२०७६ माघ १२ गते

बिदामा पनि पढाइ

काठमाडौं । विद्यालयमा मतदान केन्द्र (बुथ) परेका विद्यालयले बिदामा समेत पढाइरहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका आसन्न चुनावमा पाँच दिनसम्म बिदा दिनुपर्ने भएकाले बिदाका दिनमा समेत पढाउनुपरेको सामुदायिक विद्यालयका शिक्षकले बताए । राजधानीका अधिकांश सामुदायिक विद्यालयमा मतदान केन्द्र रहने गरेका छन् । निर्वाचन कानुनअनुसार मतदान केन्द्रमा निर्वाचन हुनु पाँच दिनअघि सुरक्षाकर्मीको उपस्थिति हुन्छ । प्रदेश ३ को काठमाडौं, ललितपुर र भक्तपुरमा दोस्रो चरणमा (मंसिर २१ गते) निर्वाचन हुनेछ ।

विद्यालयले जाडो बिदा घटाएर पढाउने भएका छन् । चिसो बढदै गए पनि पठनपाठन समय यथावत् कायम राखेका जनाएका छन् । ‘दिन छोटो र जाडो बढदै छ,’ बौद्ध महाँकालस्थित जनकल्याण माविकी प्रधानाध्यापक कुमारी कमला राईले  भनिन्, ‘अरू बेला पठनपाठनको दैनिक तालिका छोटाउनुपर्ने हो तर चुनावको बिदालाई मध्यनजर गरेर दस बजेदेखि चार बजेसम्मै पढाउँदै छौं ।’ उक्त विद्यालय मतदान केन्द्र परेको छ ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका शिक्षक केदार दाहालले चुनावकै कारण सार्वजनिक बिदाका दिनमा पठनपाठन जारी राखेको बताए । ‘चुनावमा बिदा हुने भएकाले पाठ्यभार पूरा गर्न बिदाका दिनसमेत पढाउँदै छौं,’ उक्त विद्यालय मतदान केन्द्र रहने उल्लेख गर्दै भने, ‘निर्वाचनअघि मात्र छुट्टी हुने प्रचलन छ । कम्तीमा निर्वाचनको भोलिपल्टसमेत बिदा दिइएमा हामी बाहिरी जिल्लामा मतदान गर्न जाने शिक्षकलाई सहज हुने थियो ।’ दाहालका अनुसार विद्यालयका बालबालिका मतदान दिन नपर्ने भएकाले निर्वाचनबारे खासै चासो र चियोचर्चा हुने गरेको छैन ।

कालिमाटीस्थित नीलबाराही माविकी प्रअ जानुका नेपालले समयतालिका नघटाई पठनपाठन गरेको बताइन् । ‘हाम्रो विद्यालय चुनावको बुथ पर्छ,’ उनले भनिन्, ‘बालबालिकाको पढाइ अहिलेसम्म नियमित तालिकाअनुसार पठनपाठन गर्दै छौं ।’कान्तिपुर दैनिकमा खबर छ ।

Comments: