२०७६ कार्त्तिक १ गते

एक वर्ष भित्र जिल्लाको समग्र शैक्षिक अवस्थामा देखिने गरी सुधार गर्छौ

 

विष्णु प्रसाद मिश्र
जिल्ला शिक्षा अधिकारी
बाग्लुङ



तपाईको जिल्लाको समग्र शैक्षिक अवस्था कस्तो छ ?
सङ्ख्यात्मक हिसाबले बाग्लुङ जिल्लामा जम्मा ५८८ ओटा विद्यालय, ११ ओटा क्याम्पस, ४५३ ओटा बाल विकास केन्द्र, ३ ओटा मदरसा, २६ ओटा सामुदायिक अध्ययन केन्द्र, ३ ओटा वेद विद्याश्रम र २ ओटा प्राविधिक विद्यालय रहेका छन् । विद्यालयहरु मध्ये प्राथमिक कक्षा सञ्चालन हुने विद्यालय ३६७ ओटा, निम्न माध्यमिक विद्यालय ८७ ओटा, माध्यमिक विद्यालय ७० ओटा र उच्च माध्यमिक विद्यालयको सङ्ख्या ६४ रहेको छ ।
यस जिल्लाको विद्यार्थीको खुद भर्ना दर ९८ प्रतिशत रहेको र अझै पनि झण्डै २ प्रतिशत बालबालिकाहरुले विद्यालयको सेवा प्राप्त गर्न नसकेको अवस्था छ ।


 शैक्षिक उपलब्धीहरुको अवस्था नि ?
यस जिल्लाको शैक्षिक उपलव्धि पनि मुलुकभरकै दाँजोमा औषत नै रहेको छ । हामी सुधारको लागि प्रयासरत नै छौँ । प्राथमिक र माध्यमिक तहको दाँजोमा निम्न माध्यमिक तहको सिकाइ उपलव्धी राम्रो नै छ । प्राथमिक तह र माध्यमिक तहमा अझै सिकाइ उपलव्धी ५० प्रतिशत पु¥याउन सकिएको अवस्था छैन् । जिल्लामा  प्राथमिक तहमा ४३.८१ प्रतिशत, निम्न माध्यमिक तहमा ५३.१२ प्रतिशत र माध्यमिक तहमा ४४.९८ प्रतिशत सिकाइ उपलव्धी रहेको छ ।  


 जिल्लाको शिक्षाका  प्रमुख चुनौतीहरु केलाई मान्नुहुन्छ ?
अन्य जिल्लाहरुका समस्या भन्दा बाग्लुङ जिल्लाको समस्या पृथक रहेको छैन । सदरमुकाम केन्द्रित शिक्षक वितरण, भौगोलिक विकटता, शिक्षक एवम् विद्यार्थीको नियमितता, शुसाशन, पारदर्शिता र सबै विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालयमा ल्याउनु वाग्लुङ जिल्लाको शैक्षिक समस्याका रुपमा रहेका छन् भने यस जिल्लाको शैक्षिक क्षेत्र चुनौति मुक्त पनि छैन । शिक्षा क्षेत्रसँग टाँसिएर विभिन्न चुनौतिहरु रहेका छन् उदाहरणका लागि न्यून सिकाइ उपलव्धि, गुणस्तरीय शिक्षण सिकाइ वातावरणको निर्माण, शिक्षकको पेशागत दक्षता विकास र ऐन नियमको अक्षरसः पालना जस्ता पक्षहरु चुनौतिका रुपमा रहेका छन् । त्यसै गरी भौगोलिक विकटताका कारण सबै बालबालिकाहरुको विद्यालय शिक्षामा पहुँच पुग्न सकेको छैन ।


सदरमुकाम जिल्लाको छेउमा अवस्थित भएको र सदरमुकामबाट १७५ किलोमिटर टाढा पनि विद्यालयहरु रहेको अवस्थामा भौतिक निर्माणका लागि तय गरिएको मापदण्ड सबै स्थानका लागि एकै प्रकारको भएकोले भौतिक निर्माणमा केही असहजता छ । भौतिक अवस्था अनुसारको मापदण्ड बनाउन सके भौतिक निर्माण पक्षलाई नयाँ गति दिन सकिन्थ्यो । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउनु, उनीहरुलाई टिकाउनु र गुणस्तरीय शिक्षा सिकाउनु नै मुख्य चुनौति छन् ।

 माथिल्ला तहबाट आउने निर्देशन कार्यान्वयनमा  कस्ता  समस्या आउने गरेका छन् ?
नीति नियम र निर्देशनहरुको पालनामा खाशै समस्या नदेखिए तापनि व्यवहारिक रुपमा कार्यान्वयनमा केही समस्याहरु देखिन्छन् । भौतिक अवस्था, स्थानीय समुदायको अवस्था, शिक्षक व्यवस्थापन लगायतका आधारमा नभइ माथिबाट समान खालका नीति निर्देशनहरु आउने हुँदा यहाँ कुरा बुझाउन र कार्यान्वयनमा लैजान पक्कैपनि केहि असजिलाहरु छन् । जिल्लामा एकथरीका समस्या हुन्छन् माथिबाट अर्को थरीका नीति तथा कार्याक्रम आउँदा पनि केहि समस्या देखिन्छ । फेरी जिल्ला शिक्षा अधिकारीको अधिकार सीमित छ । काम धेरै गर्नुपर्ने बाध्यता छ । सवैको चित्त बुझाएर काम गर्न चुनौतिहरु देखिन्छ ।


तपाईको विचारमा जिल्लाको शैक्षिक सुधारको उपाय के के हुन सक्छन् ?
न्यून सिकाइ उपलव्धिमा सुधार, गुणस्तरीय शिक्षण सिकाइ क्रियाकलाप, अनुगमन र सुपरीवेक्षणमा सुधारका रुपमा देखिएका चुनौतिहरुमा सुधारका लागि गरिने प्रयास नै जिल्लाको शैक्षिक सुधार गर्ने उपायका रुपमा रहेका छन्   । औषत सिकाइ उपलव्धीलाई उत्कृष्ट बनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याएर गुणस्तरीय सिकाई क्रियाकलाप सञ्चालन गर्न सक्नुपर्ने देखिन्छ । शिक्षाका अनुगमनहरुलाई बढाउदै राम्रा गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्ने विदालयहरुलाई सजायको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसले राम्रो प्रयास गरिरहेका विद्यालयहरुलाई हौसला र अन्यलाई मिहिनेत गर्ने प्रेरणा मिल्थ्यो ।

तपाईले जिल्लामा गर्नु भएको राम्रा कार्यहरु के के हुन् ?
म आएको धेरै भएको छैन । म जिल्लामा बुझ्ने प्रकृयामा नै छु । यसविचमा पनि म जिल्लामा आएपछि केहि राम्रा कामहरु भएका छन् । यस वर्ष हामीले वाग्लुङ जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गर्ने गरी साक्षर गाउँ विकास समितिहरुलाई साक्षर घोषणाका कार्यहरु भै रहेका छन् । जिल्लामा जम्मा ५९ गाविस र १ नगरपालिका भएकोमा हालसम्म ३६ वटा गाविस साक्षर घोषणा भएका छन् । अन्य गाविसहरु २०७३ जेठ मसान्तसम्म घोषणा भै सक्ने र जिल्ला साक्षर घोषणा हुने छ । विद्यालयमा हुने लैंगिक हिंसा अन्त्य गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, सिकाइ उपलव्धी बढाउने, शिक्षा प्रति अभिभावकको चासो र सहयोग वृद्धि गर्ने, बालअधिकारको संरक्षण तथा साक्षर जिल्ला बनाउने दिशामा गम्भिर भएर लागिरहेको छु ।

जिल्लाको शैक्षिक सुधारका लागि हजुरको योजना के छ ?
यस वर्ष शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न लागेका छौँ । विद्यालयहरुमा सघन अनुगमन र सुपरीवेक्षणलाई तिव्रता दिनेछौँ । विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन र सिकाइ उपलव्धिलाई वृद्धि गर्न यसले सघाउँ पुग्ने छ । विद्यमान ऐन नियमको पालना गरी शैक्षिक प्रशासनलाई पारदर्शी र सुशासन कायम गर्ने पनि जिल्ला शिक्षा कार्यालयको प्राथमिकतामा रहेको छ । आगामी वर्ष भित्र जिल्लाको समग्र शैक्षिक अवस्थामा देखिने गरी सुधार गर्न हामी प्रयासरत छौँ । यसका लागि जिल्लाका सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवालाहरुसँग हातेमालो गर्दै अघि बढ्नेछु ।


लागि न्यून सिकाइ उपलव्धि, गुणस्तरीय शिक्षण सिकाइ वातावरणको निर्माण, शिक्षकको पेशागत दक्षता विकास र ऐन नियमको अक्षरसः पालना जस्ता पक्षहरु चुनौतिका रुपमा रहेका छन् ।

विद्यालयहरुमा सघन अनुगमन र सुपरीवेक्षणलाई तिव्रता दिनेछौँ । विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाउन र सिकाइ उपलव्धिलाई वृद्धि गर्न यसले सघाउँ पुग्ने छ । विद्यमान ऐन नियमको पालना गरी शैक्षिक प्रशासनलाई पारदर्शी र सुशासन कायम गर्ने पनि जिल्ला शिक्षा कार्यालयको प्राथमिकतामा रहेको छ । आगामी वर्ष भित्र जिल्लाको समग्र शैक्षिक अवस्थामा देखिने गरी सुधार गर्न हामी प्रयासरत छौँ ।

विद्यालयमा हुने लैंगिक हिंसा अन्त्य गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, सिकाइ उपलव्धी बढाउने, शिक्षा प्रति अभिभावकको चासो र सहयोग वृद्धि गर्ने, बालअधिकारको संरक्षण तथा साक्षर जिल्ला बनाउने दिशामा गम्भिर भएर लागिरहेको छु ।

Comments: