२०७६ कार्त्तिक २७ गते

बिदामा गिट्टी कुटेर शैक्षिक खर्च जुटाउँदै

रोल्पा । सहरमा वार्षिक परीक्षा सकिएसँगै बालबालिकाहरू अभिभावकको साथमा बिदा मनाउन विभिन्न स्थानमा पुग्ने गर्दछन। अलि हैसियतले नथेग्नेहरू कमसे कम साथी भाईसँग खेलेर वा मावली तिर पुगेर बिदा मनाउने गरेको पाईन्छ।

तर रोल्पा कोटगाउँका बालबालिकाहरू आउदो वर्षको शैक्षिक खर्च जोहो गर्नका लागि वैशाखको टन्टलापुर घाममा गिट्टी कुट्न व्यस्त रहन्छन्। चरम गरिबी र आर्थिक अवस्था कमजोर भएका कारण एउटै गाउँ टोलका १३ वर्ष कम उमेर समूहका बालबालिका सडक छेउमा पसिना बगाउन विवश छन। अधिकार र न्यायका रटान लगाउने विभिन्न राजनेता जन्माएको रोल्पाका धेरै बालबालिकालाई पढ्नका लागि आम्दानी जुटाउनु अनिवार्य जस्तै छ।‘गिट्टी फुटाएर कमाएको पैसाले ड्रेस किन्छु, कापी, कलम किन्छु अनि बाँकी आमा बुवालाई दिन्छु। बिदामा हल्लेर बस्नु भन्दा काम गरे अलि अलि पैसा हुन्छ।’ यसपालिको वार्षिक परिक्षा पछिको बिदामा पाँच हजारमा एक ट्याक्टर गिट्टी बिक्री गरिसकेका १३ वर्षिय गौतम बिकले भने। ‘हामी त यहाँ चौध पन्ध्र जना सधै आउछौ। १० गतेबाट स्कुल खुल्ने हो तर पढाई अलि पछिबाट होला।’ अन्य समयमा पनि शनिबार वा अन्य कुनै दिन बिदा भयो भने यिनीहरूको दैनिकी यस्तै हुने गर्दछ। लिवाङ दारबोट सडक खण्डको पर्मे खोलामा दैनिक भेटिने बालबालिका नेपाल मावि कोटगाउँका विद्यार्थी हुन्।

रोल्पा नगरपालिका ६ रिम्सक र खोल्वाङका यि बालबालिका भन्दा पनि झनै कठोर श्रममा अरु पनि छन्। ‘एउटा दाईले पाँच र अर्कोले दुईमा पढ्दा पढ्दै स्कुल छोडे। उनीहरू ईट्टा बोक्न गएका छन्। हाम्रो तिर चलन नै यस्तै छ। दुई चार कक्षा पढ्यो अनि ईट्टा बोक्न गइहाल्ने।’ १२ वर्षिया खरमालि बिकले भनिन्। रोल्पामा ठूलो संख्यामा बालबालिका विद्यालय छोडेर उपत्यका तिर ईट्टा भट्टामा मजदूरी गर्न जाने गर्दछन्। ‘मेरा आमा बुवा दुई वटा भाईलाई लगेर ईट्टा बोक्न जानु भाछ। भाईहरू पनि स्कुल जाने भएका छन्। उनीहरूलाई कसरी पठाउने स्कुल। म भने यहाँ फुपुसँग बसेको छु। ड्रेस, कापी, कलम किन्नलाई आफैं पैसा कमाएको छु।’ १३ वर्षिय बिशाल बिकले भने।

यहाँ अलि सानो उमेर समूहकाले संयुक्त रुपमा गिट्टी फुटाउने गर्छन। ‘हामी ४ जनाले मिलेर फोडेका छौं। एक ट्रिपको पाँच हजार आउछ त्यसलाई बाड्छौ। हामी अलि साना पनि छौ नी’ १० वर्षिय भरत घर्तीले भने। बिहान नास्ता खाएर ७ बजे ढुङ्गा खोज्न सडक छेउ पुग्ने बालबालिका दिउँसो २ बजेतिर खाना खान घर जान्छन। ‘बिहान नास्ता खाएर आउँछौं। दिउँसो एक दुई बजे खाना खान्छौ अनि फेरी साझ अध्यारो नहुन्जेल ढुङ्गा फुटाउछौं।’ १३ वर्षिया समुन्द्रा बिकले सुनाईन। वार्षिक बिदाको सदुपयोग गरिरहेका धेरै बालबालिकाको बीचमा बिद्यालय नजाने पनि छन्। रिम्सकका ११ वर्षिय जीबन बिक आर्थिक र घरायसि समस्याका कारण विद्यालय नजाने गरेका हुन्।

सडक छेउमा लहरै आ–आफ्ना ढुंङ्गा थुपारेका साना साना बालबालिकालाई आफूले मेहनत गरेर फुटाएको गिट्टी चोरीन्छ कि भन्ने चिन्ताले सताउछ। ‘कहिले त राति सपनामा पनि गिट्टी चोरीएको देखिन्छ। हात दुखाई दुखाई बल्ल बल्ल फोडेको गिट्टी चोरीयो भने त बरबाद हुन्छ नी।’ १० वर्षिय भरत घर्तीले भने। ‘सुरु सुरुमा हात भरि पानी फोका आएर गिट्टी बनाउन कम्ती धौ भएन। अब त बानी परियो। फोरा उठेको हातमा ठेला परिसक्यो।’ यसरी सडक छेउमा चर्को गर्मीसँग लड्दै मेहनत गरिरहेका बालबालिकाहरूका अभिभावकहरू धेरै जसो उपत्यका तिरका ईट्टा भट्टामा मजदूरी गर्न गएका छन भने अन्यको पनि आर्थिक अवस्था अत्यन्त कमजोर छ।

युद्धले लामो समय थलिएको रोल्पा शान्ती स्थापनासँगै मुहार फेर्ने अपेक्षामा थियो। गणतन्त्र आयो। संविधान सभाबाट नयाँ संविधान जारी भएसँगै तीनवटै तहका निर्वाचन पनि भए। जिल्लामा वैधानिक र चोरबाटोबाट पनि वार्षिक करोडौ बजेट आयो। तर आज पनि रोल्पालीको जिबन स्तर झन झनै खस्किदै गइरहेको छ। विकास भनेको सडक हो भन्ने मान्यता बोकेका राजनैतिक नेतृत्व अनि कार्यकर्ता भरण पोषणका लागि गठन हुने उपभोक्ता समिति र त्यहाँ भित्र हुने अनियमितताले जिल्ला मानवीय विकासमा पछि परेको जानकारहरू बताउछन्।

नागरिक दैनिकमा खबर छ ।

Comments: