२०७६ असोज २ गते

शैक्षिक अवस्था सुधार्न जनप्रतिनिधिको चासो

रोल्पा । अघिल्लो शैक्षिक सत्रको कक्षा ८ को वार्षिक परीक्षामा निकै थोरै विद्यार्थी मात्रै उत्तीर्ण भएपछि पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न विशेष कार्यक्रम चलाउने भएको छ । गाउँपालिकाको शिक्षा समितिले शिक्षक र विद्यार्थीबीचको अनुपात मिलाउन तथा शिक्षकलाई व्यावहारिक शिक्षणमा लाग्न आग्रह गरेको छ ।

 कक्षा ८ को परीक्षामा गाउँपालिकाभित्रका २१ विद्यालयमा ६ दशमलव १६ प्रतिशत मात्रै विद्यार्थी उतीर्ण भएपछि शैक्षिक अवस्था दयनीय भएको पत्ता लागेको हो । परीक्षा सञ्चालन गरेका १० विद्यालयले शून्य नतिजा ल्याएका थिए । ‘हाम्रा विद्यालयको शैक्षिक अवस्था निकै कमजोर रहेछ, अब, नसुधारी भएन,’ गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने, ‘नतिजा सार्वजनिक भएपछि म आफैंलाई लाज लागेको छ ।’ उनी आफैंले अध्ययन गरेको गाउँपालिकाकै पुरानो विद्यालय जनजागृतिको नतिजासमेत निकै खराब भएपछि उनी थप चिन्तित भएका हुन् ।

विद्यालयले अघिल्ला केही वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको, शिक्षकले कक्षाकोठाभन्दा राजनीतिक गतिविधिमा बढी चासो राखेको तथा शिक्षक नियमित कक्षाकोठामा प्रवेश नगरेको गुनासोपछि गाउँपालिकाले कक्षा ८ को परीक्षा निष्पक्ष, मर्यादित तथा कडाइका साथ जाँच गराउने प्रणाली थालेको थियो । ‘सबै विद्यालयका उत्तरपुस्तिका ‘क्रस विद्यालय चेक’ प्रणालीमार्फत जाँच्ने व्यवस्था मिलाइएको थियो । यसबाट विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर मापन गर्न सजिलो भएको छ,’ अध्यक्ष वलीले भने । उनका अनुसार शून्य नतिजा ल्याउने विद्यालयलाई माथि उकास्न मुख्य प्राथमिकता दिइने योजना छ ।

कक्षा ८ को परीक्षामा सहभागी भएका विद्यालयमध्ये मावि झुम्लुङ, मावि दहवन, मावि ढोरेनी, मावि बाजबोट, मावि जेलबाङ, मावि ह्याङ, मावि हाङ्जाबाङ, मावि करेटी, मावि द्वारपानी र मावि काउलाबोटले शून्य नतिजा ल्याएका हुन् । अन्य विद्यालय कक्षा ८ मा बढीमा ५ प्रतिशत विद्यार्थी मात्र उतीर्ण गराउन सफल भएका छन् ।

शैक्षिक गुणस्तर निकै खस्केपछि गाउँपालिकाले विद्यालयको अवस्था मापन गर्न गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गर्ने नीति अघि सारेको थियो । अधिकांश विद्यालयले ‘ग्रेस मार्क’ थपेर विद्यार्थी उत्तीर्ण बनाएका छन् । कक्षा ८ मा २१ विद्यालयका ६ सय ८१ विद्यार्थीले परीक्षामा भाग लिएका थिए । विषय नलागी उत्तीर्ण भएका विद्यार्थीको संख्या ४२ छ । ‘ग्रेस मार्क’ थपेर २ सय ९१ विद्यार्थीलाई उत्तीर्ण गराएको स्रोत व्यक्ति रेगम जीसीले बताए । विद्यालयले नम्बर थपेर उत्तीर्ण गराएका विद्यार्थीलाई ‘सहउत्तीर्ण’ भनेर प्रमाणपत्र दिएको छ ।

गाउँपालिका अध्यक्ष वलीका अनुसार शैक्षिक स्तर मापन गर्ने उद्देश्यले पहिलोपटक कक्षा ८ को वार्षिक परीक्षालाई गाउँपालिकास्तरीय बनाइएको थियो । शिक्षा समितिमार्फत एउटै प्रश्नपत्र निर्माण गरिएको थियो । ‘यस्तो प्रकारको नतिजा आउँछ भन्ने लागेको थिएन,’ उनले भने, ‘तर कल्पना नगरेकै नतिजा आयो । हाम्रो शैक्षिक गुणस्तर वास्तवमै कमजोर रहेछ ।’ उनले जिल्लाभरको अवस्था सुधार्न लागिपर्नु पर्ने बताए ।

विगतमा राम्रै नतिजा ल्याउने जनजागृति मावि जुगार, अरनिको मावि नुवागाउँ, वीरेन्द्र मावि गाङलगायतले पनि कमजोर नतिजा ल्याए । अरनिकोले ५० विद्यार्थीमा ३, जनजागृतिले ४० मा ३, मावि दुम्लाले ५४ मा ३, वीरेन्द्रले ४५ मा ३ र मावि सिम्पानीले ८१ मा ५ विद्यार्थी मात्रै उत्तीर्ण गराए । बुढागाउँमा रहेको मावि लिङुङले ६० मा ७ विद्यार्थी उतीर्ण गराएर अग्रस्थान हासिल गरेको छ । कक्षा ८ मा परीक्षा दिएका ६ सय ८१ विद्यार्थीमध्ये उत्तीर्ण ६ प्रतिशत, सहउत्तीर्ण (अंक थपेर) ४२ प्रतिशत छन् । औसत उत्तीर्ण विद्यार्थी संख्या ४८ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ ।


नेर्पास्थित जनजागृति माविको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकासँग सहकार्य गर्ने योजना रहेको प्रधानाध्यापक खिमप्रकाश पुरीले बताए । शैक्षिक अवस्था बर्सेनि कमजोर हुँदै गएको स्वीकार गर्दै प्रअ पुरीले अभिभावक, शिक्षक र विद्यार्थीबीच असल सम्बन्ध हुनु आवश्यक भएको बताए । यो विद्यालय यसअघि जिल्लामै उत्कृष्टमध्येमा पथ्र्यो । उनले अब आफ्नो कमजोरी सच्याउने प्रतिबद्धतासमेत जनाए ।

नगरपालिकाभित्र पनि उस्तै
कक्षा ८ को वार्षिक परीक्षालाई आधार मान्ने हो भने सदरमुकामभित्रै पर्ने रोल्पा नगरपालिकाभित्रका विद्यालयको शैक्षिक अवस्थासमेत कमजोर देखिएको छ । नगरले पनि नगरस्तरीय परीक्षा सञ्चालन गरेर शैक्षिक मापन गरेको जनाएको छ । नगर प्रमुख पूर्ण केसीले शैक्षिक अवस्था सुधार्न आउँदो वर्षदेखि शिक्षामा लगानीसमेत बढाउनुपर्ने बताए ।

नगरपालिकाभित्रका २४ विद्यालयले कक्षा ८ को परीक्षा सञ्चालन गरेका थिए । तीनवटा निजी विद्यालय रहेको नगरपालिकाले सबै प्रश्नपत्र एकै स्थानमा संकलन गरेर जाँच्ने व्यवस्था मिलाएको थियो । हरेक विद्यार्थीलाई ७० अंक ‘ग्रेस अंक’ का रूपमा थपेर विद्यार्थीलाई उत्तीर्ण गराइएको नगर शिक्षा समितिका सदस्य सचिव राजेश धितालले बताए । उनका अनुसार नगरको शैक्षिक अवस्था विगतको तुलनामा कमजोर बन्दै गएको हो ।

नगरभित्रका २४ विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा भाग लिएका सबै ७ सय ४७ विद्यार्थीमध्ये उत्तीर्णको सख्या ५ सय ३९ अर्थात् ७२ प्रतिशत छ । स्रोतव्यक्ति धितालले कमजोर विद्यार्थीलाई उत्तीर्ण गराउन परीक्षा प्रणाली ‘फेयर’ र ‘केयर’ अपनाइएको बताए । अन्य स्थानीय तहलेसमेत सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा दयनीय छ ।

जिल्लाका उत्तरी, पूर्वी एवं पश्चिमी क्षेत्रमा रहेका विद्यालयको शैक्षिक अवस्था झन् कमजोर देखिएको छ । ती स्थानीय तहले शैक्षिक अवस्था सुधार्न बजेट विनियोजन गरिएको जनाएका छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: