२०७६ भदौ ३० गते

विद्यालयमा बजेट

तनहुँ । भूकम्पले पूर्ण र आंशिक क्षति पुगेका यहाँका विद्यालयका भवन निर्माणको काम सुरु भएको छ । अघिल्लो आर्थिक वर्ष, चालु र आगामी वर्षसमेत पुनर्निर्माणकै काम गर्ने गरी बजेट व्यवस्थापन भएपछि काम तीव्र गतिमा अघि बढेको हो ।

३ वर्षका लागि अन्य नियमित निर्माणका योजना स्थगन गरी पुनर्निर्माण, अस्थायी बसोबास र मर्मतको काम मात्र अघि बढाइएको सहायक जिशिअ बाबुराम देवकोटाले बताए । भूकम्पले जिल्लाका २२७ विद्यालयका ९५२ कक्षाकोठामा पूर्ण तथा आंशिक क्षति पुगेको थियो । ‘ती विद्यालयका बालबालिकालाई अस्थायी टहरोमा राखेर पढाउनु परेकाले पुनर्निर्माणको कामलाई तीव्रता दिइएको हो,’ उनले भने । अघिल्लो वर्ष प्रतिकोठा २५ हजार रुपैयाँका दरले २ करोड ३८ लाख रुपैयाँ खर्चेर अस्थायी टहरा बनाइएको थियो । चालु वर्षदेखि बल्ल भवन निर्माणको काम थालिएको हो ।

शिक्षा विभागबाट प्राप्त ४५ करोड १८ लाख ८५ हजारको बजेटबाट पुनर्निर्माणको काम थालिएको अवस्था छ । अस्थायी कक्षाबाहेक ३ वर्षभित्र स्थायी भवन निर्माण गरिसक्ने योजना रहेको जानकारी देवकोटाले दिए । अघिल्लो आवदेखि आठकोठे दुईवटा, ६ कोठे २ र चारकोठे १५ विद्यालय निर्माणाधीन छन् । पुनर्निर्माणकै लागि तीनकोठे २०, दुईकोठे १११ र एककोठे ९८ वटा विद्यालयमा भवन निर्माणाधीन छन् । थोरै कोठाहरू चालु वर्ष र धेरै कोठाहरू आगामी वर्ष निर्माण पूरा हुने गरी काम भइरहेको जिशिअ टोपबहादुर श्रेष्ठले बताए । क्रमागत योजनाअन्तर्गत सबै निर्माणलाई ३ वर्षको म्याद दिइएको उनले बताए ।

१० कोठामा पूर्ण क्षति पुगेको गजरकोटको कृष्ण मावि र राम्जाकोटको जयदुर्गा माविमा ८/८ कोठाको निर्माण गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: