२०७६ कार्त्तिक २६ गते

सामुदायिक स्कुलको बिजोग

धनुषा । कन्कपट्टीका ६० वर्षीय मनिर अन्सारीले दुबै छोरालाई आफैं स्कुलसम्म पुर्‍याइदिए । जनकपुर–१७ स्थित सरस्वती स्कुलमा पढ्ने उनका दुबै छोरा अख्तर र असरत स्कुलबाट तुरुन्तै घर फर्किएको देखेपछि उनी रिसाए । पढाइ छोडेर किन आएको भन्दै अन्सारीले दुबै छोरालाई लिएर फेरि स्कुल पुगे । पढाइ नै छोडेर घर फर्किएका छोरालाई फेरि स्कुल पुर्‍याउँदा अन्सारी अचम्म परे । उनका छोरा पढ्ने कक्षा २ को कोठा पूरै खाली थियो । कक्षाकोठामा एकजना पनि विद्यार्थी नहुँदा अन्सारीले पनि दुबै छोरालाई घर लिएर आए ।


विद्यार्थी कम आउने र शिक्षकले पनि चासो नदेखाउँदा अध्ययनका लागि विद्यालय पुगेका विद्यार्थी पनि घर फर्किनुपर्ने बाध्यतामा छन् । सरस्वतीस्कुलको कक्षा २ र ३ का विद्यार्थी धेरै दिन पढाइ नहुँदा स्कुल पुगेर पनि घर फर्किन बाध्य छन् । विद्यालयको कक्षा ४ मा शिक्षक नहुँदा विद्यार्थी स्कुलमै खेलेर बसिरहेका थिए ।


७५ जना विद्यार्थी रहेको कक्षा १० मा ३ जना विद्यार्थीलाई शिक्षक श्यामसुन्दर यादव समाजिक विषय पढाउँदै थिए । ५० जना विद्यार्थी भएको कक्षा ५ मा ३ जना विद्यार्थीलाई शिक्षक रामचन्द्र मण्डल पढाउँदै थिए । कक्षामा १ मा ६ जना विद्यार्थी पढाइरहेकी थिइन्, शिक्षिका बविता यादव । शिक्षक विद्यालय नै नआउँदा कक्षा ४ का विद्यार्थी पढ्न पाएनन् ।


शिक्षक रामविलास साहका अनुसार विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थीका लागि १४ जना शिक्षक कार्यरत छन् । तर, विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या ज्यादै न्यून छ । बाल विकास कक्षाकोठा नै नभएको यो विद्यालयमा २ जना बाल विकास शिक्षिका कार्यरत छन् । विद्यालयको कक्षाकोठामा विद्यार्थीहरू पढ्ने समयमा खेलिरहँदा शिक्षकहरू कार्यालयमा बसेर गफिन्छन् । जनकपुर उप–महानगरपालिका–४ स्थित राजर्षि जनक बाल राष्ट्रिय प्रावि झुलाघरमा पनि २५ जना मात्र विद्यार्थी पढ्ने समयमा खेल्नमै व्यस्त देखिए । विद्यालयमा १३ जना शिक्षकमध्ये १ जना अनुपस्थित १२ जनामध्ये ३ जना हाजरी गरेर फर्के । विद्यालयमा उपस्थित कक्षा कोठामा पढाउनुभन्दा गफमै बढी समय खर्च गर्छन् ।


विद्यालयमा पढाइ नभएको गुनासो पाएपछि वडाअध्यक्ष सुदर्शन सिंह अनुगमनमा पुग्दा गफ गरेर बसिरहेका शिक्षकहरू हतारहतार कक्षाकोठामा पुगेका थिए । कक्षा ५ सम्मको विद्यालयमा १३ जना शिक्षक छन । तर विद्यार्थी २५ जना मात्र पढ्न आएको गुनासोपछि अनुगमनमा पुगेका वडाअध्यक्ष सिंहले भने, ‘विद्यालयमा एक सय विद्यार्थी भएको तथ्यांक छ । तर त्यति विद्यार्थी पढ्न आउँदैनन् ।’ पढाउन नआउने, आए पनि गफ गरेर बस्ने शिक्षकलाई कारबाहीका लागि सिफारिस गर्ने उनले बताए ।


जनकपुर उप–महानगरपालिकामा १७ माध्यमिक र ३० अधारभुत गरी ४७ सामुदायिक विद्यालय छन् । विद्यालयमा शिक्षक पर्याप्त छन् । तर, पढाइ राम्रो छैन । शिक्षक भएको विद्यालयमा विधार्थी छैन । विद्यार्थी र शिक्षक भएको विद्यालयमा भौतिक संरचना अभावले पढाइ प्रभावित भएको छ ।
प्रदेश २ को ८ जिल्लाकै सामुदायिक विद्यालय यस्तै वेथितिको शिकार बनेको छ । ‘सामुदायिक विद्यालयका शिक्षक इमानदार भएर अध्यापन गराएको देखिँदैन,’ आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘विद्यालयमा अनुदान र लगानी बढे पनि शैक्षिक अवस्था सुधार आउन सकेको छैन ।’
शिक्षा नीतिसंगै शिक्षकको नियतमा सुधार हुन आवश्यक रहेको उनले बताए । ‘पहाड र हिमालको विद्यालय चलाउने मधेसका शिक्षक थिए,’ मन्त्री यादवले भने, ‘ज्ञानको उर्वर भूमि मधेस कुशल शिक्षक नपाउँदा शैक्षिक अवस्था भद्रगोल छ ।’


मुलुक संघीयता कार्यान्वयन भएपछि प्रदेश २ को शिक्षा बहसमा जुटेका शिक्षाविद डा. विद्यानाथ कोइराला सरकारी विद्यालय धराशायी हुनुको दोष शिक्षकलाई दिन्छन् । मधेसमा बिग्रिएको शिक्षाको अवस्थामा सुधार ल्याउन स्थानीय तहले शिक्षा नियमावली बनाउनुपर्ने कोइराला बताउँछन् । विषयगत शिक्षक, दरबन्दी मिलान, विद्यालय व्यवस्थापन समितिको गठन गरी स्थानीय भाषाको प्रयोग गरेर शिक्षा प्रणाली परिवर्तन गर्न सकिने उनको तर्क छ ।
विद्यार्थीले किन शिक्षक रुचाएनन् कारण पत्ता लागउन जरुरी रहेको बताउँदै शिक्षविज्ञ कोइरालाले प्रविधिमैत्री शिक्षामा विद्यालयलाई परिमार्जनगर्नुपर्ने सुझाव दिए । घोकन्ते परिपाटीलाई अन्त्य गर्दै सोचन्ते संस्कारको शिक्षानीति ल्याउनु आवश्यक रहेको उनले बताए ।


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा प्रणाली नै कमजोर रहेकाले त्यसलाई बलियो र व्यक्तित्वको विकासमा मद्दत हुने खालको नयाँ शिक्षा नीति ल्याउनुपर्ने बताए । राउतले परम्परागत शिक्षाले मुलुकको विकास र विद्यार्थी भविष्य निर्धारण सम्भव नरहेको उल्लेख गर्दै उत्पादनमुलक शिक्षामा जोड दिए ।

सन्तोष सिंहले कान्तिपुरमा लेखेका छन् ।

Comments: