२०७६ असोज १ गते

संसारका आधाभन्दा धेरै शरणार्थी बालबालिका शिक्षाबाट वञ्चित

अन्तैबाट

काठमाडौं । विश्वभर रहेका ७० लाखभन्दा धेरै शरणार्थी बालबालिकामध्ये आधा भन्दा धेरैले अझै शिक्षा नपाएको तथ्यांक सार्वजनिक भएको छ ।

३० लाख ७० हजार शरणार्थी बालबालिका शिक्षाबाट वञ्चित भएका हुन् । शरणार्थी बालबालिकाको शिक्षामा संयुक्त राष्ट्रसंघले ठूलो रकम लगानी गरे पनि बालबालिकाको दुखद् अवस्था देखिएको हो ।

स्कुल अभाव, कक्षा कोठा अभाव जस्ता समस्याका कारण उनीहरु शिक्षाबाट वञ्चित हुनु परेको बताइएको छ । यसरी शिक्षाबाट वञ्चित हुनेमा ५ देखि १८ वर्ष उमेर समूहका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा यस्तो तथ्यांक भेटिएको हो । स्कुल छोड्ने बालबालिकामध्ये धेरै चाहीँ माध्यमिक तहका छन् ।

विश्वव्यापी शिक्षाका लगि संयुक्त राष्ट्रसंघका प्रतिनिधि गोर्डोन ब्राउनले गार्जियनसँग दातृ निकायले यस्तो ‘मानवीय संकट’लाई तत्कालै सम्बोधन गर्नुपर्ने बताएका छन् ।

साथै यूएनको आउँदो महिना हुने महाधिवेशनमा दातृ मुलुकले अतिरिक्त रकम लगानी गर्नुपर्ने उनको भनाइ छ । विश्वभर जम्मा ६३ प्रतिशत शरणार्थी बालबालिका प्राथमिक तहमा भर्ना हुने गरेको बताइन्छ । जब कि, गैरशरणार्थी बालबालिकाको दर ९१ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।

अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: