२०७६ भदौ ३० गते

बालुवाटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट

अन्तैबाट


सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आठौँ साधारणसभा (सिनेट) काठमाडौंमा बसेको छ । आइतबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्रीनिवास बालुवाटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट बसेको हो ।

स्थापनादेखि सम्पर्क कार्यालय काठमाडौं राखेर सिनेट आयोजना गर्दै आएको विश्वविद्यालयले विद्यार्थी र अभिभावकले विरोध गर्न थालेपछि गत वर्ष सुर्खेतमै गरेको थियो । यस वर्ष झन् प्रधानमन्त्रीनिवास बालुवाटारमै सिनेट आयोजना गरिएको छ । कुलपति एवं प्रधानमन्त्री ओलीको व्यस्तताका कारण बालुवाटारमै सिनेट आयोजना गर्नुपरेको विश्वविद्यालयले जनाएको छ । ‘प्रधानमन्त्रीज्यूको व्यस्तताका कारण सुर्खेतमा गर्न नसकिएको हो,’ विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले भने ।

एक अर्ब १६ करोड बजेट
बालुवाटारमा बसेको सिनेटले चालू आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ६५ लाख ५१ हजार तीन सय ३९ रुपैयाँको बजेट पारित गरेको छ । जसमा पुँजीगततर्फ ४९ करोड ३४ लाख र सञ्चालनतर्फ ६४ करोड ८१ लाख ५१ हजार तीन सय ३९ रुपैयाँ रहेको सूचना अधिकारी केसीले बताए । सिनेटले विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीको तेस्रो संशोधनसमेत गरेको छ । त्यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वायत्तता नियमावली–२०७५ पनि पारित गरेको उनले बताए ।

खगेन्द्र भट्टराईले नयाँपत्रिकामा खबर लेखेका छन् ।

Comments: