२०७६ कार्त्तिक २९ गते

‘१० प्रतिशत विद्यार्थी बिचमै पढाई छाड्छन’

चितवन  । भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न चुनौती रहेको जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ । २०७४ को शैक्षिक सुचांकलाई हेर्दा कक्षा १ देखी ८ सम्ममा कक्षा छाड्ने दर १० प्रतिशत रहेको छ ।


पढाइ छाड्ने दर कम गर्नका लागि विद्यालय आउन नसकेका बालबालिकालाई विद्यालय ल्याउन र टिकाउन ‘घर–घरमा’ अभियान चलाईने भएको छ । जिल्लामा मुख्य गरी भौगोलिक र आर्थिक कारणले विद्यार्थी ड्रप आउट (पढाइ छाड्ने) दर १० प्रतिशत रहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।
चितवनको विद्यार्थी भर्ना दर ९९.०९ प्रतिशत रहेको छ । खुद भर्ना दर राष्ट्रिय औषत दर भन्दा माथि छ । अझै पनि ५ देखी ९ वर्षसम्मका बालबालिका मध्ये ०.९१ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको एकाई प्रमुख मनोज गैरेले बताए । गैरेका अनुसार आधारभुत तहमा चितवनको खुद भर्ना दर ९३ प्रतिशत रहेको छ ।

भर्ना अभियान सुरु
नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा चितवनमा सरोकारवाला निकायहरु भर्ना अभियानमा जुटेका छन् । सरकारले वैशाख २ गतेदेखि देशैभर सुरु गर्न लागेको भर्ना अभियान चितवनमा पनि विशेष कार्यक्रमका साथ गर्न लागिएको छ । शक्षिक सत्र २०७५ का लागि वैशाख २ गतेबाट १४ गतेसम्म पहिलो चरणको भर्ना अभियान र वैशाख १५ देखी ३० गतेसम्म दोस्रो चरणको भर्ना अभियान सुरु हुँदैछ । पहिलो चरणमा भर्ना हुन आएका विद्यार्थीहरुलाई भर्ना हुनासाथ पाठ्यपुस्तक उपलब्ध गराउनुको साथै मुस्कानसहितको फूल अबिरले स्वागत गरिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गैरैले जानकारी दिए ।

कार्यक्रमका सहभागिहरुले स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि भर्ना अभियान संचालन गर्न सहज हुने भन्दै नयाँ तरिकाबाट अभियान संचालन गर्न सुझाव दिएका थिए । विद्यालयमा विद्यार्थी टिकाउने खालको शिक्षा दिनुपर्नेमा उनीहरुको जोड थियो । छलफल कार्यक्रममा स्थानीय तहका शिक्षा विभाग प्रमुखहरुले स्थानीय तहमा भर्ना अभियान पाठ्यपुस्तक उपलब्धता, विद्यार्थी टिकाउ र सिकाई उपलब्धी सुधारका बारेमा भएका प्रगतिहरुबारे जानकारी गराएका थिए । चितवनमा पाँच सय ४८ विद्यालयमा कक्षा एकदेखी १० सम्म कुल एक लाख ३५ हजार ८ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

म पनि अभिभावक
चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले आफ्नो चुनावी क्षेत्र इच्छाकामना गाउँपालिका ५ मा अवस्थित कालिखोला आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीको लागि अभिभावकत्व ग्रहण गर्ने बताएका छन् । हरेक स्थानीय तहका प्रमुखले अभिभावकत्व ग्रहण गर्नुपर्ने उल्लेख गर्दे उनले सीमान्तकृत चेपाङ समुदायको लागि आफू अभिभावकत्व ग्रहण गर्न तयार रहेको बताए ।

नयाँपत्रिकामा खबर छ ।

Comments: