२०७६ असोज २ गते

अस्थायी शिक्षककोे मुद्दा अब सरकार र संसदमा


काठमाडौं । अस्थायी शिक्षकको अधिकारको मुद्दा संसद र सरकार सम्म पु¥याउने सांसदहरुले प्रतिवद्धता जाहेर गरेका छन् । अस्थायी शिक्षकहरु आमरण अनशन बसेका स्थान भद्रकाली पुगेर बारा, पर्सा, धनुषालगायतका जिल्लाका दलका नेता तथा सांसदहरुले अस्थायी शिक्षकको माग प्रति एक्यवद्धता जनाएका हुन् ।


बारा क्षेत्र नं १ का सांसद राम अयोध्या प्रसाद यादवले अस्थायी शिक्षकहरु माथि राज्यले गरेको अन्यायको विरुद्धमा आफु अस्थायी शिक्षकहरुसँगै रहेर संघर्ष गर्ने बताए । अस्थायी शिक्षकहरुमाथि अन्याय हुने गरी खुलाएको शिक्षक विज्ञापन खारेज गरी अन्य प्रक्रियाबाट अस्थायी शिक्षक समस्या समाधान गर्न संसदमा कुरा उठाउने उनले पतिवद्धता जनाए ।


जीवनभर अस्थायी रुपमा पढाएका शिक्षकहरुलाई सरकारले अन्तिम समयमा आएर अन्याय गर्न नहुने भन्दै यादवले अस्थायी शिक्षक अनुकुल व्यवस्थापन प्रक्रिया अगाडी बढाउनुपर्ने बताए ।


धनुषा क्षेत्र नं ६ का सांसद प्रेम किशोर साहले अस्थायी शिक्षकलाई अन्याय हुने गरी सरकारले शुरु गरेको कुनैपनि व्यवस्थापनका प्रक्रियाको विरुद्धमा आफु रहने उद्घोष गरे । अन्तिम पटक र सवै अस्थायी शिक्षकहरुलाई भनी आयोग खोलिएपनि विभिन्न बहानामा अस्थायी शिक्षकहरुलाई प्रतिस्पर्धा गर्न नदिएको प्रति आपत्ति जनाउँदै साहले अस्थायी शिक्षकलाई पहिले परीक्षा र त्यसमा असफल हुनेहरुलाई मात्रै सुविधा दिएर विदा गर्नुपर्ने बताए । अब यो मुद्दा सडकमा मात्रै सीमित रहँदैन सदन र सरकार सम्म पुग्छ । उनले भने – अस्थायी शिक्षकहरुलाई अन्याय हुन दिँदैनौं ।


नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अस्थायी शिक्षक माग पुरा गराउने बारे आफुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने बताए । आयोग खारेज गरेर अर्को खोल्ने वा यसै आयोगलाई परिमार्जित गर्दै मिति सारेर भएपनि अस्थायी शिक्षकहरुको माग पुरा गराउने बारे आफु र आफ्नो दल नेपाली कांग्रेस सकारात्मक रहेको बताए ।


सांसद एवं विभिन्न दलका नेताहरुले आइतवार अनशन स्थल पुगेर शिक्षकहरुको अवस्थाको जानकारी लिएका थिए । गत असार २ गतेदेखि विभिन्न चार बुंदे माग राखेर अस्थायी शिक्षकहरुले आमरण अनशन बस्दै आएका छन् । मंगलवार अस्थायी शिक्षकहरुले सडक प्रदर्शन एवं र्याली समेत आयोजना गरेका थिए ।


अस्थायी शिक्षक केनिद्रय आन्दोलन परिचालन समितिका अध्यक्ष विन्दा कुमार दास चौधरीले अस्थायी शिक्षकको माग पुरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

Comments: