२०७६ कार्त्तिक ३ गते

गर्मीले स्कुल बन्द

अन्तैबाट

चितवन । ह्वात्तै गर्मी बढेसँगै मध्य तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। गर्मीले दिउँसो सर्वसाधारण हिँडडुल गर्न सकेका छैनन्। बजारी क्षेत्रमा चहलपहल घटेको छ ।

धेरै गर्मी भएपछि भरतपुर महानगरपालिकाले ३ दिनका लागि सबै स्कुल बन्द गरेको छ। चर्को गर्मीसँगै विद्यार्थी बिरामी हुन थालेपछि महानगरभित्रका निजी तथा सामुदायिक स्कुल सोमबारदेखि ३ दिन बन्द गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत बाबुराम दवाडीले बताए। चितवनको तापक्रम आइतबार ३८ डिग्री पुगेको छ।

गर्मी बढेपछि अभिभावकले बालबालिका स्कुल पठाउन असहज भएको गुनासो गरेका थिए। बर्खे बिदामा मिलाउने गरी अहिले बिदा दिइएको हो। गर्मी बढेसँगै बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी बन्द गरिएको दवाडीले बताए। ‘विद्यार्थी बिरामी हुन थालेपछि छलफलबाट बिदा गरेका हौ’, उनले भने, ‘त्यसपछि पनि यस्तै गर्मी भए बिदा थपिने छ।’ भरतपुरका २ सय २० स्कुलमा ८२ हजार विद्यार्थी पढ्छन्।

अत्यधिक गर्मी हुन थालेपछि भरतपुर अस्पतालमा बिरामीको चापसमेत बढेको चिकित्सकले बताएका छन्। भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.युवानिधि बसौलाले बिरामी बालबालिका भर्ना हुने क्रम बढेको बताए। ‘अस्पतालमा आउने बिरामीमध्ये बालबालिका बढी छन्’, उनले भने, ‘उच्च ज्वरो, खोकी, रुघा, खटिरा देखिन थालेका छन्।’

अनिल ढकालले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: