२०७६ माघ ८ गते

'शिक्षकका संघसंगठन विघटन गरेर महासंघमा समाहित हुनुपर्छ'

 


काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकका संघसंगठन विघटन गरेर शिक्षक महासंघमा समाहित हुनुपर्ने बताएका छन् ।


अधिकारीले शिक्षक महासंघको प्रथम महाधिवेशनमा स्वागत भाषणका क्रममा संघसंगठनमा विभाजित हुँदा शिक्षक आन्दोलन कमजोर र कलंकित भएको भन्दै एउटै शिक्षक महासंघमा संगठित हुनुपर्ने बताएका हुन् ।


'स्थानीय तहमा शिक्षा पुगेपछि सबैभन्दा धेरै प्रहार शिक्षकमा भएका छन्, हाम्रा हाजिरीमा रातो लागेका छन्, अवकाशको पत्र थमाइएका छन्'– अधिकारलिे भने 'त्यसविरुद्ध संगठित रुपमा प्रतिरोध गर्न एउटै शिक्षकको छातामुनी गोलबन्द हुनुको विकल्प छैन ।'


अब मुलुकभरका चारलाख शिक्षकहरु शिक्षक महासंघको छातामा गोलवन्द हुँदै महासंघको मात्रै सदस्य बन्न जरुरी रहेकोमा अधिकारीको जोड थियो । उनले पढाइरहेका शिक्षकहरुलाई राज्यले निर्वाचनका बेला गिरफ्तारी गरेको प्रति समेत खेद व्यक्त गरे । उनले भने– 'शिक्षकहरु संगठित नहुँदा सम्म राज्यबाट यस्ता प्रहार भइरहन्छन् ।'


अस्थायी, राहत, पिसिएफलगायतका शिक्षक र विद्यालयका कर्मचारीहरुको अधिकार प्राप्तीका लागि पनि शिक्षक एकता अपरिहार्य रहेको अधिकारीले स्पष्ट पारे ।

Comments: