२०७६ कार्त्तिक २७ गते

चुनाव लड्न शिक्षकले दिए राजीनामा

कालिकोट । १८ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन जिल्लाका चर्चित तीन शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । बेलाबेला विद्यालय बन्द गर्दै राजनीतिक वृत्तमा देखापर्ने जिल्लाका शिक्षकमध्ये तीनजनाले गत १६ फागुनमा जिल्ला शिक्षा कार्यालय कालिकोटमा आफ्नो राजीनामा पत्र बुझाएका थिए ।

जिशिकाले राजीनामाका विषयलाई गोप्य राख्न खोजे पनि शिक्षकहरूले नै बिस्तारै आफ्नो बारे कुरा खोल्न थालेका छन् । राजीनामा दिने शिक्षकहरूमध्ये एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका लालु स्थायी घर भएका विद्यालय स्रोतव्यक्ति धीरबहादुर विष्टले आपूm अब शैक्षिक क्षेत्रबाट समाजसेवामा लागेको बताए । राजीनामा पत्र बुझाएको दुई दिनपछि स्थानीय निर्वाचनमा नरहरिनाथ गाउँपालिकाबाट प्रमुख पदमा उम्मेदवार हुने भन्दै राजीनामा दिएको स्वीकार उनले गरेका थिए ।

यता नेपाली कांग्रेसनिकट शिक्षक संघमा आबद्ध मोती माध्यमिक विद्यालयका प्रधानाध्यापक दानबहादुर बमले पनि आफू स्थानीय तहको चुनावमा भिड्ने भन्दै राजीनामा दिएको स्पष्ट पारेका छन् । शनिबार नेपाल शिक्षक संघको जिल्ला भेलामा बोल्दै उनले शैक्षिक राजनीतिबाट सन्न्यास लिएको र अब पार्टीमा बसेर काम गर्ने बताएका थिए । उनी नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनमा कालिकोटबाट प्रतिनिधि बनेका हुन् ।

शिक्षक भए पनि नेपाली कांग्रेसको नेताका रूपमा चिनिएका शिक्षक बमको राजीनामा जिल्ला शिक्षा कार्यालयले स्वीकृत गरिसकेको छैन । यस्तै, एमालेको जिल्ला सदस्यसमेत रहेका बडिमालिका उच्च माध्यमिक विद्यालयका प्राचार्य मनिराज बराल पनि स्थानीय तहको चुनावमा भिड्ने तयारीमा रहेका छन् । उनको राजीनामा पत्र उनी आफैंले नभएर एक कार्यकर्ताको सहयोगमा जिल्ला शिक्षा कार्यालयमा बुझाइएको बताइएको छ ।

आबद्ध दलले उम्मेदवारको टिकट दिएमा शिक्षक बराल र बम रास्कोट नगरपालिकाको प्रमुखमा भिड्नेछन् । सैद्धान्तिक रूपमा ती दुई शिक्षक फरक छन् ।

यसैगरी, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा असक्षम र अल्छे स्वास्थ्यकर्मीका रूपमा चिनिएका वरिष्ठ अहेब हंस भण्डारीले पनि पलाँता गाउँपालिकामा उम्मेदवार हुने भन्दै राजीनामा दिएका छन् । स्थानीय एक विद्यालयको भवन निमार्णका लागि किर्ते व्यवस्थापन समिति गठन गरी २० लाख रुपैयाँ निकासा गरी हिनामिना गरेको अभियोगमा किर्ते जालसाजी मुद्दामा अदालतको तारेखमा भण्डारी रहेका छन् ।

पेसाबाट राजीनामा दिने शिक्षक र स्वास्थ्यकर्मीको राजीनामा स्वीकृत भने सम्बन्धित निकायले गरिसकेको छैन । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार प्रक्रिया नपुगेर आएको राजीनामालाई स्वीकृत गर्ने बाटो छैन । खेताला लगाएर राजीनामा आएको र पत्रमा सम्बन्धित व्यक्तिको दस्तखत नभएकाले पनि प्रक्रियामा जान नसकिएको जिशिअ तिवारीले बताए । ‘रोहवरमा दस्तखत गरेको खण्डमा राजीनामा हुन्छ,’ जिशिअ तिवारीले भने ।राजधानी दैनिकमा खबर छ ।

Comments: