२०७६ कार्त्तिक २६ गते

विद्यालय जाँदैनन् बादी बालबालिका

रुकुम (पश्चिम) । आठबीसकोट नगरपालिका–९, राडी बजारको छेउ तथा ठूलीभेरी नदी किनारमै छ बादी बस्ती । बस्तीकी १३ वर्षीया सुशीला बादीले हालसम्म कुनै विद्यालयको प्राङ्गण टेक्ने अवसर पाएकी छैनन् ।

आफ्नै उमेरका साथी ६, ७ कक्षामा पढ्दै गर्दा उनलाई पनि पढ्नुपर्छ भन्ने नलागेको होइन तर उनले चाहेर पनि पढ्न पाएकी छैनन् । उनी मात्रै होइन, उनका अन्य तीन बहिनी पनि विद्यालय जानबाट वञ्चित छ्न । १० वर्षकी सरिता, ७ वर्षकी सपना र ४ वर्षकी सम्झना पनि विद्यालय जाँदैनन् । यसरी एकै घरका चार बहिनी विद्यालय टाढा भएर, पढ्ने इच्छा नै नभएर अथवा अन्य कुनै कारण विद्यालय नगएका भने होइनन् । पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण उनीहरू पढ्नेलेख्ने मौलिक हकबाट वञ्चित छन् ।

बाबुको मृत्यु भइसकेको घरमा आम्दानीको स्रोत केही नभएकाले विद्यालय जान सक्ने अवस्था उनीहरूको छैन । यसअघि सोही नगरपालिका–६, को गोतामकोट बस्दै आएका उनीहरू राडीमा अर्कैको घरमा बसिरहेका छन् । कपी, कलम र विद्यालय पोसाक किन्न सक्ने अवस्था नरहेपछि आफूहरू विद्यालय जान नपाएको सुशीलाले बताइन् । उनीहरूकी आमा मनकुमारीले बिहान– बेलुकाको छाक टार्न धौधौ भइरहेका बेला छोरीहरूलाई पढाउन नसकिएको बताइन् । श्रीमान् हुँदा पनि छोरीलाई विद्यालय पठाउन नसकिएको भन्दै उनले श्रीमान्को मृत्युभएपछि झन् बिहानबेलुकाकै छाक टार्न ठूलो समस्या भइरहेको उनको भनाइ छ । ‘बिहान के खाउँm, बेलुकी के खाउँm छ, अर्कैको घरमा बसेका छौं, आउने ठाउँ नै नभएपछि पेट भर्ने कि छोरीलाई विद्यालय पठाउने समस्या छ,’ उनले गुनासो गरिन्।

आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका उक्त बस्तीका यी चार दिदी–बहिनी मात्रै भने छैनन् । बस्तीका अन्य बालबालिका पनि विद्यालय पोसाक, कपी, कलम लगायतका कुरा जुटाउन नसक्दा विद्यालय जान पाइरहेका छैनन् । वादीहरूको परम्परागत पेसा मादल, ककड खाने सुल्पा बनाएर बेच्नु तथा माछा मारेर बिक्री गरी जीविकोपार्जन गर्नु हो । तर पछिल्लो समय परम्परागत पेसा संकटमा परेका आफूहरू समेत संकटमा परिरहेको तारा वादीले बताइन् । ‘हामीले बनाएका मादल बिक्री हुँदैनन्, बजारकै मादल खोज्ने बेला आइसक्यो,’ उनले भनिन् ‘माछा पनि हामीले मात्रै होइन, सबैले मार्न थालेपछि आम्दानी हुने ठाउँ छैन ।’

आम्दानी गर्ने ठाउँ नै नभएपछि पढाइभन्दा पेट भर्नु पहिलो प्राथमिकता भएको उनको भनाइ छ । कहिलेकाहीं भएको आम्दानी घरखर्चमै नपुग्ने भएपछि बालबालिकालाई विद्यालयसम्म पठाउन नसकिएको टीका बादीले बतााइन् । उनकी छोरी पनि ७ वर्ष पूरा भइसकिन् तर हालसम्म विद्यालय भर्ना भएकी छैनन् । आर्थिक अभावकै कारण छोरीलाई विद्यालय पठाउन नसकिएको टीकाले बताइन् । ‘आफैं र परिवार कसरी पाल्ने भन्ने चिन्ताको विषय छ,’ उनले भनिन्, ‘पेट पाल्नै धौधौ भइरहेका बेला पढाइ ठूलो नहुने रहेछ ।’ टीकाले प्लस टु पास गरेकी छन् । आफूले पढ्दासम्म मादल बिक्री हुने तथा माछा पनि प्रशस्त लाग्ने भएकाले बाबुआमाले पढाउन सकेको उनको भनाइ छ । प्लस टुसम्म पढे पनि आफूले केही गर्न नसकेकोप्रति पछुतो लागेको उनले बताइन् । ‘वादीकी छोरी भनेर हो कि, जागिर कतै पाइँदैन,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा छोरीलाई पनि विद्यालय हाल्न सकेको छैन ।’

विद्यालय नजाने भएपछि उक्त समुदायका बालबालिका नराम्रो काममा लाग्ने गरेका छन् । विद्यालय नगएका बालबालिका चोर्न जाने, ढाँँट्ने तथा नराम्रो कुलतमा फस्ने सम्भावना धेरै भएको कलिभान बादीले बताए । दिनभर काम केही नभएपछि उटपट्याङ गर्दा गर्दा गलत काममा उनीहरू लाग्ने सक्ने सम्भावना धेरै भएको उनको भनाइ छ । परम्परागत पेसाभन्दा अर्को पेसा गर्न सकेका अरूले भने छोराछोरीलाई विद्यालय पठाउने गरेका छन् । मादल, सुल्पा बनाउने तथा माछा मार्ने काम नभई अन्य काम सिकेकाहरूले अरूको तुलनामा राम्रो गरिरहेका छन् । ‘परम्परागत पेसा छाड्न नसकेका तथा अर्को पेसा गर्न नसक्नेहरू सबैका छोराछोरी विद्यालय जान पाएका छैनन्,’ कलिभानले भने । घरजग्गाविहीन उनीहरूलाई केही समय अघि तत्कालीन सभासद दलजित श्रीपालीले जग्गा किनिदिएका थिए । उक्त जग्गामा भवन डिभिजन कार्यालयले घर बनाइदिएको छ । १५ वटा घर बनाउनुपर्नेमा हाल सम्म १० वटा मात्रै घर निर्माण भएका छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: