२०७६ असोज २ गते

चिसोले चउरमै परीक्षा

राजन रावत/हुम्ला


सदरमुकाम सिमकोटबाट चार दिन पैदल दूरीमा रहेको  ताँजाकोट गाउँपालिकाका विद्यार्थी चिसो बढेसँगै खुला चउरमा वार्षिक परीक्षा दिन बाध्य भएका छन् ।


विद्यालयहरुद्वारा चिसोबाट बचाउन र परीक्षाका बेला चीट चोर्ने प्रवृतिलाई हटाउन खुला चउरमा परीक्षा  दिने व्यवस्था  गरिएको हो ।


शुरुमा परीक्षा कक्षाकोठामा दिने व्यवस्था गर्ने कुरा गरिएको भएपनि पछि खुला चउरमा मा नै सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए ।


यसले विद्यार्थीलाई चिसोको कारण परीक्षामा लेख्न नसक्ने समस्याको पनि समधान हुने र परीक्षा मर्यादित पनि हुने उनले बताए ।


विद्यालयका कक्षा कोठामा परीक्षा दिँदा चिसो हुने र परीक्षार्थीमा चीट चोर्ने प्रवृतिको अन्त्यका लागि खुला चउरमको भुईमा परीक्षा दिने व्यवस्था गरिएको स्रोतव्यक्ति जयरुद्र ढकालले बताए । । यसले परीक्षालाई मर्यादित र अनुशासीत तवरले सञ्चालन गर्न सहयोग गर्ने ढकालले बताए ।  ताँजाकोटका मावि र आधारभुत गरेर एक हजार नौ सय ५६ जना विद्यार्थीहरुले परीक्षामा सहभागिता जनाएको उनले  जानकारी दिए ।

गाउँपालिकाको निर्णय अनुसार ताँजाकोट गाउँपालिकाका सबै  १ देखि १० कक्षाको परीक्षाहरु आईतबारबाट सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताए ।


परीक्षामा एक रुपता ल्याउन र एउटै समयमा सबै विद्यालयको परीक्षा सञ्चालन गरिएको उनले बताए ।


 त्योसँगै परीक्षाको गुणस्तीरता कायम गर्न एउटा विद्यालयको परीक्षा अर्कोमा सञ्चालन गर्नका लागि शिक्षकहरु खटन–पटन गरिएको शाहीले बताए ।

Comments: