२०७६ असोज ३० गते

‘अपहरणबाट जोगिन विद्यालयमै सिकाऔं’

अन्तैबाट

काठमाडौँ । अपहरणमा परी मारिएका ११ वर्षीय निशान खडकालाई सुरक्षासम्बन्धी सामान्य ज्ञान भएको भए के हुन्थ्यो ? विज्ञहरू भन्छन्, ‘उनी अपहरणमै पर्ने थिएनन् र ज्यान जाने थिएन ।’

पछिल्लो समय बालबालिकाविरुद्ध अपहरण, हत्या, बलात्कारलगायतका अपराध बढिरहेको अवस्थामा मनोविद् तथा सुरक्षा विज्ञहरूले स्कुलमा बालबालिका र अभिभावकलाई यसबारे सचेत बनाउन न्यूनतम ज्ञान दिनुपर्ने औंल्याएका हुन् ।

‘बालबालिकालाई पौडी खेल्न, साइकल चलाउन र आत्मरक्षाका शारीरिक दाउपेच सिकाएजस्तै अपहरणका सम्भावित खतरा, आफ्नो जोखिमपूर्ण स्थितिको बोध तथा यसबाट जोगिने उपायका बारेमा विद्यालयमा अनिवार्य रूपले नै तालिम दिने वा प्रयोगात्मक ज्ञानको प्रसार जरुरी देखिएको छ,’ मनोविद् नवीन वज्राचार्य भन्छन्, ‘किनभने कुन अवस्थामा, कहाँ के गर्ने भन्ने थोरै कुरा मात्रै हेक्का भयो भने पनि अपहरण र बालबालिकाविरुद्धका अरू अपराध स्वत: हुन पाउँदैनन् ।’

‘लाइफ स्किल’ भनेर स्कुलहरूमा दिइने शिक्षा वा तालिममा अपहरण भनेको के हो, यो कसरी हुन्छ र त्यस्तो परिस्थिति आउन नदिन आफू कसरी सचेत हुने भन्ने सूचना दिन सकेको भए निशान र उनीजस्ता अरू धेरै बालबालिकाको जीवन जोखिममा पर्ने अवस्थै आउने थिएन भन्छन् मनोविद् वज्राचार्य । सानोठिमीस्थित एसओएस बालग्राममा सुरक्षासम्बन्धी बालमनोविज्ञानका कक्षा र तालिम चलाउँदै आएका वज्राचार्य अब अपहरणविरुद्धका जनचेतनामूलक तालिम पुस्तिका तयार गर्ने तयारीमा छन् ।

धेरैजसो अपहरणका घटनामा परिवारका नजिकको वा चिनजानका मान्छे सामेल हुने गरेको देखिएको छ । बच्चाहरूलाई स्कुलमा आमाबाबु र दाजुदिदीजस्ता परिवारका सहोदर नाता सम्बन्धबाहेक अन्यसँग घर बाहिर नजाने, साँझपख बाबुआमाको सम्पर्कमै रहने, एक्लै घरमा बस्न पर्दा झ्यालढोका राम्रोसँग लगाएर बस्नेलगायतका सूचना दिएर बानीकै तहमा यस्ता सुरक्षामूलक व्यवहार विकास गर्न सके धेरै नै फरक पर्ने उनी ठान्छन् ।

बाबुआमामा पनि सम्भावित घटनाबारे पूर्वसचेतना नहुनाले अपहरणकारीहरूलाई सजिलो परेको उनको विश्लेषण छ । ‘बाबुआमाले आफ्ना छोराछोरीलाई प्रत्यक्ष निगरानीमा राख्नु कति महत्त्वपूर्ण छ भन्ने रामो गरी बुझ्न सकेका छैनन्,’ उनी भन्छन्, ‘त्यसो हुनाले चिनेका मानिससँग छोराछोरी जान्छु भन्दा सजिलै हुन्छ भनिदिने गर्छन् । अपहरण पनि हुन सक्छ भन्ने ठानेर चिनेकै आधारमा कसैमाथि विश्वास नगर्नु नै जाती हो ।’

अर्का मनोविद् विनोद पौडेलका अनुसार मृतक निशानकी आमाले साँझपख चिनजानको अंकलसँग छोरालाई पठाउनु नै असावधानी थियो । ‘छोरा कसैसँग बाहिर जानुलाई उनले साह्रै सामान्य अवस्थाका रूपमा बुझदै आएको हुनाले सावधानी अपनाउन सकिनन् र अपहरणकारीलाई सजिलो हुन गयो,’ उनले भनिन् । सामान्यतया अपहरणकारीहरू बालबालिकासँग असमान्य ढंगले नजिक हुन खोज्ने, उनीहरूलाई मनपर्ने कुरा किनेर ल्याइदिने र घुमाउन लैजान मन गर्ने प्रवृत्तिका हुने हुनाले बाबुआमाले यसरी नजिक हुन खोज्नेप्रति सजगता अपनाउनुपर्ने उनको सुझाव छ ।

‘आठ–दस वर्षसम्मका बच्चाहरू तेज हुन सक्छन् तर व्यावहारिक हिसाबले बुद्धिमानचाहिँ हुन मुस्किल पर्ने हुनाले को नजिकको, को टाढाको र को असल, को खराब भन्ने उनीहरूलाई भेउ हुँदैन,’ पौडेल भन्छन्, ‘बच्चाहरू त जसले मनपर्ने व्यवहार गर्छ उसैसँग झ्याम्मिन्छन्, त्यसो हुनाले अभिभावकहरूले हरेक दिन साँझ एक–डेढ घण्टा आफ्ना नानीहरूलाई दिनभरि गरेका कुरा र भेटेका मान्छेका बारेमा सोधखोज गरेर जानकारी लिनु सबभन्दा राम्रो हो ।’

बच्चाहरूका लागि स्कुलमा सञ्चालन गरिने सुरक्षासम्बन्धी तालिममा अपहरणको विषय पनि समावेश गराउनुपर्ने पौडेलको भनाइ छ । स्कुल भनेको खालि अक्षर र अंक मात्रै सिक्ने ठाउँ नभई जीवन उपयोगी हरेक कलाको जानकारी हासिल गर्ने थलो भएको हुनाले आफ्नो सुरक्षासँग जोडिएका सवालबारे सिक्न पाउनु बच्चाहरूको हक नै भएको मनोविद्हरूको बुझाइ छ । ‘यसरी सुरक्षासम्बन्धी तालिमहरू दिँदा निकै सजग भने हुनुपर्छ नत्र बालबालिकामा जसलाई पनि नकारात्मक दृष्टिले मात्रै हेर्ने बानीको विकास हुने डर हुन्छ,’ वज्राचार्य भन्छन्, ‘फेरि यस्ता सूचना बच्चाको उमेर समूह हेरेर फरक–फरक तरिका र मात्रामा दिनुपर्ने हुन्छ । यसो गर्नका लागि पर्याप्त जनशक्ति छैनन् ।’

राज्यले राष्ट्रिय नीतिकै तहमा बालबालिकाको सुरक्षासम्बन्धी अवधारणाको शैक्षिक खुराक मनोविद्हरूको परामर्श र संलग्नतामा तयार पार्नुपर्ने उनको बुझाइ छ । बालबालिकाको अपहरणमा जोडिएको सुरक्षाको सवालमा पनि केही कमजोरी रहेकाले तत्काल सुधार आवश्यक देखिएको विज्ञहरू बताउँछन् । ‘प्रहरीसँग अपहरणका बेलामा कसरी काम गर्ने भन्ने तालिम प्राप्त जनशक्ति त छ तर अपहरणकारीसँग वार्ता गरेर समय लम्ब्याउने कलाचाहिँ छैन,’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘यसमा थप तालिम आवश्यक छ ।’

घटना हुनेबित्तिकै प्रहरीलाई खबर गर्ने कुरामा पनि अभिभावकहरू सचेत नहुँदा धेरैजसो अवस्थामा अपहरित बालकको ज्यान जोखिममा पर्ने गरेको उदाहरण उनले सुनाए । ‘यो भनेको प्रहरीले पब्लिकको विश्वास हासिल नगरेको अवस्था हो,’ उनी भन्छन्, ‘आफूलाई गरेको खबर बाहिर लिक हुँदैन भन्ने विश्वास प्रहरीले आम रूपमा मानिसलाई दिलाउन सक्नुपर्छ ।’

यसका अतिरिक्त बालबालिका अपहरणमा परेको अवस्थामा प्रहरीमा सूचना दिन जाने समूहमा अपहरणकारीलाई सघाउने व्यक्ति पनि कतिपय अवस्थामा हुने गरेको डीआईजी मल्लले बताए । ‘फिरौतीका लागि बालक अपहरणका धेरैजसो घटनामा प्रहरीसम्म पुग्न अभिभावकलाई सघाउनेमा अपहरणका मुख्य योजनाकार वा त्यस समूहको कुनै सहयोगी नै सामेल हुने गरेको देखिएको छ,’ उनी भन्छन्, ‘यस्तो हुँदा प्रहरीले गरेको हरेक प्रयासको जानकारी अपहरणकारीले पाउने हुँदा अपराधी समात्न मुस्किल पर्न जान्छ ।’

घनश्याम खड्काले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: