२०७६ असोज २ गते

त्रिविको चौरमै पढाइ

 

काठमाडौँ  । पुसको अन्तिम साता राजधानी काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री छेउछाउ छ । अधिकांश शिक्षण संस्थाहरूले जाडो (मीनपचास) को बिदा गरेका छन् । जाडोले गर्दा धेरैको पढ्ने तालिका खजमजिएको छ ।

यो बेला खुला चौर र पारिलो घाम ताप्दै पढ्ने कल्पना काठमाडौं उपत्यकावासीले सायदै गर्छन् । तर, त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू भने दिनभरि पारिलो घामसँगै पढाइको आनन्द लिइरहेका देखिन्छन् ।

विश्वविद्यालय क्याम्पसले माघ १५ सम्म विद्यार्थीलाई छुट्टी दिए पनि पढ्नैपर्ने बाध्यता पनि छ । अहिले त्रिविको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षा छ । त्रिवि कीर्तिपुर क्षेत्रका विद्यार्थीको पढ्ने काइदा आफ्नै छ । ‘कोठामा बसेर पढदा जाडोले कपाएर हैरान हुन्छ,’ विश्वविद्यालय हाता चौरमा म्याट्रेसओछ्याएर पढ्दै गरेका व्रजेश भट्टले भने, ‘चौरमा आएर घाम नडुबेसम्म आनन्दले पढ्न सकिन्छ ।’ उनको साथमा किताब, नोट, बोटलमा पानी र बिस्कुट थिए । केही पर अन्य साथीहरू गफिँदै थिए ।

पारि भित्तातिर त्यसैगरी जताततै छरिएर पढ्दै गरेका विद्यार्थी देखिन्थे । कतिपय केन्द्रीय पुस्तकालयको जाग्रत हुसेन गार्डेन, सेडालगायतको चौरमा बसेर पढ्दै गरेका भेटिन्छन् । विश्वविद्यालयको हाता ३ हजार ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारको कार्यालय, केन्द्रीय क्याम्पस, केन्द्रीय पुस्तकालय, ३९ वटा विभाग, चार अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालय छन् । त्रिवि सेवा आयोग, क्रिकेट मैदान, आयुर्वेद क्याम्पस, अन्तरिक्ष अध्ययन केन्द्र, ल्याबोरोटरी स्कुल, छात्रावास, प्राध्यापक आवास, त्रिवि छापाखानालगायत कार्यालय छन् । केही भाग खेत, जंगलले ओगटेको छ भने केही खुला बुट्यानले ढाकिएको छ ।

विश्वविद्यालय, क्याम्पसमा पढ्दै गरेका अधिकांश विद्यार्थी कीर्तिपुर क्षेत्रमा बस्छन् । पढ्न चाहनेले पुस्तकालय धाउनु स्वाभाविकै हो । पाठकको वर्गअनुसारका कक्ष छन् । एमफिल र पीएचडी शोधार्थीलाईफ्याकल्टी रुम, शिक्षक कक्ष, थेसिस कक्ष, सन्दर्भ सामग्री कक्ष र पत्रपत्रिका तथा जर्नल कक्ष छन् । पुस्तकालय सहायक डुकहरि निरौलाका अनुसार दैनिक पाँच सयभन्दा बढी पाठक आउने गर्दछन् । ‘तीमध्ये दुई सयले पुस्तक इस्यु गर्छन्, सफाइ लिने पनि सय जना पुग्छन्,’ उनले भने ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: