२०७६ भदौ ५ गते

विद्यार्थी बेहोस हुनथाले पछि विद्यालय बन्द

महेश न्यौपाने/रोल्पा


रोल्पा नगरपालिका २ को एक विद्यालयका विद्यार्थी बेहोस हुने क्रम बढ्न थालेपछि केही दिनका लागि विद्यालयको पठनपाठन नै बन्द गरिएको छ । सदरमुकाम लिवाङमा रहेको पिताराज आधारभूत विद्यालय रेउघाका विद्यार्थी विद्यालय समयमा काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि विद्यालय नै बन्द  गरिएको हो ।


विगत एक महिना यतादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिन थालेको विद्यालयले जनाएको छ । शुरुमा कक्षा ७ का छात्राहरुमा यो समस्या देखियो– विद्यालयका प्रधानाध्यापक लिला आचार्यले भनिन्, पछि दैनिक ५÷६ जना विरामी पर्न थाले पछि सामान्य तनाव व्यवस्थापनको कक्षा सञ्चालन पनि गरियो तर समस्या हल भएन ।


समस्या हल हुनुको साटो वृद्धी भई दैनिक १५/२० जना विरामी पर्न थाले संगै विद्यालय वन्द गर्न वाध्य भएका हौ प्रधानाध्यापक  आचार्यले बताइन् ।
विरामीका अभिभावक तथा अन्य अभिभावकले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले माघ २२ देखि २५ गते सम्म विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।


 'केही अभिभावकले धामी झाक्रीकोमा देखाउन लैजान्छौ भन्नु भएको छ'–  प्रधानाध्यापक आचार्यले भनिन्  'विद्यालय खुले लगत्तै मनोसमाजिक विमर्श सम्वन्धी कक्षा सञ्चालन गर्ने सोच बनाएका छौं ।'


तनावका कारण विद्यार्थीमा  यस्तो समस्या देखिने गरेको बताइन्छ । 'घर वा विद्यालयमा हुने तनावले एक विद्यार्थीवाट सिर्जित यस्तो समस्या धेरै जनामा सर्ने गर्दछ'– जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलवहादुर डाँगीले भने । 'सुरुमा लक्षण देखिने वित्तीकै विरामीलाई छुट्टै राख्ने व्यवस्था गर्न सके अरुमा सर्दैन ।'  धेरै मानिसको  जमघट हुने स्थानमा यस्तो समस्या देखिने डाँगीले बताए ।


जिल्लाका अन्य विद्यालयमा पनि यस्तो समस्या देखिने गरेको बताइन्छ । जिल्ला सदरमुकाममा रहेको वालकल्याण नमूना माविमा आवासीय छात्राहरुलाई समेत केही दिन अघि यस्तो समस्या देखिए पछि विद्यालयले तनाव व्यवस्थापनको कक्षा सञ्चालन गरेको थियो ।


उक्त कक्षा सञ्चालन पश्चात भने विद्यार्थीहरुमा सो समस्या नदोहोरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीले जानकारी दिए । जिल्लाका मावि वामरुक, मावि खुमेल, आधारभूत विद्यालय खुंग्री र आधारभूत विद्यालय ओतमा समेत यस्तो समस्या देखिएको बताइएको छ ।

Comments: