२०७६ कार्त्तिक २९ गते

महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा भएको दूर्व्यवहारको चौतर्फी निन्दा

ईपाटी संवाददाता

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा माथि अस्थायी शिक्षकहरुद्वारा भएको हातपातको चौतर्फी निन्दा भएको छ । घटना लगत्तै प्रेसविज्ञप्ति जारी गर्दै महासंघले दोषिलाई तत्काल कानूनी कार्बाही गर्न समेत माग गरेको छ ।


बिहिवार नेपाल शिक्षक महासंघको कार्यालय केशरमहल पुगेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक विन्दा दास थारु नेतृत्वका अस्थायी शिक्षकहरुले महासंघका अध्यक्ष थापा माथि सुनियोजित हातपात गर्ने काम भएको महासंघले जनाएको छ ।


अस्थायी शिक्षकहरुले महासंघ कार्यालय परिसरमा हुल हुज्जत गर्नुका साथै महासंघका अन्य पदाधिकारी माथि अभद्र र अमर्यादित शब्द प्रयोग गर्ने जस्ता कार्य गरेको समेत महासंघले जनाएको छ ।


अस्थायी शिक्षक आन्दोलनको नाममा भएको यी अमानवीय तथा अमर्यादित घटनापति नेपाल शिक्षक महासंघको आजको बैठक स्तब्ध हुँदै कडा निन्दा एवम क्षोभ प्रकट गर्दछ । यस्ता उच्छृंखल व्यवहारले शिक्षक आन्दोलनलाई अराजक बनाउने तथा भएका उपलब्धि गमाउने दिशा तिर उन्मुख गर्ने खतरा बढ्ने हुन्छ । त्यसैले अब आइन्दा यस्ता अशोभनीय घटना नदोहोयाउन सम्बन्धित पक्षलाई सचेत गराउदै सरकार समक्ष दोषी माथि अविलम्ब कडा कार्वाहीको माग गर्दछौं । महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


महासंघले आन्दोलनरत अस्थायी शिक्षकहरुको कथित् आन्दोलनको भ्रम तथा भयबाट मुक्त भई असार २९ र ३० गते हुन गई रहेको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षामा सक्रियतापूर्वक सामेल हुन सबै अस्थायी शिक्षकहरुलाई  आग्रह समेत गरेको छ ।


घटना लगत्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं दोषिलाई तत्काल कार्बाही गर्न माग गरेका छन् ।

Comments: