२०७६ असोज २ गते

शिक्षा मन्त्रालयको वार्ताको प्रस्ताव अस्थायी शिक्षकहरुद्वारा ठाडै अस्वीकार


काठमाडौँ । आन्दोलनरत् अस्थायी शिक्षकहरुले शिक्षा मन्त्रालयको वार्ताको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन् ।


मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले मंगलबार  बेलुकी अनशनरत स्थल पुगी वार्ताका लागि आह्वान गरेका थिए । तर, अस्थायी शिक्षकहरुले सह–सचिवले अस्थायी शिक्षकको माग पुरा गर्न नसक्ने भन्दै शिक्षा मन्त्री बिन वार्तामा नबस्ने जनाएका छन् ।


अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका अध्यक्ष विन्दा कुमार दास चौधरीले सहसचिव लम्सालका अगाडी माग पूरा गर्ने गरी भरपर्दो वार्ताको सुनिश्चितता नभएसम्म वार्तामा बस्न नसकिने अडान राखेका हुन् ।


आफुहरुको पहिलो माग शिक्षक विज्ञापन तत्काल खारेज हुनुपर्ने रहेकाले शिक्षा मन्त्री, अर्थमन्त्री र कानून मन्त्री बिनाको वार्तामा नबस्ने उनले स्पष्ट पारेका हुन् । अस्थायी शिक्षक नेता मुकेश तिवारीले पहिले पनि वातर्ता भन्दै धेरैपटक आन्दोलन तुहाइएको भन्दै विज्ञापन खारेजीको निर्णय नभएसम्म वार्तामा नबस्ने र आमरण अनशन समेत नतोड्ने जिकिर गरे ।


विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग राख्दै अस्थायी शिक्षकहरु गत असार २ गते देखि आमरण अनशनमा छन् ।


अनशनस्थल पुगेका मन्त्रालयका प्रवक्ता डा. लम्सालले अस्थायी शिक्षकहरुलाई वार्तका लागि अव्हान गरेका थिए । उनले तत्काल आमरण अनशन तोडेर वर्तामा आई वार्ताबाटै समस्यको समाधान खोज्न अस्थायी शिक्षकहरुसँग आग्रह गरेका थिए ।


प्रधानमन्त्री एवं शिक्षामन्त्री अस्थायी शिक्षकको माग प्रति सकारात्मक रहेको भन्दै शिक्षक महासंघको मध्यस्थतामा वर्तामा आउन उनको अग्रह थियो ।
अस्थायी शिक्षकहरुले भने शिक्षक महासंघ आफुहरुको प्रधान शत्रु भएकाले उनीहरु सहभागी वार्तामा नबस्ने अडान राखेका छन् ।

Comments: