२०७६ कार्त्तिक ५ गते

उच्च शिक्षासँगै आत्मनिर्भरताको चाह

 

भोजपुर । टक्सारका सुजन श्रेष्ठ १८ वर्ष लागे । भोजपुर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायतर्फ पहिलो वर्षमा पढ्दै छन् । उनी बिहान साढे ६ बजेदेखि १० बजेसम्म कक्षाकोठामा हुन्छन् । त्यसपछि अपराह्न चारपँच बजेसम्म सेभेनस्टार अपसेट प्रिन्टिङ प्रेसमा । त्यसमा काम गरेर मासिक १० हजार रुपैयाँ कमाउँछन् । उनको पहिलो जिम्मेवारी पढाइ हो भने प्रिन्टिङ प्रेसमा दोस्रो ।

‘पकेट खर्च जुटाउन र विस्तारै आत्मनिर्भर पनि हुँदै जानुपर्छ भनेर दिउँसोको समय प्रेसमा काम गर्छु,’ उनले भने । उनलाई एसएलसी पास गरेर ‘प्लस टु’ पढदैदेखि काम गर्ने इच्छा थियो । तर पढाइलाई बिट मार्ने गरी होइन । उच्च शिक्षामा राम्रोअंक ल्याएर पास गर्ने इच्छाछ उनको ।

कोदारकी २१ वर्षीया एलिना पोर्तेल व्यवस्थापन संकायकै तेस्रो वर्षमा पढ्दै छिन्, भोजपुर बहुमुखी क्यापसमै । बिहान क्याम्पस पढ्ने र दिउँसो सिद्धकाली बोर्डिङमा पढाउने दैनिकी छ उनको । उनले पहिलो वर्ष ज्वाइन भएदेखि नै पढाउन थालेकी हुन् । ‘बिहान क्याम्पस पढेपछि दिउँसो स्कुल पढाउन थालेको तीन वर्ष हुँदै छ । दुईरचार रुपैयाँ पकेट खर्च कमाउन सके घरमा बाआमालाई पनि सहयोग मिल्थ्यो, आफूलाई पनि कामको अनुभव हुन्थ्यो भनेर पढाउन थालेकी हुँ,’ उनको पढाइसँगै काम गर्ने लक्ष्य भनेकै आत्मनिर्भरताका लागि ।


व्यवस्थापन संकायका विद्यार्थी भएकाले बैंक या वित्तीय संस्था निजी या सरकारी जागिर खाने रहरसमेत छ उनको । तर अहिल्यै ठूलो, स्थायी जागिरचाहिँ पक्कै होइन । संकायअनुसार स्यानोतिनो सीप लडाउने खालको भए पुग्छ । हालै छिमेकी माइक्रो फाइनान्समा काम गर्ने अवसर पनि जुटाइसकेकी छन् । चितवन जिल्लामा १४ जिल्लाका १ सय १० जना सहभागीबीच भएको प्रतिस्पर्धामा पास भएका ३४ भित्र परेकी हुन् । उनले ‘प्लस टु’ बाटै लेखाशास्त्र पढेकी हुन् ।

पोर्तेलसँगै पढ्ने २१ वर्षका अनिल श्रेष्ठ सेन्चुरी कमर्सियल बैंकको भोजपुर शाखामा काम गर्छन् । बिहान क्याम्पस दिउँसो अफिस दैनिकी हो उनको । उनलाई पनि पहिलो वर्ष पढ्न थालेदेखि काम गर्ने इच्छा थियो । काम नखोजेका पनि होइनन् । कहिले आरजे बन्ने रहरले सामुदायिक रेडियो स्टेसन त कहिले कम्प्युटर सेन्टरतिर काम खोजे । गतवर्ष परीक्षा लेखेर सेन्चुरीमा काम गर्न पाए । पढाइअनुसारको जागिर पाएकामा दंग छन् ।

देवेन्द्र भुजेलको पनि उनीहरूको जस्तै अनुभव छ । उनले तीन वर्षअघि प्लस टु पास गर्नेबित्तिकै काठमाडौंमा पुगेर मार्केटिङको काम गरे । नुवाकोटसम्म पुगेका थिए । ‘साह्रै गाह्रो भो, चाँडै छाडें,’ उनले भने ।

उताबाट घर फर्केपछि व्यवस्थापन संकायमा भर्ना गरिहालेको सुनाए । बिहान पढाइ, दिउँसो कम्प्युटर सेन्टरमा काम गर्छन् । तुलसा बस्नेतलाई पनि उनीहरूजस्तै पढाइमा बाधा नपुग्ने गरी जागिर खाने अवसर चाहेकी छन् । काम सिक्ने, अनुभव बटुल्ने र सक्दा पकेट खर्च जुटाउने मन प्लस टु पढ्न थाल्दैदेखि थियो । दिनमा एक पटक जागिरको सपना बुन्छिन् । ‘जन्मेदेखि अहिलेसम्म अभिभावकले खर्च पेल्नुभएको छ, उहाँहरूको कर्तव्य पनि हो, तर कति माग्नु, यसो कमाउन सके खाजाखर्चकै लागि अप्ठेरो मानीमानी माग्नुपर्थेन,’उनले भनिन् ।

जब किशोरकिशोरीहरूकिशोरावस्थाको उत्तराद्र्धमा पुग्छन् । करिअरको सपना बुन्न थाल्छन् । किशोरावस्थासँगै मागहरू बढ्दै जाने र पूरा गर्न परिवारका सदस्यको भर पर्नुपर्ने बाध्यताबाट छुटकारा लिन चाहन्छन् । उमेरले पनि फडो मार्दै जाँदा सोहीअनुकूल आफूलाई आत्मनिर्भरतातर्फ डोर्‍याउने चाहना बढ्ने गरेको भोजपुर क्याम्पसमा व्यवस्थापनतर्फ देस्रो वर्ष पढ्दै गरेका लक्ष्मण चौहान बताउँछन् । उनी स्वतन्त्र विद्यार्थी युनियनका उपसभापतिसमेत हुन् ।

‘प्लस टु पढ्दैदेखि युवा जोस आत्मनिर्भरतातर्फ लम्कन चाहन्छन्, स्नातक पढ्न थालेपछि आवश्यकता र पारिवारिक जिम्मेवारी पनि थपिँदै जाने हुँदा समाधानको पाटो तर्फ पनि ध्यान जाने रहेछ,’ उनले भने । व्यवस्थापन विषय आफैंमा व्यावहारिक भएकाले पनि विद्यार्थीलाई व्यहारमा उतार्ने चाहना हुने गरेको सुनाए ।

‘पहाडी भेगमा अभिभावकलाई सदरमुकाम डेरा राखेर पढाउन खर्च धान्न हम्मे त पर्छ नै, जसोतसो खर्च पुर्‍याउने कोसिस गरिरहेका हुन्छन्, यसले गर्दा पनि विद्यार्थी आफैंले केही गर्न सक्ने र परनिर्भताबाट मुक्त हुने चाहना राख्छन्,’ माथिल्लो तहका पढाइमा आफ्नै खर्च पुर्‍याउन चाहने स्ववियु सभापति प्रकाशसिं राईले भने । केहीले खर्चमा परिवारसँग हातेमालो गर्न सहज होस् भनि जागिरमा भांैतारिहेका हुन्छन् ।

क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालका अनुसार यस वर्ष व्यवस्थापन संकायको पहिलो वर्षमा ४६, दोस्रोमा ५६, तेस्रोमा ५७ र चौथोमा ६२ गरी जम्मा २ सय २१ विद्यार्थी छन् ।

 
 

Comments: