२०७६ माघ १२ गते

‘चुनावमा बालबालिका प्रयोग नगर’

काठमाडौं । निर्वाचनमा विद्यालय जाने उमेरका बालबालिका प्रयोग नगर्न माग गरिएको छ । ‘विद्यालय तथा बालबालिका शान्ति क्षेत्र कार्यान्वयन गर्नका लागि अपिल तथा प्रतिबद्धता जाहेर’ कार्यक्रममा शुक्रबार सरोकारवाला निकायले त्यस्तो माग गरेका हुन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाललगायत नौवटा नागरिक समूहका संस्थाले विद्यालय उमेर समूहका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सभा, जुलुस, र्‍याली आदिमा स्वयंसेवकका रूपमा प्रयोग नगर्न माग गरेका हुन् ।

 विद्यालय परिसरभित्र तथा पठनपाठनलाई असर पर्ने गरी विद्यालय आसपास कुनै पनि राजनीतिक गतिविधि नगर्न, विद्यालय परिसरमा सम्भव भएसम्म मतदान केन्द्र नराख्न, विद्यालय परिसरभित्रको कुनै पनि प्रकारको घरेलु तथा अन्य हातहतियार प्रदर्शन गर्न तथा राख्न पूर्ण रूपमा निषेध गर्न भनेका छन् । राजनीतिक दलका प्रतिनिधिसमेत सहभागी कार्यक्रममा जारी अपिलमा भनिएको छ, ‘विद्यालयलाई अत्यावश्यक सेवाका क्षेत्रभित्र राख्दै निर्वाचन प्रचारप्रसार वा राजनीतिक प्रयोजनका लागि राजनीतिक दल वा उम्मेदवारहरूले शिक्षकहरूलाई प्रयोग तथा परिचालन नगरौं ।’ राजनीतिक दलले बन्द, आमसभा, र्‍यालीजस्ता कार्यक्रम गर्दा विद्यालयको नियमित पठनपाठनमा बाधा पुर्‍याउन नहुने र स्थानीय निकायमा रहेका राजनीतिक प्रतिनिधिलाई स्थानीय तहको शैक्षिक विकासका लागि गतिविधिमा पूर्ण रूपमा जवाफदेही बनाउनसमेत अपिलमा माग गरिएको छ ।

सरकारले २०६८ जेठ ११ मा ‘विद्यालय शान्ति क्षेत्र’ घोषणा गरेको थियो । उक्त घोषणापत्रलाई विभिन्न राजनीतिक दलले स्वागत गर्दै पालना गर्ने प्रतिबद्धता जनाएका थिए । तर, व्यवहारमा लागू नभएको अध्ययन अवलोकनमा सम्बद्ध पक्षले औंल्याइरहेका छन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले गत स्थानीय चुनावका क्रममा १८ जिल्लामा विभिन्न राजनीतिक दलले बालबालिका प्रयोग गरेको प्रमाण फेला परेको बताए । ‘राजनीतिक नेताले सामूहिक प्रतिबद्धता जनाए पनि चुनावी दौरानमा बालबालिका प्रयोग गरेको फेला परेको छ,’ ती घटनाबारे निर्वाचन आयोगलाई तत्काल जानकारी गराइएको उल्लेख गर्दै उनले भने, ‘आउँदो निर्वाचनमा समेत अनुगमन गर्दै छौं । अन्तर्राष्ट्रिय मानव अधिकारको पालना गर्ने पक्ष राष्ट्र नेपाल हो । त्यसैले पनि हरेक पक्षमा सचेत रहन दलहरूलाई हाम्रो अनुरोध छ ।’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावी क्रियाकलापमा बालबालिका प्रयोग गर्ने राजनीतिक दलहरूलाई निगरानीमा राख्दै आएको बताए ।

‘राजनीतिक दलहरूले आफ्नो प्रतिबद्धताअनुसार विगतका भन्दा कम बालबालिका प्रयोग गरेका छन्,’ उनले भने, ‘सबै अभिभावकले छोराछोरीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन सचेत गराउनोस् । हरेक शिक्षकले आफ्ना विद्यार्थीलाई निर्वाचन शिक्षा दिनोस् तर कुनै दलको गतिविधिमा संलग्न नहुन सम्झाउनोस् । यदि शिक्षक र विद्यार्थी त्यसरी संलग्न रहेको पाइए हेडमास्टरलाई स्पष्टीकरण सोध्न सकिनेछ ।’

मतदानका दिन बिदा दिन आग्रह

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको पहिलो र दोस्रो चरणको निर्वाचनका दिन निर्वाचन हुने जिल्लाहरूमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । मंसिर १० गते पहिलो चरणमा ३२ र मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुँदै छ ।

आयोगले मतदानका दिन सार्वजनिक सवारीसाधन नचल्ने र अधिकांश कर्मचारी निर्वाचनमा खटिने हुनाले सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको हो । पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० गतेसम्म तथा दोस्रो चरणमा मंसिर १८ देखि २१ गतेसम्म चार दिन सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बिदा गर्नसमेत आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसमा रहेकाले चार दिन बिदा दिन आग्रह गरिएको बताए । निर्वाचन व्यवस्थापनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने तीन दिनअगावै मतदान केन्द्र पुग्ने भएकाले सोहीअनुसार बिदा मिलाउन भनिएको उनले जनाए ।

 कान्तिपुर दैनिकमा खबर छ ।

Comments: