• राहत शिक्षकसँग कुनैपनि सहमति नगर्न विद्यार्थी संगठनको चेतावनी
    (ईपाटी संवाददाता)


  • काठमाडौं । सरकारले आन्दोलनरत राहत तथा इसिडि शिक्षकको माग पुरा गरे  त्यसको विरुद्धमा विद्यार्थी संगठनले आन्दोलन गर्ने भएका छन् ।


    शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्यतः स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अगाडि बढ्न राहत शिक्षकलाई विद्यार्थीसँगठनहरुले अनुरोध गरेको छ ।


    बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले आन्दोलनको दबाबमा शिक्षा क्षेत्रमा हुने कुनैपनि अनुचित प्रकारको सहमति र सम्झौता किमार्थ स्विकार्य नहुने र त्यसको प्रतिरोधमा हामी आफूहरु  अग्रभागमा रहने चेतावनी दिएका हुन् ।


    अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा राहत शिक्षकहरुको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको  निश्कर्ष निकालिएको छ ।


    शिक्षा क्षेत्रमा देखापरेका तमाम विकृति हटाउदै शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्ने र सार्वजनिक शिक्षाको शिर उठाउने प्रावधान सुनिश्चित हुने गरी शिक्षा ऐन आउनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ– 'शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटक–पटक स्वतः स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुखद अरु हुन सक्दैन । आज सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकहरुले खुल्ला प्रतिस्पर्धामा जान डराउन जस्तो लाजमर्दो अरु के हुन सक्छ र ?'