२०७६ भदौ ६ गते

छात्रालाई साइकल उपहार

अन्तैबाट

रौतहट  । रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। नगरका अधिकांश विद्यालय प्राथमिक तहको रहेको र प्राथमिक तहको पढाइ पूरा गरेपछि गाउँभन्दा टाढा जानुपर्दा बालिकाको पढाइ छुट्ने गरेकोले उनीहरुलाई साइकल उपहार दिइएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रदेश सरकारले पनि 'बेटी पढाऔँ बेटी बचाऔँ' अभियान नै चलाएकोले छात्रा शिक्षामा नगरले विशेष लगानी सुरु गरको मेयर शेख वकिलले बताए। मेयर वकिलले नगरका कक्षा ८ सम्म सञ्चालित सम्पूर्ण विद्यालयका छात्रालाई लौकाहास्थित ब्रह्मज्योति माध्यमिक विद्यालयमा बोलाएर साइकल उपहार दिए। नगरस्तरीय वार्षिक परीक्षा २०७५ को तयारी गरिरहेका छात्राहरुलाई साइकलले समयमा विद्यालय पुग्न र समयमै घर फर्केर विद्यालयको गृह कार्य गर्न सजिलो हुने विश्वास नगरपालिकाले लिएको छ। नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा गरी कक्षा ८ मा १७४ छात्रा अध्ययनरत छन्।

छात्रालाई साइकल उपहार प्रदान गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका प्रत्याशी रामचन्द्र गिरीले नगरभित्रका विद्यालयमा कक्षा ८ मा अध्ययनरत सम्पूर्ण छात्राले साइकल प्राप्त गरेपछि बालिका शिक्षाको गुणस्तरमा केही सुधार हुने विश्वास व्यक्त गरे।

नगरपालिकाले गत वर्ष नगरभित्रका सम्पूर्ण विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल उपहार दिएको थियो। नगरमा जम्मा ३ वटा माध्यमिक विद्यालयमा २१५ जना अध्ययनरत छन्। साइकल पाएपछि विद्यालय र टिउसन आउन जान सजिलो भएको छात्राहरुले बताएका छन्।

 मदन ठाकुरले नागरिकमा खबर लेखेका छन् ।

Comments: