२०७६ भदौ ५ गते

सिसिटिभि क्यामेरा जडान पछि पठन–पाठनमा सुधार

राजन रावत/हुम्ला


दुर्गमको खार्पुनाथ गाउँपालिकाको सीता माध्यामिक विद्यालयले सम्पूर्ण कक्षाहरुको पठन–पाठनको अनुगमन सिसिटिभि क्यामेराबाट सुरु गरेको छ । यसो गर्दा पठन–पाठनमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको विद्यालयले जनाएको छ ।


कक्षा कोठामा हुने प्रत्येक गतिविधि प्रत्यक्ष रुपमा प्रधानाध्यापकको कक्षबाट अनुगमन तथा निगरानी हुन थाले पछि विद्यार्थीहरु र शिक्षकको पठन–पाठनमा सक्रियता बढेको हो ।


सिसिटिभि जडानपछि कक्षाकोठामा शिक्षक मात्र होइन विद्यार्थीहरुको पनि पढाइमा क्रियाशिलता बढेको कक्षा नौ का विद्यार्थी दिपेन्द्र रोकायाले बताए ।  कक्षामा कसले के गरेको छ ? त्यो कुरा प्रधानाध्यापकको कार्यकक्षबाट निगरानी हुने भए पछि सबै विद्यार्थीहरु सतर्क भएर पठन–पाठनमा लाग्ने गरेको उनले जानकारी दिए ।


 कोही विद्यार्थी चलेको र पठन–पाठनमा ध्यान नदिएको पाईए प्रअ कक्षा मै आएर हप्काउने भएपछि सबै विद्यार्थीहरु ध्यान दिएर पठन–पाठनमा केन्द्रीत हुन थालेको उनले बताए ।


विद्यार्थीमात्र होईन समय तालिका अनुसार शिक्षक कक्षाकोठामा पसे नपसेको समेत प्रअबाट निगरानी हुने हुँदा सर पनि समयमै कक्षामा आएर पठन–पाठन गर्ने गरेको अर्की कक्षा १० की छात्रा जानदेवी शाहीले बताइन् ।


 जिल्ला मै पठन–पाठन र अन्य पक्षमा पनि ब्यवस्थित विद्यालयका रुपमा चिनिएको सीता माविमा सिसिटिभी जडान पछि विद्यार्थी र शिक्षकहरु कक्षा कोठामा पहिले भन्दा निक्कै नम्र देखिन थालेको उनले बताइन् ।  यसले विद्यार्थीलाई अनुशासित र सभ्य बनाउन समेत सहयोग गरेको उनको भनाइ थियो ।


सदरमुकाम सिमकोटमा समेत सिमित कार्यालयहरुमा सिसिटिभि क्यामरा जडान भएको सन्दर्भमा गाउँको विद्यालयमा यो प्रबिधि जडान भएपछि आफ्नो छोराको बानीमा परिवर्तन आएको अभिभावक खड्क सुनारले बताए ।


 सिसिटिभी क्यामरा पहिलो पटक देखेको बताउदै अभिभावक सुनारले प्रधानाध्यापकलाई पनि कक्षा कोठाको शैक्षिक गतिविधि निगरानी राख्न सहज भएको र यसले आफ्नो छोराको बानीमा परिवर्तन आए जस्तै गुणात्मक शिक्षा प्राप्तिमा पनि सहयोग पुर्याउने उनले आशा व्यक्त गरे ।


बालविकास देखि कक्षा १० सम्म पढाइ हुने सीता माविमा हाल चौधवटा सिसिटिभी क्यामरा आएकोमा सबै कक्षामा जडान गरेर निगरानी राख्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक जुनराज हमालले जानकारी दिए ।


यो प्रविधिबाट निगरानी तथा अनुगमन गर्दा पहिलो कुरा पठन–पाठनमा सुधार आएको, कक्षाका शिक्षक तथा विद्यार्थीहरुको नियमित उपस्थिती हुने गरेको, समय तालिका अनुसार शिक्षक कक्षामा प्रवेश गर्ने गरेको मात्र नभएर विद्यालयलाई अनशासित राख्न ठुलो सहयोग पुर्याएको उनले बताए ।


 कक्षाकोठामा मात्र नभएर विद्यालयको बाहिरी वातावरणको पनि अनुगमन गर्न क्यामरा जडान गरिएकोले समग्रमा विद्यालयको शैक्षिक वातावरण नै सुधार आएको उनले बताए ।


 सिसिटिभी क्यामरा खरिद तथा जडानका लागि खार्पुनाथ गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको प्रअ हमालले जानकारी दिए ।


 साढे तीन सय विद्यार्थीले अध्ययन गरि रहेको सीता माविमा यसै शैक्षिक सत्रबाट प्राविधिक धारतर्फको कम्प्युटर शिक्षा पनि पठन–पाठन सुरु भएको छ  ।  विद्यालयमा सिसिटिभी क्यामरा जडान गरेर पठन–पाठनको निगरानी राख्ने पहिलो विद्यालय भएको छ ।


Comments: