• विद्यालयमा पानी बोक्न कर्मचारी
    (अन्तैबाट)

  • पाँचथर  । विद्यार्थीलाई पिउने पानीको समस्या भएपछि तुम्बेवा गाउँपालिकामा रहेको सरस्वती आधारभूत विद्यालयले पानी ल्याउन एक जना कर्मचारी नियुक्त गरेको छ ।

    विद्यालयमा दैनिक तीन गाग्री पानी बोकेर ल्याउने शर्तमा स्थानीय चन्द्रकुमारी तामाङलाई मासिक ३ हजार तलब दिने गरी नियुक्त गरेको हो ।

    कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा पानी बोक्ने कर्मचारीलाई तलब खुवाउन अभिभावकले चन्दा संकलन गरी १ लाख रूपैयाको अक्षयकोष स्थापना गरिदिएका छन् । सोही कोषमा राखिएको पैसाबाट पानी बोकेर ल्याउने कर्मचारीलाई तलब दिनेगरिएको प्रधानाध्यापक तिलक दाहालले बताए ।

    व्याजले मात्र कर्मचारीलाई तलब खुवाउन नपुग्ने भएकाले कुनै महिना ऋण खोजेर पनि पानी बोकेर विद्यार्थीलाई खुवाउने कर्मचारीलाई तलब दिने गरिएको दाहालले बताए । पिउने पानी अभावमा विद्यार्थी र शिक्षकलाई समस्या भएकाले यसो गरिएको जनाइएको छ । केही वर्ष अघिसम्म विद्यालय परिसरमै केही टाढा रहेको रजया खोलाको पानी आउथ्यो ।

    तीन वर्षयता सोही मुहानमा पानी सुकेपछि विद्यार्थी र शिक्षक समेतलाई पिउने पानीको समस्या भएको प्रअ दाहालको भनाइ छ । पानीको मुहान नै सुकेपछि विद्यालय आसपासका बस्तीमा पनि अहिले पानी छैन ।

    विद्यालयमा आउने पानीको मुहान सुकेको र अन्यन्त्रबाट ल्याउन अर्को पानी मुहान समेत नभएकाले पानीको ठूलो समस्या भएको विद्यालयले जनाएको छ । पानीको अभाव भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार नै गत वर्षदेखि पानी बोक्ने कर्मचारी नियुक्ति गरिएको प्रअ दाहालले बताए ।

    विद्यालयले पानी बोक्न नियुक्त गरिएकी कर्मचारी चन्द्रकुमारीलाई टाढा रहेको तीनधारे खोला र घिसिङ गाउँको सुक्न लागेको धाराबाट एक गाग्री पानी ल्याउन ३ घण्टा समय लाग्ने गरेको छ । विद्यालयबाट पानी लिन जाँदा ४५ मिनेट ओरालो झर्नुपर्छ ।

    पानी भरेर उकालो आउँदा २ घण्टा समय लाग्ने गरेको उनले बताइन् । पानी भर्न पालोमा बस्नुपर्ने भएकाले कुनै दिन त थप समय लाग्ने गरेको उनको भनाइ छ । बोकेर भए पनि विद्यालयमा पिउने पानीको व्यवस्था गरिएपछि पठनपाठनमा केही सहज भएको विद्यालयले जनाएको छ ।

    समय र खर्च गरेर टाढादेखि बोकेर ल्याएको पानी विद्यार्थीलाई एकदमै फारू गरेर पिउन दिने गरिएको छ । विद्यालयमा अध्ययनका लागि आएका विद्यार्थी पिउने पानी नपाएपछि पानी खोज्दै तल रहेको तीनधारे खोलासम्म पुग्ने गरेका थिए । तिर्खा लागेर विद्यालय नजिक रहेका गाउँका घरमा पानी माग्न जाँदा समेत नदिने गरेको कक्षा ४ मा अध्ययनरत सुनिल तामाङले बताए ।

    पानी खोज्दै टाढा पुग्नु पर्दा कक्षा कोठाको पढाइ र हाजिरी समेत छुट्ने गरेको र शिक्षकले समेत पढाइ छुटाएको भन्दै पिट्ने गरेको उनले पीडा सुनाए । विद्यालयमा पिउने पानीको समस्या समाधानका लागि सम्बन्धित वडा, गाउँपालिका र जिल्ला समन्वय समिति समक्ष माग गरेको तर कुनै सुनुवाइ नभएको विद्यालयको भनाइ छ । वडाध्यक्ष मोतिराज तामाङले सरस्वती आधारभूत विद्यालय जस्तै वडामा रहेका गर्भवती आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा पनि पिउने पानीको चरम समस्या रहेको बताए ।

    विद्यालयमा अहिले १ सय ७८ विद्यार्थी अध्ययनरत छन् । सवै विद्यार्थीलाई एक जनाले दैनिक बोकेको तीन गाग्री पानीले पिउन नपुग्ने गरेको विद्यालयले जनाएको छ । पानी बोक्न राखेको कर्मचारीलाई दिनमा तीन गाग्री पानी ल्याउदा रात पर्ने गरेको छ । योभन्दा बढी पानी बोकेर ल्याउन नसक्ने अवस्था रहेको स्थानीय सुदिप सम्बाहाम्फले बताए । बेंसीको यो विद्यालयमा पिउने पानी समेत नपाएपछि विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेको विद्यालयले जनाएको छ ।

    कान्तिपुरमा खबर छ  ।