२०७६ कार्त्तिक २९ गते

सिटिइभिटि प्रति शिक्षामन्त्रीको गुनासो – नाम अनुसार काम भएन

ईपाटी संवाददाता/काठमाडौं



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटि) को काम प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।


उनले सिटिइभिटिले नाम अनुसार काम नगरेको भन्दै  परिचय बदल्नेगरी काम गर्न सिटिइभिटिका सहसचिवहरुलाई निर्देशन दिएका छन् । सिटिइभिटि प्रतिको आमजनताको धारणा बदल्नेगरी काम गर्नुपर्ने बताउदैं पोखरेलले बिग्रेको छविलाई सुधार्न निर्देशन दिए ।


मन्त्री पोखरेलले भने– 'सिटिइभिटीका कर्मचारीहरु सेवा निवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिईभिटि अन्र्तगतका प्राईभेट संस्थाहरुको मालिक बन्ने आम जनताको आरोप छ । तपाईंहरु सार्वजनिक ठाँउमा सिटिइभिटिको कर्मचारी हुँ भनेर परिचय दिदा ह्रदयदेखि नै गर्व हुने वातावरण छ त ?'


यो ६ महिनाको बीचमा सिटिइभिटिले गरेका कामको नतिजा र प्रगति पनि चाहियो– मन्त्री पोखरेलले भने, अब कुरामा होइन नतिजामा काम देखिनुप¥यो ।
सिटिइभिटिले गरिरहेको कामको गति बढाउन र नतिजा आउनेगरी काम गर्न मन्त्री पोखरेलले निर्देशन दिए । २०४६ सालको परिवर्तन पछि शिक्षामा नीजिकरण प्रवेश गरेको बताउँदैं उनले यसको प्रभाव सिटिइभिटिमा पनि परेको उनको भनाइ थियो ।


'लामो समयदेखि सयौं फाईलहरु हुँदा–हुँदै पनि हामीले ९५ वटा सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय गरेका छौं, मेरो यो निर्णयको स्पिड र मर्म बुझ्न अनुरोध गर्छु ।' मन्त्री पोखरेलले भने– 'मन्त्रीको भुमिकाबाट बाहिरिदैं गर्दा मेरा नाममा कुनैं निजी कलेजको सेयर हुनेछैन । संस्थागत पारदर्शी ढंगबाट सम्पुर्ण कामहरु सम्पादन गर्नुहोस ।'


'सिटिइभिटिमा ९ सय ३२ जना कर्मचारीहरु छन् । त्यसमध्ये सय भन्दा धेरै उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । ति जनशक्ति कसरी सदुपयोग गरिएको छ ?' मन्त्री पोखरेलले प्रश्न गरे– 'उनीहरुले के योगदान दिइरहेका छन् ? वस्तुनिष्ठ समिक्षा गर्दै उचित जिम्मेवारी दिन आवश्यक छ । संस्थालाई ठिक ढंगले सञ्चालन गर्न योग्य मान्छेलाई उचित जिम्मेवारी दिनुपर्छ ।' 


अब हरेक महिनाको दुई पटक सिटिइभिटिमा नै सहसचिव स्तरको बैंठक नियमित बस्ने बैंठकले निर्णय पनि गरेको छ । आफ्नो योजना र गतिलाई बुझिदिन आग्रह गर्दै मन्त्री पोखरेलले सहसचिवहरुलाई तथ्यको आधारमा सही रिर्पोटिङ गर्न र सोही अनुसार काम गर्न निर्देशन दिएका थिए ।

Comments: