२०७६ मंसिर ४ गते

सहरकै बालबालिका विद्यालय छाड्छन्

बाँके । नेपालगन्ज उपमहानगरपालिकास्थित लग्दहवाकी रेणुका खटिक १६ वर्षकी भइन् । दुई वर्षअघि भारतको बाबापुरुवामा बिहे गरेपछि ५ कक्षाभन्दा माथि पढ्न सकिनन् । बिहेपछि कहिले माइती र कहिले घर बस्नुपर्ने र काममा जानुपर्ने हुँदा पढ्न समस्या भएको उनको भनाइ छ । उनकी १५ वर्षीया बहिनी सुधाले पनि बालविवाहका कारण कक्षा ४ बाटै पढाइ छाडिन् । उपमहानगरपालिकै पर्ने इन्द्रपुरस्थित कुचबदियामा कसैले पनि कक्षा ७ भन्दा माथिको शिक्षा लिन पाएका छैनन् । १६ वर्षीया पवित्रा कुचबदियाले कक्षा ५ मा पढदापढदै घरायसी कामले पढाइ छाड्नुपरेको बताइन् ।

अभिभावकले परम्परागत पेसा सिलौटा कुद्ने काममै बालबालिकालाई लगाउने गरेकाले कुचबदिया बस्तीमा कक्षा छोड्ने समस्या धेरैमा छ । नेपालगन्ज ११ को घसयारन टोलका अधिकांश बालबालिका भट्टामा इँटा बोक्ने काममा संलग्न छन् । चिडिमार समुदायका बालबालिका पनि अभिभावकसँगै चराको सिकार गर्ने र अर्काको घरमा भाँडा माझ्ने गर्छन् । नेपालगन्ज ३ वाल्मीकि टोलका ६० परिवारमध्ये सबैका छोराछोरी नियमित विद्यालय जाँदैनन् । उनीहरूमध्ये अधिकांश पढाइ छाडेर मजदुरीमा जान्छन् । परम्परागत भरिया र कसाईको काम गर्ने नेपालगन्ज १० कसगर टोलका बालबालिकाको अवस्था पनि जोखिमपूर्ण छ ।

सहरी क्षेत्रका बालबालिकामा मजदुरी गर्ने क्रम बढदै गएको अधिवक्ता वसन्त गौतमले बताए । गरिबीका कारण नेपालगन्जका बालबालिका मजदुरीका लागि भारतसमेत पस्ने गरेको उनले बताए । मधेसी र मुस्लिम बाहुल्य यहाँका अधिकांश क्षेत्रमा बालविवाह हुने कारण बीचैमा पढाइ छाड्नेको संख्या बढेको हो । सामाजिक संस्कार र आमाबाबु साक्षर नहुँदा बालबालिका पनि विद्यालय जानुलाई प्राथमिकता दिँदैनन् । पढाइ छाड्नेमध्ये अधिकांश सहरी क्षेत्रकै रहेको जिल्ला शिक्षाले जनाएको छ । सहायक जिशिअ गोर्खबहादुर थापाले विद्यार्थीले कक्षा छोड्ने दर बढ्नु र विद्यार्थी नियमित नहुनु सामुदायिक विद्यालयको ठूलो चुनौती भएको बताए ।

बालकहरूले घरको आर्थिक अवस्था र विभिन्न प्रलोभनका कारण पठनपाठन बीचैमा छाड्ने गरेका छन् । प्राथमिक तहमा भर्नादर ९६ प्रतिशत रहे पनि मावि पुग्ने निकै कम छन् । प्राविबाट निमावि तह उक्लिने विद्यार्थीको भर्नादर ४६ दशमलव १ प्रतिशत मात्रै छ । कक्षा छाड्ने दर प्रावि तहमा ७ प्रतिशत मात्रै हुन्छ ।


 निमाविमा ८ र माविमा ९ प्रतिशतले विद्यालय छाड्ने गरेको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ । गरिबी र बालविवाहका कारण कक्षा छाड्ने दर बढिरहेको थापाले बताए । मावि तहमा मुस्लिम बालिकाको संख्या अत्यन्त न्यून छ । पहाडी र थारू समुदायका बालबालिको तुलनामा विद्यालय छाड्ने मधेसी र मुस्लिम धेरै भएको उनले जानकारी दिए ।

जिल्लामा २ सय ६१ सामुदायिक र १ सय ९५ संस्थागत विद्यालय छन् । मदरसा र गुरुकुल गरेर १ सय २६ धार्मिक प्रकृतिका विद्यालय सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । चालू शैक्षिक सत्रमा जिल्लाभर १ लाख ३० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मुस्लिम समुदायमा पछिल्लो समय बालिका पढाउने क्रम बढदै गए पनि बालविवाह ठूलो समस्या रहेको यस क्षेत्रमा कार्यरत सिविन नेपालका संयोजक सिद्धराज पनेरुले बताए । उनका अनुसार केही निजी विद्यालयले मुस्लिम संस्कृतिअनुसार पोसाकमा बन्देज गरेका कारण पनि समस्या भएको उनको भनाइ छ । सिविन नेपालको तथ्यांकअनुसार बाँकेमा २ हजार ९ सय ६४ श्रमिक बालबालिका छन् । कान्तिपुरमा खबर छ ।

Comments: