२०७६ कार्त्तिक २९ गते

प्रतिबन्धित संस्थामा झुक्याएर विद्यार्थी भर्ना

काठमाडौं । पोखराको बालकल्याण स्कुलबाट एसएलसी उत्तीर्ण लक्ष्मी गुरुङ दुई वर्षअघि स्थानीय पाइथागोरस इन्स्टिच्युट (शैक्षिक परामर्शदाता) को परामर्शमा भारतको नेसनल इन्स्टिच्युट अफ ओपन स्कुलिङ (एनआईओएस) मा भर्ना भइन्। पाइथागोरसले एनआईओएसमा भर्ना भए एक वर्षमा पढाइ सकिने र त्यसले नेपालमा प्लसटुसरह मान्यता पाउने बताएपछि लक्ष्मीजस्ता धेरै विद्यार्थी भारतको एनआईओएसमा अध्ययन गर्न इच्छुक भए। पाइथागोरसले त्यसका लागि उनीहरूसँग प्रमाणपत्र र रकम लिएर उक्त संस्थामा भर्ना गरायो।

पाइथागोरसले विद्यार्थीलाई कोचिङसमेत गरायो। उनीहरूले काठमाडौं आएर एनआईओएसको नेपाली फ्रेन्चाइज जोरपाटीस्थित राय स्कुलमा परीक्षा दिए र एनआईओएसबाट प्रमाणपत्र पनि पाए। तर अहिले राष्ट्रिय परीक्षा बोर्डले समकक्षताको प्रमाणपत्र दिन नसकिने बताएपछि लक्ष्मी र उनीजस्ता विद्यार्थी अहिले ठगिएको महसुस गरिरहेका छन्। नेपालमा दुई वर्ष पढ्नुपर्ने कोर्सलाई प्रमाणपत्र बेच्नकै लागि एक वर्षमा सक्ने गरेको भन्दै एनआईओएसको विषयमा टिप्पणी हुन थालेपछि शिक्षा मन्त्रालयले दुई वर्षअघि नै समकक्षता नदिने निर्णय गरेको थियो।

समकक्षता रोक्का गरेको जानकारी पाउँदापाउँदै पनि पाइथागोरसले एनआईओएसमा विद्यार्थी भर्ना लिँदा लक्ष्मीजस्ता धेरै विद्यार्थी मर्कामा परे। ‘एनआईओएस राम्रो संस्था हो भन्ने सुनेपछि हामीले पाइथागोरससँग परामर्श लिएका थियौं। हामीले पढाइ सुरु गर्नुअघि नै शिक्षा मन्त्रालयले समकक्षता रोकिसकेको रहेछ’, लक्ष्मीले भनिन्, ‘पाइथागोरसले समकक्षता रोकेको थाहा पाए पनि हामीलाई जानकारी नदिएकाले समस्या पर्‍यो।’

पाइथागोरसले स्थानीय एजेन्ट बनेर विद्यार्थीलाई एनआईओएसको नेपाली फ्रेन्चाइज राय स्कुलमा भर्ना गराएको थियो। विद्यार्थीलाई ट्युसन भने पाइथोगोरसले नै दिएको थियो। समकक्षता रोकेको जानकारी भए पनि न राय स्कुलले कागजपत्र एनआईओएसमा पठाउनुअघि विद्यार्थीलाई जानकारी दियो, न पाइथोगोरसले नै भर्ना गर्न नहुने सुझाव दियो। अर्की विद्यार्थी किरण राईले भनिन्, ‘हामीलाई एनआईओएसबारे केही थाहा थिएन।

समकक्षता रोक्का भइसकेको संस्थामा भर्ना गराएर पाइथागोरस र राय स्कुलले हाम्रो समय र रकमसँगै भविष्य बर्बाद पारिदिए।’ एनआईओएसको चक्करमा आफ्नो दुई वर्ष र एक लाखभन्दा धेरै रकम नष्ट भएको उनले बताइन्। पोखरामा पाइथागोरसबाट भर्ना भएका नै सात विद्यार्थीले पनि समस्या भोगिरहेका छन्। पोखराबाहेक अन्यत्रबाट पनि यसरी नै भर्ना भएका विद्यार्थी अलपत्र परेको लक्ष्मीले बताइन्।

पाइथागोरस इन्स्टिच्युटका प्रमुख बालचन्द्र सिवाकोटीले शिक्षा मन्त्रालयले एनआईओएसको समकक्षता रोक्ने निर्णय गर्नुअघि नै ती विद्यार्थीका प्रमाणपत्रलगायत कागजपत्र दिल्ली पठाइसकेकाले समस्या परेको बताए। विद्यार्थीले भने २०१६ मार्चमा समकक्षता रोक्ने निर्णय गरेपनि सोही वर्षको अगस्टमा मात्र परीक्षा फारम, भर्नालगायत प्रक्रिया अघि बढाएको दाबी गरेका छन्।

राय स्कुलका प्राचार्य कृति पाण्डेले भने ती विद्यार्थीलाई आफूहरूले भर्ना नगरेको बताए। ‘ती विद्यार्थी कहिले भर्ना भएका हुन्, मैले राम्रोसँग बुझेको छैन। पाइथोगोरसबाटै विद्यार्थीले राम्रोसँग बुझ्नुपथ्र्यो’, उनले भने, ‘सरकारले नै प्रतिबन्ध लगाएको संस्थामा हामीले भर्ना गर्ने कुरै आउँदैन।’

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले सन् २०१४ पछि भर्ना भएका विद्यार्थीलाई समकक्षता नदिने निर्णय मन्त्रालयले यसअघि नै गरिसकेको बताए। ‘यो मितिभन्दा पछि कुनै विद्यार्थी भर्ना गरेका रहेछन् भने त्यो संस्था कारबाहीको भागीदार बन्छ’, उनले भने।

अन्नपुर्णपोष्टमा सुर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।

Comments: