२०७६ कार्त्तिक ३ गते

अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा

अन्तैबाट

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुलले अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ। आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा स्कुलले उक्त घोषणा गरेको हो। साथै जेहेन्दार थप २५ विद्यार्थीलाई पनि निःशुल्क पठनपाठन गराउने घोषणा स्कुलले गरेको छ ।

‘अनाथ तथा भूकम्पपीडित बालबालिका पनि शिक्षा आर्जनको अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अनाथ र जेहेन्दार गरी ५० विद्यार्थीलाई निःशुल्क पढाउने योजना अघि सारेको हौं,’ प्रिन्सिपल सन्तोष सुब्बाले भने, ‘अभिभावकले स्कुललाई गरेको विश्वासले हामी खुसी छौं।’ सुविधासम्पन्न छात्रबास निर्माणले तीव्रता लिइरहेको जानकारी पनि उनले दिए। २०५० सालमा कक्षा ३ बाट पढाइ सुरु गरेको उक्त बोर्डिङ स्कुलले अहिले कक्षा १२ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। उक्त विद्यालयबाट २०६६ सालको एसएलसीमा योगेश निरौलाले तथा २०६८ मा अनुपमा घिमिरेले जिल्ला टप गरेका थिए। ग्रेडिङ प्रणाली सुरु भएपछि २०७२ सालमा ल्हाक्पातेन्जी तामाङले पनि जिल्ला टप गरेका छन्।

देशी÷विदेशी शिक्षकले पढाउने ह्वाइट हिल्समा अहिले ५४० विद्यार्थी छन्। तीमध्ये २२ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ। विभिन्न मूलुकका सहयोगी संस्था र व्यक्तिसँग हातेमालो गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्कुलले छात्रवृत्ति उपलब्ध गराउने गरेको प्रिन्सिपल सुब्बाले जानकारी दिए। उनले भने, ‘हाम्रो स्कुलमा पढेका विद्यार्थी डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी बनेका छन्। दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य पूरा भइरहेको छ।’ हाल सदरमुकाम सल्लेरीबाट करिब तीन सय मिटरमाथि निर्माण गरिएको प्रिफाइभ भवनमा उक्त स्कुल सञ्चालित छ।

निजी क्षेत्रबाट सञ्चालित जिल्लाकै पहिलो उक्त बोर्डिङ स्कुलले श्रव्यदृश्य विधिबाट शिक्षण गर्ने तयारी थालेको छ। शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय बनाउन श्रव्यदृश्य माध्यम अपनाउन लागिएको स्कुलले जनाएको छ। अविभावक गुमाएका तथा भूकम्पपीडित परिवारका बालबालिका विद्यालयको सम्र्पकमा आए उनीहरूको रेकर्ड राखेर निःशुल्क शिक्षाका लागि प्रक्रिया अघि बढाइने व्यवस्थापन समितिका अध्यक्ष कर्मा शेर्पाले बताए। उनले भने, ‘बाबाआमा नभएका बालबालिकालाई शिक्षादीक्षा हामी दिन्छौं। त्यसका लागि आफन्त या पालनपोषण गर्दै आएका परिवारले विद्यालयको सम्पर्क ल्याइदिएर सहयोग गरिदिनुहुनेछ भन्ने आशा गरेका छौं।’ आगामी शैक्षिक सत्रदेखि नै अनाथ तथा भूकम्पपीडित बालबालिकालाई निःशुल्क पढाउन सुरु गरिने शेर्पाको भनाइ छ। जेहेन्दार विद्यार्थीको हकमा भने कक्षा ५ पास गरेका मध्येबाट प्रतिस्प्रर्धाका आधारमा २५ विद्यार्थी छनौट गरिने स्कुलले जनाएको छ। उनीहरूलाई पठनपाठनका साथै खान, बस्न र औषधि उपचारसमेतको निःशुल्क व्यवस्था गरिने बताइएको छ।

 शिखरजंग श्रेष्ठले नागरिकमा खबर लेखेका छन् ।

Comments: