• अस्थायी शिक्षकलाई फेल भएकाले नहटाइएको विद्यालयको दाबी, अदालतको आदेश बदलियो
    (ईपाटी संवाददाता)

  • काठमाडौं । विद्यालयले परीक्षामा असफल भएका कारण अस्थायी शिक्षकलाई विस्थापित नगरेको स्पष्ट पारेपछि उच्च अदालतको यस अघिको अल्पकालीन अन्तरिम आदेश बदलिएको छ ।


    यसअघि परीक्षामा असफल भएकै कारण विस्थापित भएको भन्दै मुद्दा परेपछि अदालतले विस्थापित नगरी यथावत काममा नै लगाउन आदेश दिएको थियो ।


    महेन्द्र राष्ट्रिय मावि बालुवाटारमा कार्यरत प्रावि  शिक्षक रामेश्वरी भेटवाललाई परीक्षामा अनुत्तीर्ण भएसँगै विद्यालयले सेवाबाट विस्थापित गर्ने निर्णय गरेको थियो । सो विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले माघ ४ गते तत्कालका लागि अस्थायी शिक्षकलाई सेवाबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो


    अदालतले निवेदिकाले अन्तरिम आदेश जारी हुन समेत माग गरेको देखिएकाले सो सम्बन्धमा दूबै पक्षलाई राखि छलफल गर्न उपयुक्त देँखिदा अन्तरिम आदेशको छलफलको लागि मिति २०७५ माघ ९ को पेशी तोकी सो मितिमा छलफलमा उपस्थित हुन र अन्तरिम आदेश छलफल नभएसम्म निवेदिका लाई पूर्ववत् रुपमा कामकाज गर्नबाट नरोक्नुभनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।


    बुधवार अदालतमा दुवैपक्षसँग छलफल भएको थियो । छलफलमा विद्यालयले निज शिक्षकलाई परीक्षामा असफल हुनुभन्दा अघि नै व्यक्तिगत आचरणका कारण अस्थायी शिक्षकको म्याद नथप्ने निर्णय गरेको प्रमाण पेश गरेको थियो ।


    सोही आधारमा अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको हो ।


    विद्यालयका सहायक प्रधानाध्यापक भिमप्रसाद पोखरेलले शिक्षक भेटवालले मर्यादा बिपरित का कार्यहरु गर्ने, सबै आधिकारिक पक्षसँग गालिगलौच र झगडा गर्ने, बालबालिकाहरुलाई त्रसित गराउने कार्य गरेकाले परीक्षामा फेल भएकाले हटाएको नभइ उहाँको यहि पौष मसान्त बाट अस्थायी म्याद सकिएकोले म्याद मात्रै  नथपिएको जानकारी दिए ।


    'व्यक्तिगत आचरणका आधारमा म्याद मात्रै नथपिएको हो'– पोखरेलले भने,   'फेल हुनु अगाडि नै कार्बाही गरिएको हो फेल हुनु भएकोले गरिएको होइन ।'



    यो पनि हेर्नुहोस्

    परीक्षामा असफल अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतको आदेश