२०७६ मंसिर ६ गते

बाग्लुङमा ५०० शिक्षक अपुग

बागलुङ । सबै सामुदायिक विद्यालयका कक्षा नियमित सञ्चालन हुनका लागि यहाँ पाँच सयजनाको संख्यामा शिक्षक अभाव भएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयहरूमा न्यूनतम ३ जना, कक्षा ६ देखि ८ कक्षा चल्नेमा ४ र ८ देखि १० कक्षा पढाइ हुनेमा कम्तीमा ५ जनाका दरले शिक्षक दरबन्दी पुर्‍याउन उक्त संख्या कम भएको हो ।

जिल्ला शिक्षाको अधिकार स्थानीय तहमा पुर्‍याउनका लागि गरिएको गृहकार्यको क्रममा यो तथ्यांक सार्वजनिक भएको हो । दरबन्दी अभावमा गुणस्तर वृद्धिभन्दा कामचलाउरूपमा पढाइ सञ्चालन भइरहेको सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए । ‘धेरैजसो विद्यालयले निजी स्रोतका शिक्षक राखेर पढाएका छन्, दरबन्दी दिन सकिएको छैन,’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पहिले सबै शिक्षक दरबन्दी पूरा गर्न सक्नुपर्छ ।’ अभिभावकको चन्दाको भरमा चलेका विद्यालयलाई तोकिएका सबै जिम्मेवारी पूरा गर्न दबाब दिन नसकिएको उनले बताए ।


दरबन्दी अभाव हुनेमा बढी निसीखोला र तमानखोला लगायतका ग्रामीण गाउँपालिका र सदरमुकाम रहेको बागलुङ नगरपालिका समेत छ । प्राथमिक तहमा ४५ जना विद्यार्थी बराबर एकजना शिक्षक दिने व्यवस्थाअनुसार १ सय २६ शिक्षक बढी छन् । आधारभूत र मावि तहमा भने ६ सयजना हाराहारी संख्याका शिक्षकको अभाव भएको हो । भौगोलिक कठिनाइ, बसाइँसराइ र वैदेशिक रोजगारीले शिक्षक अनुपातमा असर पर्दै गएको भेटिएको हो । भौगोलिक कठिनाइले २० जनाभन्दा धेरै विद्यार्थी भएका स्थानमा विद्यालय र दरबन्दी दिन बाध्य भएको उनले बताए । निमावि र मावि तहमा भने आवश्यक संख्यामा शिक्षक पाउनै नसकिने तथा स्वीकृत दरबन्दी नहुनुले पढाइको गुणस्तरमा असर परेको छ । सरकारी मापदण्डमा माविमा ३० जना विद्यार्थीका लागि एक शिक्षक राख्ने भनिए पनि विषयगत शिक्षकको अभाव छ । ‘जिल्लामा अधिकांश विद्यालयमा गणित, विज्ञान र अंग्रेजीका शिक्षकको समस्या छ,’ शाखा अधिकृत सरितादेवी शर्माले भनिन्, ‘संख्या बढाउने सँगै विषयगत शिक्षक उत्पादनमा बढी जोड दिनुपर्ने आवश्यकता छ ।’ तीमध्ये विज्ञान र गणितका शिक्षक धेरै अभाव भएको उनले बताइन् ।


ग्रामीण तहका अधिकांश विद्यालयमा विज्ञान र गणित शिक्षक नहुँदा परीक्षाफलमा सफलताको नतिजा घट्दो दरमा छ । दुर्गमका निसी, बोबाङ र बोहोरागाउँ जस्ता बस्तीमा अहिले पनि एक शिक्षकले ८० जनासम्म विद्यार्थी अनुपातमा पढाइरहेका छन् । मावि तहको दरबन्दी अभावमा प्राथमिक तहका शिक्षकले उपल्लो कक्षाको विज्ञान, गणित र अंग्रेजी पढाएको भेटिएको हो । सदरमुकाम र सहरोन्मुख क्षेत्रका विद्यालयमा शिक्षक अनुपातभन्दा धेरै विद्यार्थी छन् । सामुदायिकतर्फ ८७ हजार २ सय ४९ विद्यार्थीमा २ हजार ५ सय ६६ शिक्षक कार्यरत छन् । जुन ३५ विद्यार्थी बराबर एक शिक्षक अनुपात पर्छ । बालविकास केन्द्रमा भने ९ हजार ९ सय ९१ विद्यार्थीका लागि ३ सय ७३ सहजकर्ता छन् । ११ र १२ पढाइने विद्यालयतर्फ ६ हजार ६ सय ५५ विद्यार्थीका लागि जम्मा ६१ जना मात्र शिक्षक छन् । जुन १ सय १० विद्यार्थी बराबर एक शिक्षक पर्छन् ।

प्रकाश बरालले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: