२०७६ भदौ ३ गते

सिएमा बढ्दो आकर्षण

काठमाडौँ । पोखराका उज्ज्वल बास्तोला सिए (चार्टर्ड एकाउन्टेन्सी) अध्ययनको तयारीमा छन्। गत साता प्लसटुको परीक्षा सकेका बास्तोला सिए अध्ययनबारे बुझ्न काठमाडौं आएका हुन्। इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)को आयोजनामा थापाथलीस्थित टे्रड टावरमा भइरहेको 'आइक्यान सिए करिअर एक्सपो २०१६'मा भेटिएका बास्तोलाले भने, 'सिएको भविष्य राम्रो छ भनेर पढ्ने भने पनि विस्तृत जानकारी थिएन,' उनले भने, 'एक्सपोमा सिए अध्ययनबारे विस्तृत जानकारी पाउन सजिलो भयो।'

बास्तोलासँगै रहेका विपिन भुजेल पनि एक्सपोकै लागि पोखराबाट आएका हुन। भुजेलका अनुसार एक्सपोले सिए अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई धेरै जानकारी दियो। 'हामी दुवै पोखराबाट आएका हौं। हामी नेपाल बोर्ड कि इन्डियन बोर्ड पढ्ने भनेर अलमल्ल परेका थियौं,' उनले भने, 'काउन्सेलिङपछि अन्योल हटेको छ। अझै विस्तृतमा बुझ्न भोलि आउने तयारीमा छौं।'

बास्तोला र भुजेलजस्ता विद्यार्थी मात्र होइन अभिभावक आफैं पनि एक्सपोमा आएका थिए। राजधानी, गोंगबुका सुरेन्द्र केसीले छोराका लागि सिएबारे बुझ्न आएको बताए। 'छोरो सिए पढ्छु भन्छ। मलाई पनि सिए पढाउँदा ठिकै होला जस्तो लागेको छ,' केसीले भने, 'सबै जानकारी बटुल्न एक्सपोमा आएको हुँ।' उनले एक्सपोमा आइक्यान, सिए पढिरहेका विद्यार्थी, सिए र सिए पढाउने संस्थाबारे जानकारी लिएको बताए।

एक्सपोमा आइक्यान बाहेक पाँचवटा सिए पढाउने इन्स्टिच्युटको सहभागीता छ। धेरै विद्यार्थी नेपाली बोर्ड पढ्ने की भारतीय बोर्ड पढ्ने अन्योलमा रहेको चैतन्य इन्स्टिच्युटका कन्सल्ट्यान्ट रविन्द्र शाहीले बताए। उनले भने, ुनेपाली विद्यार्थी विशेषगरी नेपाली र भारतीय बोर्डअन्तर्गत सिए अध्ययन गर्छन्। अधिकांश विद्यार्थी कुन बोर्डअन्तर्गत अध्ययन गर्नु ठिक भन्नेमा अन्योलग्रस्त रहेको पाइयो।'

सिए अध्ययनमा इच्छुक विद्यार्थी अध्ययन गर्न सक्ने नसक्नेमा पनि उत्तिकै अनभिज्ञ छन्। तर एक्सपोमा रहेका सिए तथा सिए अध्ययनरत विद्यार्थीसँग छलफल गरेपछि भने सिए अध्ययन गाह्रो नहुने अनुमान गरेका छन्। 'सिए पढ्न अलि गाह्रै हुन्छ भन्ने सुनेको थिएँ। तर सिए र अध्ययनरतसँग कुरा गरेपछि मेहनत गरे सिए पढ्न सकिन्छ भन्ने लागेको छ,' रामेछापका अभिमन्यु बुढाथोकीले भने, 'एक्सपोमा बुझेपछि पढ्ने निश्चित गरेँ।' गत वर्ष इन्जिनियरिङ प्रवेश परीक्षामा अनुर्त्तीण भएपछि बुढाथोकीले सिए अध्ययनको सोच बनाएका हुन् । 'सिएमा जागिर निश्चित छ। नाम र दाम दुवै हुने भएकाले सिए पढ्ने तयारीमा लागेको हुँ।'

क्यानले पनि विद्यार्थीमा रहेको भ्रम चिर्न र विद्यार्थी उत्प्रेरित गर्न युवा मोटिभेटर सनक भट्टराईको दुईघन्टे कार्यक्रम राखेको थियो। उक्त मोटिभेसन कार्यक्रमले पनि विद्यार्थीमा ऊर्जा थपेको आयोजकले अनुमान गरेको छ।

सिएमा क्याप वन, क्याप टु र क्याप थ्रि गरी साढे चार वर्ष अध्ययन गर्नुपर्छ। सिए उर्त्तीण विद्यार्थीका लागि नोकरीका पर्याप्त अवसर हुन्छन्। सिए अध्ययन गर्न नेपालमा करिब चार लाख खर्च लाग्छ। 'सिएको आकर्षण बढ्दो छ। आज पनि झण्डै तीन सय विद्यार्थी आए,' आइक्यानका प्रतिनिधि माधवनारायण कक्षपतिले भने, 'भोलि अन्तिम समयसम्म हजार हाराहारीमा विद्यार्थीले एक्सपो भिजिट गर्ने अनुमान गरेका छौं।' शनिबार सुरु एक्सपो आइतबार बेलुकी ६ बजेसम्म चल्नेछ । नागरिकमा खवर छ ।

Comments: