२०७६ मंसिर २७ गते

शिक्षकले खिसी गरेपछि बालिकाले गरिन् आत्महत्या

भारत ।  भारतको दक्षिणी राज्य तमिलनाडुकी १२ वर्षीया बालिकाले मासिक धर्मका वेला शिक्षकले लज्जित बनाएपछि आत्महत्या गरेकी छिन् । विद्यालयमा अत्यधिक रक्तश्रावका कारण शिक्षकले खिसी गरेपछि उनले आत्महत्या गरेकी हुन् । शिक्षकले आफूलाई यातना दिएको उनको सुसाइड नोटमा उल्लेख छ ।

 

नोटमा बालिकाले मासिक धर्मका कारण लज्जाबोध महसुस गरेको उल्लेख नगरे पनि शिक्षकले कक्षाकोठाबाट बाहिर निस्कन दबाब दिएको उनकी आमाले आरोप लगाएकी छिन् ।

‘मलाई थाहा छैन, किन शिक्षकले मबारे बारम्बार गुनासो गर्छन् । उनीहरूले मलाई यातना दिनुको कारण बुझेकी छैन,’ बालिकाले आफ्नो सुसाइड नोटमा उल्लेख गरेकी छिन् । ‘आमा मलाई माफ गर्नुहोला’ नोटमा उनले उल्लेख गरेकी छिन् ।

गृहकार्य नगरेको आरोपमा विगतमा शिक्षकहरूले आफ्नी छोरीलाई कुटपिट गरेको किशोरीकी आमाले आरोप लगाएकी छिन् । ‘गत शनिबार विद्यालयमा नै मेरी छोरीको पिरियड भएको थियो,’ बालिकाकी आमाले भनिन्, ‘आफ्नो अवस्थाबारे जानकारी गराउँदा शिक्षकले डस्टरको कपडा दिएका थिए ।’पिरियडको समयमा शिक्षकले छोरीलाई बाहिर पठाएर उभिन लगाएको बालिकाकी आमाले आरोप लगाएकी छिन् ।

मासिक धर्मलाई भारतमा एउटा सामाजिक कलंकको रूपमा लिइन्छ । पिरियडका वेला परम्परागत रूपमा महिलालाई अपवित्र बताइन्छ । बालिकाको आत्महत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।नयाँपत्रिकामा खबर छ ।

Comments: