२०७६ भदौ २ गते

प्रधानमन्त्रीलाई आफ्ना माग सुनाउन बालुवाटार पुगेका अस्थायी शिक्षकहरु पक्राउ

ईपाटी संवाददाता


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि धर्ना दिन पुगेका अस्थायी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । धर्ना दिन ११ बजे बालुवाटार पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरी ट्रकमा कोचेर विभिन्न प्रहरी चौकीमा लगेको छ ।


पक्राउ परेकाहरु मध्ये १५ जनालाई कमलपोखरी चौकीमा, ९ जनालाई दरबारमार्ग चौकीमा र २४ जना महिला शिक्षकहरुलाई कालिमाटीमा राखिएको अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले जनाएको छ ।


संघर्ष समितिका सचिव राजन त्रिपाठीका अनुसार कमलपोखरी चौकीमा समितिका अध्यक्ष हेमनाथ चौलागाई, वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेत लगायत १५ जनालाई, दरबारमार्ग चौकीमा उपाध्यक्ष ललन झालगायत ९ जनालाई र महिला शिक्षकहरु २४ जनालाई कालिमाटी गरी ४८ शिक्षकलाई पक्राउ गरिएको छ ।


परीक्षामा असफलभएकाहरुलाई तत्काल विस्थापित नगर्न, पुन आन्तरिक विज्ञापन गरी स्थायी गर्न, ६० वर्षसम्म निरन्तर पढाउन दिन र सुविधा रोजेकालाई सुविधा हातमा परेपछि मात्रै विस्थापित गर्न माग गर्दै संघर्ष समिति चैत्र १७ गतेदेखि आन्दोलनमा रहेका छन् ।


सचिव त्रिपाठीका अनुसार संघर्ष समितिको चैत्र १७ गतेको निर्णय अनुसार चैत्र १७, १८ र १९ गते भद्रकालीमा धर्ना, २० र २१ ग्ते संसद भवन बानेश्वरमा धर्ना बसेका थिए । त्यसबेला प्रहरीसँगको झडमा २ महिला शिक्षकहरु गम्भीर घाइतेसमेत भएका थिए ।


आन्दोलनकै कार्यक्रम अनुसार चैत्र २२ गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न पुगेका बेला प्रहरीले प्रक्राउ गरेको थियो ।


५÷६ सय संख्यामा धर्ना दिन पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले धर्ना नबस्न आग्रह गरेको भएपनि आफ्नो माग माइकबाट प्रधानमनत्रीलाई सुनाएरै छाड्ने अस्थायी शिक्षकहरुले ढिपी लिएपछि आफूहरुलाई बल प्रयोग गरेर प्रहरीले धमाधम पक्राउ गरेको संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाइले जानकारी दिए ।


हिरासतबाटै एजुकेशनपाटीसँग टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष चौलागाइले आन्तरिक विज्ञापन गर्दा तिन महिनाको परीक्षा तयारी समय दिनुपर्नेमा २२ दिनमात्रै दिएको साथै आन्तरिक विज्ञापनमा खुलाको प्रश्न सोधेर नियोजित रुपमा फेल गराइएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।


शिक्षक आयोगका अध्यक्ष ताना गौतमले आफुहरुसँग भदौ अन्तिममा परीक्षा गर्ने भनेपनि सुटुक्क असारमै लिइएको, विज्ञापनलाई विभिन्न वर्गमा बाँडेर विभेद गरेकोलेले अस्थायी शिक्षकहरु स्थायी नहुँदासम्म निरन्तर आन्तरिक विज्ञापन गर्न चौलागाईले सरकारसँग माग गरे ।


माग पुरा नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ थियो । हाल १२ हजार ७३९ अस्थायी शिक्षक रहेका उनको भनाइ थियो ।


महासंघ सरकारको प्रवक्ता
शिक्षक महासंघ शिक्षकहरुको मातृसंगठनभएपनि यत्रो ठूलो संख्यामा शिक्षकहरु पक्राउ पर्दा समेत उदाशिन बनेको साथै, अस्थायी शिक्षकको विरुद्धमा सरकारकै प्रवक्ता बनेर अगाडि आएको भन्दै अध्यक्ष चौलागाइले सरकारको आलोचना समेत गरे ।


स्थायी नभएसम्म निरन्तर आन्तरिक विज्ञापन
अध्यक्ष चौलागाइले अस्थायी शिक्षकहरुको सम्मान र सेवाको मूल्यांकन गर्दै स्थायी नभएसम्म निरन्तर आन्तरिक विज्ञापन गर्न समेत माग गरे । आन्तरिक विज्ञापन नाममात्रैको भयो, खुलाकै प्रश्न सोधियो– चौलागाइले टेलिफानमा भने– फेल गराउनका लागि लिइने परीक्षा हामीलाई मान्य छैन ।

६० वर्षसम्म काम गर्न देउ
ऋस्थायी शिक्षकहरुमध्ये धेरैको माग ६० वर्षसम्म निरन्तर सेवागर्न पाउनुपर्ने रहेकाले तत्काल विस्थापित नगरी ६० वर्षसम्म निरन्तर सेवागर्न दिएर अस्थायी शिक्षकहरुको सेवाको कदर गर्न चौलागाइले सरकारसँग माग गरे ।  


विस्थापित नगर
अस्थायी शिक्षकहरुलाई परीक्षामा फेल भएपनि विस्थापित नगर्न चौलागाईले सरकारसँग माग गरे । परीक्षा नै अवैज्ञानिक तरिकाले सञ्चालन भएकाले अस्थायी शिक्षकहरु फेल भएका भन्दै उनीहरुलाई विस्थापित नगरी उल्टै आन्तरिक विज्ञापनबाट स्थायी गर्न उनको माग थियो । हाल रहेका १ लाख ७ हजार शिक्षक दरबन्दी मध्ये ७ हजार अस्थायी शिक्षकलाई पढाउन दिँदैमा गुणस्तरमा खासै असर नगर्ने चौलागाइको जिकिर थियो ।


करार नियुक्ति अमान्य
अध्यक्ष चौलागाइले अस्थायी शिक्षकहरुलाई तीनमहिने करार नियुक्ति आफुहरुलाई अमान्य रहेको स्पष्ट पारे । हामीलाई अस्थायी नियुक्त मै राखियोस् करार नियुक्तिको नाटक नगरियोस् – चौलागाइले भने ।

Comments: