२०७६ असोज ३ गते

बैसाखीको भरमा विद्यालय

धनकुटा । १३ वर्षीय रुविन आले मगर देब्रे खुट्टालाई झुन्डयाएर बैसाखीको भरमा दिनहुँ एक घण्टा टाढाको विद्यालय आउजाउ गर्दै आएका छन् ।

सामान्य गोरेटो बाटोमा उकाली ओराली गर्दै बैसाखी टेकेर विद्यालय पुग्दा उनी पढाइमा ध्यान जानुभन्दा थकानले शिथिल हुने बताउँछन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका ७ का १३ वर्षीय रुविन आले मगर बैसाखी टेकेर विद्यालय जाँदै ।


महालक्ष्मी नगरपालिका ७ लुङ्गेलीका रुविन ढोडेस्थित सरस्वती प्राथमिक विद्यालयमा ३ कक्षामा अध्ययनरत छन् । गत वर्ष भाँचिएको खुट्टा आर्थिक अभावले समयमै उपचार गराउन नसक्दा अवस्था दयनीय बनेको हो । गाउँघरकै जडिबुटीको भर पर्दा मुस्किलले हिँड्डुल गर्दै रहेको बेला फेरि लडेपछि एउटै खुट्टा दुईपटक भाँचिएको काका चुमबहादुरले बताए । दोस्रोपटक भाँचिएको खुट्टा पनि छिमेकी आफन्तको सहयोगमा ९ महिनापछि अस्पताल पुर्‍याउन्जेल उपचारमा ढिलाइ भइसकेकाले निको हुने छाँट देखिन्न । भाँचिएर चारैतिरबाट नट बल्टुले जेलिएको खुट्टा लिएर उनी हिँडडुल गर्न बाध्य छन् ।


बाबु टीकाराम द्वन्द्वरत अवस्थामा विद्रोही पक्षको यातनाबाट मानसिक सन्तुलन गुमाएपछि रुविनको परिवारको अवस्था कमजोर बन्दै गएको चुमबहादुरले बताए । ७ जनाको जहान पालनपोषण गर्ने घरमुलीको अवस्था यस्तो भएपछि चरम आर्थिक अभाव भोग्नु परेको रुविन बताउँछन् ।


‘लेखपढ गर्न साह्रै मन छ,’ उनले भने, ‘बैसाखीको भरमा स्कुल जाँदा र फर्कँदै हैरान ।’ ५ छोराछोरी र दुई बाबुआमाको अवस्था निकै दयनीय रहेको चुमबहादुरले बताए । उनीहरूको अवस्था नजिकबाट नियाल्ने जोकोहीलाई पीडा महसुस हुने उनको भनाइ छ । द्वन्द्वपीडित कोटामा ढिलो गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरे पनि एक वर्षसम्म खुट्टाको नट बल्टुसमेत निकालिएको छैन ।


छिमेक तथा आफन्तको सहयोगमा ढिलोगरी अस्पताल पुर्‍याइएपछि भाँचिएको घुडामाथिको भागमा अझै रडले जेलिएर राखिएको छ । हड्डी र मासुको भाग छेडेर जेलिएको अवस्थामा नै उनी बैसाखी टेकेर हिँड्डुल गर्छन् । तर खुट्टाको अवस्था नियाल्दा भविष्यमा सहज हिँडडुल होला नहोला भन्ने चिन्तामा उनका आफन्त छन् । परिवारको हातमुख जोड्न दैनिक बनिबुतो गर्न आमा सुनमाया खटिने गर्छिन् । तर त्यतिका भरमा परिवारको गर्जो टर्न नसक्ने उनी बताउँछिन् । ‘छोराछोरी पाल्न नै गाह्रो छ,’ उनले भनिन्, ‘खै कसरी पढाउनु, कसरी खुवाउनु ?’

कान्तिपुर दैनिकमा रमेशचन्द्र अधिकारीले लेखेका छन् ।

Comments: