२०७६ फागुन १० गते

अस्थायी शिक्षकले रोजाई फारम भराउनै नदिने


काठमाडौं । अस्थायी शिक्षकहरुले सुविधा लिने कि परीक्षा दिने भनेर शिक्षा विभागले भराउन लागेको फारम भराउन नदिने भएका छन् । उनीहरुले जिल्ला जिल्लाबाट फारम भराउने प्रकृया अवरोध गर्ने भएका हुन् ।


ऐनमा शिक्षक सेवा आयोगले मात्रै फारम भराउन पाउने व्यवस्था भएकोमा विभागले भराउन लागेको भन्दै अस्थायी शिक्षकहरुले त्यसको विरोध गरेका हुन् । विभागले यस्तो व्यहोराको विवरण फारम अस्थायी शिक्षकहरुलाई यसअघि नै भराएकोले अबपनि पटक पटक भराइने विवरण फारम नभरी एकैपटक शिक्षक आयोगले खोल्ने आन्तरिक विज्ञापनको फारम मात्रै भर्ने उनीहरुले स्पष्ट पारेका छन् ।


विभागले शिक्षा ऐन कार्यान्वयन गर्न भन्दै भाद्र २९ गते निर्णय गरी असोज १० गतेभित्र अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा मध्ये एक रोजाउने गरी रोजाई फारम भराइसक्न मातहतका निकायलाई निर्देशन दिएको थियो । विभागले अस्थायी शिक्षकहरुलाई पनि असोज १० भित्र परीक्षा दिएर स्थायी हुने कि सुविधा लिएर बिदा हुने हो टुंगो लगाउन निर्देशन दिएको थियो ।


यस सम्बन्धमा अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिले भने २०७३ जेठ २९ गते देखि नै परीक्षापछिको सुविधा (औषधी उपचार र उपादान) र स्थायी हुने शिक्षकको शत प्रतिशत सेवा अवधि साथै २०६३ बैशाख १० सम्मको सम्पूर्ण दरबन्दीमा आन्तरिक विज्ञापन गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले संशोधित ऐनमा अस्थायी शिक्षकको सम्बन्धमा भएका केहि व्यवस्था परिवर्तन गर्न माग गर्दै आन्दोलन गर्दै आएका भएपनि सरकारले उनीहरुसँग वार्ता छलफल नगरी एकतर्फी रुपमा प्रकृया अगाडी बढाइरहेको अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले आरोप लगाए ।
अस्थायी शिक्षकहरुले ऐन संशोधन भएदेखि नै त्यसको विरोधमा विभिन्न धर्ना, ¥याली, जुलुस लगायतका आन्दोलन गर्दैै आएका छन् ।

उनीहरुले यस अघि जिशिकाहरुमा कामरोक धर्ना देखि प्रधानमन्त्री कार्यालय र प्रमुख दलका प्रधान कार्यालयहरुमा धर्ना र ज्ञापनपत्र बुझाइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य दलका प्रमुख नेताहरुले अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको भएपनि विभागले एकतर्फी रुपमा प्रकृया अगाडी बढाएकोमा अस्थायी शिक्षकहरु आक्रोशित भएका हुन ।


आन्दोलन समितिका अध्यक्ष कुँवरले प्रधानमन्त्री तथा अन्य दलका नेताहरु समेत माग बारे सकारात्मक भइरहेको अवस्थामा विभागले एकलौटी प्रकृया अगाडी बढाएर अस्थायी शिक्षकहरुलाई उत्तेजीत बनाएको आरोप लगाए ।

 

Comments: