२०७६ असोज २ गते

शैक्षिक संस्थाका जग्गामा आँखा नलगाउन पुनरुत्थानवादी शक्तिको चेतावनी

ईपाटी संवाददाता


काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले शैक्षिक संस्थाका सम्पत्तिमा आँखा नलगाउन चेतावनी दिएको छ । सो पार्टीले सुनसरी धरान उपमहानगरपालिका स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्न भूमाफियाहरु सक्रिय भएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षणसमेत भएको जनाएको हो ।


२०३४ सालमा क्याम्पसले जग्गा खरिद गर्नुअघि नै भोगचलन छोडिसकेको जग्गामा अहिले ४१ बर्षपछि भूमाफियाको चलखेलमा हकदावी गर्न आएकोमा कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको ठाडो निर्देशनमा वडा नं. ११ ले पनि नामसारी सिफारिस गरिदिएको कुरा मिडियामा सार्वजनिक भएको सो पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै विरोध गरेको हो ।


पुनरुत्थानवादी शक्ति नेपाल देशभरका विश्वविद्यालय, सामुदायिक विद्यालयका जग्गा, चिहानघाट, मसानघाट लगायतका सार्वजनिक जग्गा बचाउन विगत लामो समयदेखि क्रियाशिल रहँदै आएको छ । आवश्यकता अनुसार कानुनी कारबाही गरेर भएपनि सार्वजनिक जग्गा भूमाफियाको कब्जामा जान नदिने र भूमाफियाको अतिक्रमणबाट बचाउनको लागि देशव्यापी अभियान चलाउने तथा सार्वजनिक जग्गा मास्ने र मास्ने काममा मतियार बन्नेलाई समेत खोजी खोजी कानुनको कठघरामा ल्याइने समेत पार्टीले प्रेस विज्ञप्तीमा स्पष्ट पारेको छ ।


पुनरुत्थानवादी शक्ति नेपालको नेता शेखरजंग रायमाझीले शैक्षिक संस्थाका सम्पत्ति सुरक्षा र पुनरुत्थानका लागि देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिए ।


यसैगरी, पार्टीले यस अघि नै सामुदायिक विद्यालयको जग्गा बेच्ने, दीर्घकालीन करार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने कार्यका विरुद्ध पूर्वी नेपालको झापाको विर्तामोड, सुनसरीको इटहरी, चितवनको भरतपुरमा पनि भेला सम्पन्न गरेको पार्टीकीे प्रमुख नेता तारा बरालले बताइन् ।


यसै गरी पुनरुत्थानवादी शक्ति नेपालकै पहलमा सामुदायिक विद्यालयले मनोमानी तरिकाले कलिला बालबालिका अध्ययन गर्ने ठाउँ समेत मासेर स्थायी संरचना निर्माण गर्न समेत जग्गा भाडामा दिएको तथा करार गरेको विरुद्धमा कानुनी कार्बाहीहरुसमेत हुँदै आएका छन् । यसैक्रममा पछिल्लोपटक काठमाडौँ महानगरपालिका वडा नं. १३ कालीमाटी स्थित जनप्रभात मा.वि.ले रानी पूर्णकुमारी राणाले दान दिएको ८ रोपनी ८ आना जग्गा भाडामा लगाउन २०७५।५।५ मा खोलेको टेण्डर बदर गर्न माग गरी उच्च अदालत पाटनमा भाद्र २७ गते सोही विद्यालयका शिक्षक पुनरुत्थानवादी शक्ति नेपालको नेता शरद कुमार मिश्रले उत्प्रेषण समेतको रिट दायर गरेको र यसको अन्तिम सुनूवाई पुष ४ गतेलाई तोकिएको जानकारी नेता मिश्रले दिए ।

“पुनरुत्थानवादी शक्ति नेपाल सार्वजनिक जग्गा बचाउने अभियानमा जुनसुकै कदम चाल्न सक्छ, सरकारी तथा सामुदायिक जग्गामाथि भएको अतिक्रमणलाई टुलुटुलु हेरेर पुनरुत्थानवादी शक्ति नेपाल बस्दैन ताकि सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु नेपालको संविधान (२०७२) ले तोकेको प्रत्येक नेपाली नागरिकको दायित्व हो ।” नेता मिश्रले भने ।


Comments: