरामा पनि नियन्त्रण गर्न प्रयास गरिरहेको बताए ।

    वसन्तप्रताप सिंहले कान्तिपुरमा खबर लेखेका छन् ।