• त्रिविमा स्ववियु चुनावको तयारी छलफल
    (अन्तैबाट)

  • काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले आउँदो फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव तयारी सम्बन्धी छलफल सुरु गरेको छ ।


    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार विभिन्न संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख र उपत्यका भित्रका आंगिक क्याम्पसका प्रमुखलाई बोलाएर छलफल गरेको हो। कीर्तिपुरस्थित सभाहलमा स्ववियु निर्वाचन निर्देशिका, आचारसंहिताका विषयमा छलफल गरेको त्रिवि सूचना विभागले जनाएको छ।


    उपकुलपति तीर्थराज खनियाँले क्याम्पस प्रमुखहरु र विद्यार्थी संघसंगठनहरुसँग निरन्तर छलफल गरी स्ववियु निर्वाचन सम्पन्न गरिने बताएका छन्। त्रिविले अघिल्लो स्ववियु निर्वाचनमै उम्मेदवार हुन विद्यार्थीको उमेरहद २८ वर्ष कायम गरेको छ।

    ‘यो निर्वाचनलाई नियमित प्रक्रियाको रुपमा सम्पन्न गर्नु सबै आंगिक क्याम्पसको दायित्व हो,’ उपकुलपति खनियाँले भने, ‘छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्ट रुपमा विधि र प्रक्रियाको टुंगो लगाएर तोकिएको मितिमा निर्वाचन सम्पन्न गरिने छ।’

    त्यसनिम्ति व्यवस्थापनको तयारीमा जुट्न, मतदाताहरुको नामावलीको टुंगो लगाउन र क्याम्पसभित्र क्रियाशिल विद्यार्थी संघसंगठनहरुसँग निरन्तर संवाद गर्न क्याम्पस प्रमुखलाई निर्देशन दिए।

    त्रिवि नियमावलीअनुसार हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्छ। उपकुलपति खनियाँले यसअघि स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा यसपटक सहज वातावरण निर्माण गर्न अपिल गरेका छन्।

    शिक्षाध्यक्ष सुधा त्रिपाठीले स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउने गत पुस २२ मा सबै क्याम्पसमा परिपत्र भइसकेको बताइन्। ‘छलफलबाट अघिल्लो निर्वाचन अनुभवअनुसार सहज ढंगले अघि बढ्न सरोकार पक्ष विद्यार्थीसित दोहोरो संवाद गर्न सबै क्याम्पस प्रमुख, प्राध्यापकलाई अनुरोध छ,’ त्रिपाठीले भनिन्।

    स्ववियु निर्वाचनको लागि क्याम्पस प्रमुखको जिम्मेवारी, निर्वाचन समिति गठन गरी आचारसंहिता अनुगमन उपसमिति समेतलाई बलियो बनाउन जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ।

    कान्तिपुरमा खबर  छ ।