२०७६ भदौ २ गते

राहत शिक्षक माथि भएको प्रहरी दमनको शिक्षक महासंघद्वारा भत्सर्ना

अन्तैबाट


काठमाडौं । नेपाल शिक्षक महासंघले राहत तथा इसिडि शिक्षकको प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा एवं भत्सर्ना गरेको छ । सोमवार विज्ञप्ति जारी गर्दै महासंघले सरकारले संविधानको भाग ३ को धारा १७ ले दिएको अधिकारको वर्खिलाप शिक्षक माथि अमानवीय दमन गरेको ठहर गरेको हो ।


महासंघ र शिक्षा मन्त्रालय बीच वार्ता भई शिक्षक तथा विद्यालय कर्मचारीका धेरै मागहरुमा दुईपक्ष बीच सहमती भइ सकेको तथा केही महत्वपूर्ण मुद्दामा सहमतीका लागि गम्भीर छलफल चलिरहेको अवस्थामा  सहमती पत्रमा उल्लेख भएको बुदा न ८ लाई प्रस्तावित सङ्घीय शिक्षा विधेयकको मस्यौदामा समेट्ने क्रममा मन्त्रालयले गरेको गम्भीर त्रुटि तथा लापर्वाहीका कारण शिक्षक समुदाय आक्रोशित भई विरोध प्रदर्शनमा उत्रेको महासंघले स्पष्ट पारेको छ ।


महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण विरोध प्रदर्शनमाथि यस प्रकारको बल प्रयोग नगर्न राज्यलाई सचेत गराउँदै दमनका कारण घाइते भएका सबै शिक्षकको उपचारको यथोचित् प्रबन्ध गर्न तथा गिरफ्तार सवै शिक्षकहरुलाई अविलम्व रिहा गर्न सरकार समक्ष जोडदार माग गरिएको छ ।


लामो आन्दोलन पश्चात् नेपाल शिक्षक महासंघ वार्ताको टेवलमा निरन्तर डटिरहेको अवस्थामा सबै शिक्षक कर्मचारीहरुको माग पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौ । विज्ञप्तिमा भनिएको छ ।


राहत शिक्षक एवं इसिडि शिक्षकको प्रदर्शनमा आइतबार र सोमबार नयाँ बानेश्वरमा प्रहरी हस्तक्षेप भएको थियो । प्रहरीले अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज गर्दा सयौं शिक्षकहरु घाइते भएका थिए ।

Comments: