२०७६ असोज २९ गते

बीचमै छुट्छ पढाइ

अन्तैबाट

सिन्धुपाल्चोक । जुगल गाउँपालिका ३ तेम्बाथानका दुई छात्र र एक छात्राले गत वर्ष ५ कक्षा पास गरे । उनीहरू थप पढ्न चाहन्थे । तर भौगोलिक विकटताका कारण पढाइ छाड्नुपर्‍यो– पासाङ शेर्पा, सार्की शेर्पा र साङ्बु शेर्पाले ।


गाउँको तेम्बाथान आधारभूत विद्यालयमा पाँच कक्षासम्म मात्र पढाइ हुन्छ । पंगरपुमा रहेको सेतीदेवी मावि पुग्न ९ घण्टा हिँड्नुपर्छ । कक्षा ८ सम्म रहेको क्यावलुङथाङ आधारभूत विद्यालय जान ५ घण्टाभन्दा बढी लाग्छ । बाटो अप्ठ्यारो छ, पहरो समातेर जानुपर्छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाले सहरमा गएर पढ्न सक्दैनन् । केही परिवारले मात्र छोराछोरी काठमाडौंमा राखेर पढाउँदै आएका छन् ।

‘सक्नेले सहर/बजारमा लगेर पढाउँछन्,’ तेम्बाथान आधारभूत विद्यालयका प्रअ युवराज शर्माले भने, ‘नसक्नेले आर्थिक अवस्थाका कारण छोराछोरी पढाउन सकेका छैनन् ।’ उनका अनुसार विद्यालय टाढा भएकाले बालबालिका पढ्न जान मान्दैनन् । तेम्बाथानमा अहिले कक्षा ५ सम्म ७६ विद्यार्थी छन् । ‘पढ्न खोज्दा पनि नपाएपछि कोही कम उमेरमै बिहे गर्छन्, कोही मजदुरी गर्न जान बाध्य छन्,’ उनले भने, ‘सबैलाई पायक पर्ने ठाउँमा माविभए यस्तो समस्या आउने थिएन ।’

तेम्बाथानमा तीन शिक्षकको दरबन्दी छ । अहिले प्रअ शर्मा एक्लैले चलाइरहेका छन् । शिक्षिका तारा गुरुङ बिदामा छिन् । शिक्षक यमबहादुर श्रेष्ठ पुस १० गते सरुवा भएर सेलाङ गए । ‘शिक्षक नभएर विद्यार्थीलाई राम्रोसँग पढाउन सकिएको छैन,’ उनले भने, ‘नयाँ भवन बन्दै छ, अहिले टहरोमै राखेर पढाइरहेका छौं ।’ चिसोले टहरोमा पढ्न समस्या छ । विद्यालयमा खानेपानी र शौचालय सुविधा छैन । खुला स्थानमा शौच गर्दा विद्यालयवरपर दुर्गन्धित छ ।

शेर्पाको बाक्लो बसोबास रहेको गाउँमा १ सय ६० घरधुरी छन् । सदरमुकाम चौताराबाट २ दिन लाग्ने तेम्बाथान जिल्लाकै सबैभन्दा विकट भेगमा पर्छ । सोही वडाको अर्को गाउँ गुम्बाथानमा पनि यही समस्या छ । यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ । ‘मावि तहमा पढ्न जान यहाँबाट झन्डै ४ घण्टा हिँड्नुपर्छ,’ क्यावलुङथाङ आधारभूत विद्यालयका प्रअ गंगाराम सापकोटाले भने, ‘टाढा विद्यालय भएका कारण ८ पास गर्नेमध्ये ३० प्रतिशतले पढाइ छाड्ने गरेका छन् ।’

उनका अनुसार गत वर्ष पंगरपुस्थित सेतीदेवी माविमा ४ जना विद्यार्थी भर्ना भए । पछि तिनले पनि पढाइ छाडे । ‘यो ठाउँमा सबैभन्दा ठूलो समस्या शिक्षाको छ,’ उनले भने, ‘पढ्ने चाहना भए पनि भौगोलिक विकटताले गर्दा बीचैमा छाड्न बाध्य छन् ।’ विद्यालय टाढा भएकाले अभिभावकले छोराछोरीलाई पढ्न जान कर गर्दैनन् ।

तेम्बाथान आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष पेम्बागेल्बु शेर्पाका अनुसार थोरैले मात्र काठमाडौं, चौतारा लगेर छोराछोरी पढाउँछन् । ‘गाउँमा फलेको अन्नले वर्ष दिन खान पुग्दैन,’ उनले भने, ‘के आम्दानीले सहरमा छोराछोरी राखेर पढाउनु ?’ उनका अनुसार पढाइ छाड्नेहरू चौंरी गोठालो भएर हिँड्ने गरेका छन् । गाउँमा शेर्पा, लामा, तामाङ समुदायको बसोबास छ । ‘मैले ५ पास गरेँ, चाहना १० सम्म पढ्ने थियो,’ उनले भने, ‘घरको आर्थिक अवस्थाले गर्दा सहरमा गएर पढ्न सकिनँ, नजिकमा विद्यालय भएको भए यो समस्या हुने थिएन ।’

गाउँलेले सबैलाई पायक पर्ने ठाउँमा प्लसटुसम्मको विद्यालय स्थापना गर्न माग राख्दै आएका छन् । ‘पढ्न खोज्दा पनि गाउँका बालबालिकाले पाएका छैनन्,’ साइँला शेर्पाले भने, ‘सरकारले गाउँमै मावि स्थापना गरिदिए सबै साक्षर बन्ने थिए ।’

कान्तिपुरमा खबर  छ  ।

Comments: