२०७६ असोज २ गते

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग

काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय नसमेटिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । गणित विषय विज्ञान, प्रविधि क्षेत्र र दैनिक जनजीवनमा समेत जोडिएकाले पाठ्यक्रममा समावेश गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

गणित समाज र गणित शिक्षा परिषद्ले सबै धारका विद्यार्थीले अनिवार्य उक्त विषय पढ्न पाउनुपर्ने माग गरेका हुन् । विद्यालय तहमा गणित विषयलाई टुटाउँदा विज्ञान र अन्य भाषा विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहनेका लागि समेत आघात पुग्ने तर्क परिषदका उपाध्यक्ष कृष्णप्रसाद पोखरेलको छ । ‘हरेक क्षेत्रमा गणित विषय अनिवार्य छ,’ उनले भने । गणित विषय सम्बद्ध विज्ञहरूले उच्च शिक्षामा प्राविधिक विषय पढ्न विद्यालय तहमा गणित विषय अनिवार्य पढ्नुपर्ने औंल्याएका हुन् ।

पाठ्यक्रम विकास केन्द्रले भने उक्त भनाइको खण्डन गरेको छ । विज्ञहरूकै संलग्नता र रायसुझावमा पाठ्यक्रमको प्रारूप तयार गरिएको र यो विषयलाई उचित स्थान दिइएको भनाइ केन्द्रका उच्च अधिकारीको छ । केही शिक्षकले स्वार्थवश गणित विषय हटाएको भनेर अनावश्यक तर्क गरेको ती अधिकारीले कान्तिपुरसँग बताए । केन्द्रका सूचना अधिकृत खुबिराम अधिकारीले विद्यार्थीको आवश्यकता ख्याल गरेर पाठ्यक्रममा गणितका विषयवस्तु समेटिने प्रस्ट पारे । ‘जीवन उपयोगी शिक्षाभित्र साधारण गणित समावेश भएको हुन्छ,’ उनले भने, ‘ऐच्छिक विषयमा विद्यार्थीले चाहेअनुसारको गणित पढ्न पाउँछन् ।’

नयाँ पाठ्यक्रममा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा विषय अनिवार्य र तीनवटा विषय ऐच्छिक रहने व्यवस्था छ । विद्यार्थीले ऐच्छिक विषयहरू साधारण धार, विज्ञान तथा प्रविधि र प्राविधिक तथा व्यावसायिक धारबाट छनोट गर्न सक्नेछन् । गणित समाजका सदस्य जीवन काफ्लेले विद्यालय तहमै विद्यार्थीले गणित अध्ययन पर्याप्त गर्न नपाउँदा विज्ञान, इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयमा उच्च शिक्षा पढ्न ढोका बन्द हुने बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका प्रमुख केदारनाथ उप्रेतीले प्राय: मुलुकमा विद्यालय तहको पाठ्यक्रममा गणित विषय अनिवार्य समावेश हुने गरेको उदाहरण दिए । ‘पाठ्यक्रम विज्ञान प्रविधिमैत्री भए मात्रै देश विकास सही मार्गमा जान्छ,’ उनले भने, ‘गणित नै हटाउनु दुर्भाग्यपूर्ण हो ।’

लोकसेवा आयोगको परीक्षामा समेत गणितको प्रश्न सोधिने हुँदा साधारण धारका विद्यार्थीले गणित अनिवार्य पढ्न पाउनुपर्ने दाबी विषयगत प्राध्यापकहरूले गरे । ‘पहिले संकाय प्रणालीमा पनि गणित अनिवार्य विषय थिएन, अहिले पनि पढ्न चाहनेका लागि ऐच्छिकतर्फ खुला छ,’ पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीले भने । उनले गणितका विषयवस्तु पर्याप्त रहेको बताए ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: